• ४ जेठ २०८१, शुक्रबार

इटालीबिना विश्वकप

blog

सोमराज पोखरेल

डेढ दशकअघि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का तत्कालीन अध्यक्ष गणेश थापाले कतारमा हुने विश्वकपमै नेपालले खेल्न पाउने आशा राखेका थिए । विश्वकप सुरु हुन अब एक वर्ष पनि छैन र नेपाल विश्वकपबाट अझै पनि कोसौँ टाढा नै छ ।

विश्वकपको इतिहासमा पहिलो पटक अङ्ग्रेजी वर्षको अन्त्यमा विश्वकप हुँदैछ कतारमा । कतार विश्वकपमा धेरै प्रसङ्गको रेकर्ड बन्ने लगभग निश्चित छ । त्यो रेकर्डबाट नेपाल चुकेको मात्र हो । त्यसो त विश्वकपमा कैयौँ बलिया टिमले समेत पुग्न पाएका हुँदैनन् । अझ चार पटकको विश्वकप विजेता इटाली फेरि पनि चिप्लिएको छ । युरोपियन च्याम्पियन इटालीबिना लगातार दोस्रो पटक विश्वकप आयोजना हुने छ । उत्तरी म्यासेडोनियासँग प्लेअफमा मिलेको पराजयले इटालीलाई छनोट चरणमै सीमित गरिदियो ।

यसअघि रुसमा भएको सन् २०१८ को विश्वकपका लागि पनि इटाली छनोट हुन असफल भएको थियो । युक्रेनमाथि आक्रमण गरेको रुस पनि बाहिरिन बाध्य भएको छ । यसअघि विश्वकप खेलेको नर्वे पनि यस पटक असफल भएको छ । विश्वका चर्चित स्ट्राइकर मोहम्मद सलाह रहेको इजिप्ट समेत सेनेगलसँग पेनाल्टीमा पराजित भएपछि विश्वकपमा खेल्नबाट चुक्यो ।

यसअघि विश्वकप खेलिसकेका नाइजेरिया, अल्जेरिया र आइभरी कोस्ट अफ्रिकी समूहबाट बाहिरिन पुगे । दक्षिणी अमेरिकी समूहबाट कोलम्बिया र चिली पनि छनोट हुन असफल भएका छन् ।

को को छानिए ?

निकै गर्मी हुने कतारमा विश्वकप आयोजना गर्नका लागि निकै सङ्घर्ष गर्नुपरेको छ । सन् २००२ मा जापान र दक्षिण कोरियाको संयुक्त आयोजनामा विश्वकप भएपछि पहिलो पटक एसियाली मुलुक कतारमा विश्वकप हुँदैछ । नोभेम्बर र डिसेम्बरको चिसो मौसममा लुसाल, अल खोर, अल रायन, अल बक्राह र दोहा गरी पाँच सहरका आठ रङ्गशालामा विश्वकप हुनेछ ।

नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म हुने कतार विश्वकपमा ३२ टिमले सहभागिता जनाउँदैछन् । सन् १९९८ मा फ्रान्समा भएको विश्वकपदेखि ३२ टिमले सहभागिता जनाउँदै आएका हुन् । सन् २०२६ को विश्वकपदेखि ४८ टिमले सहभागिता जनाउने विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निर्णय गरिसकेको छ । ३२ टिममा युरोपबाट १३, अफ्रिकाबाट पाँच, एसियाबाट चार (एक प्लेअफ क्वालिफायर पनि), उत्तरी तथा मध्य अमेरिका र क्यारेबियनबाट तीन (एक प्लेअफ क्वालिफायर), ओसियानाबाट एक तथा दक्षिण अमेरिकाबाट चार (एक प्लेअफ क्वालिफायर) रहेका छन् ।

आयोजक कतारले स्वतः विश्वकपको टिकट सुरक्षित गरिसक्दा ३१ टिम छनोट भएर आउनु परेको छ । अहिलेसम्म आयोजकसहित २९ टिम छनोट भइसकेका छन् । तीन टिमको टुङ्गो भने आगामी जुन महिनामा मात्र लाग्ने छ । युरोपमा वेल्स, स्कटल्यान्ड र युक्रेनमध्ये एक टिम छानिने छ । त्यस्तै कोस्टारिका र न्युजिल्यान्डमध्ये एक टिम तथा यूएई, अस्ट्रेलिया र पेरुमध्ये एक टिम छानिने छन् ।

को कुन समूहमा ?

विश्कपका लागि समूह विभाजनसमेत भइसकेको छ । ३२ टिमलाई आठ समूहमा विभाजन गरी ड्र सार्वजनिक गरिएको छ । जसमा चार पटकको विजेता जर्मनी र एक पटकको विजेता स्पेन एकै समूहमा परेका छन् ।

समूह ‘ई’ मा जर्मनी र स्पेनसँगै जापान पनि परेको छ । अर्को एक टिमको छिनोफानो हुन बाँकी छ । उक्त टिम क्रोसिया र न्युजिल्यान्डबीचको प्लेअफको विजेता हुनेछ । उत्तर अमरिकी क्षेत्रको चौथो स्थानमा रहेको कोस्टारिका र ओसियाना क्षेत्रको विजेताको हैसियतमा न्युजिल्यान्डले जुनमा प्लेअफ खेल्नेछन् । सन् २०१४ को विश्वकप विजेता जर्मनीले २०१८ को विश्वकपमा समूह चरणबाटै बाहिरिएकाले यसपालि वरीयता पाएको थिएन ।

यसपालि आयोजकको हैसियतले कतार तथा बाँकी सात टिम फिफाको उच्च वरीयतामा रहेकालाई विभाजन गरेर ड्र निकालियो । जसमा क्रमशः ब्राजिल, बेल्जियम, फ्रान्स, अर्जेन्टिना, इङ्ग्ल्यान्ड, स्पेन र पोर्चुगल छन् तर छैटौँ वरीयताको इटाली भने छनोट नै हुन नसकेपछि स्वतः बाहिरियो ।

पहिलो पटक खाडी मुलुकमा हुँदै गरेको विश्वकपको समूह ‘ए’ मा आयोजक कतारसहित इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स परेका छन् । समूह ‘बी’ मा इङ्ग्ल्यान्डसँगै भू–राजनीतिक प्रतिद्वन्द्वीका रूपमा परिचित अमेरिका र इरानबीच जम्काभेट तय भएको छ । चौथो देशको टुङ्गो लाग्न बाँकी छ । यसरी सन् १९९८ पछि अमेरिका र इरान विश्वकपमा आमने सामने हुने छन् ।

समूह ‘सी’ मा दुई पटकको विजेता अर्जेन्टिनासँगै एसियाली मुलुक साउदी अरब, मेक्सिको र पोल्यान्ड रहेका छन् । सबैभन्दा बढी बालोन डे’ओर विजेता अर्जेन्टिनी कप्तान लियोनल मेसी र फिफाका वर्ष खेलाडी पोल्यान्डका रोबर्ट लेवान्डोस्की एकै समूहमा रहँदा भिडन्त रोचक हुने अपेक्षा गरिएको छ ।

समूह ‘डी’ मा गत विजेता फ्रान्ससँगै डेनमार्क र ट्युनिसिया रहेका छन् । सन् १९९८ को विश्वकप जितेको फ्रान्सले सन् २०१८ मा रुसमा भएको विश्वकपको फाइनलमा क्रोसियालाई पराजित गरेको थियो । यो समूहको चौथो टिमको अझै टुङ्गो लागेको छैन । एसियाली क्षेत्रको विश्वकप छनोटमा आ–आफ्नो समूहमा तेस्रो भएको यूएई र अस्ट्रेलियाबीचको विजेताले दक्षिण अमेरिकी क्षेत्रमा पाँचौँ भएको पेरुसँग खेल्ने छ । विजेता नै विश्वकपमा छानिने छ ।

समूह ‘एफ’ मा बेल्जियम, क्यानडा, मोरक्को र क्रोसिया रहेका छन् । त्यस्तै समूह ‘जी’ मा ब्राजिल, सर्विया, स्विट्जरल्यान्ड र क्यामरुन रहेका छन् ।

अहिलेसम्मको विश्वकप

सन् १९३० देखि सुरु भएको विश्वकप फुटबलको इतिहासमा अहिलेसम्म केवल आठ राष्ट्रले मात्र उपाधि जितेका छन् । जसमा सर्वाधिक सफल ब्राजिलले पाँच पटक उपाधि जितेको छ । जर्मनी र इटालीले समान चार पटक तथा अर्जेन्टिना, फ्रान्स र उरुग्वेले समान दुई पटक उपाधि जितेका छन् । स्पेन र इङ्ग्ल्यान्डलाई एक–एक पटक उपाधि प्राप्त भएको छ ।

जर्मनी सबैभन्दा बढी आठ पटक फाइनलमा पुगेको छ । यसैगरी ब्राजिलले सात, इटालीले छ, अर्जेन्टिनाले पाँच, फ्रान्सले तीन पटक फाइनलमा खेलेका छन् । एक पटक मात्र फाइनलमा पुगेर उपाधि जित्ने टिम इङ्ग्ल्यान्ड र स्पेन हुन् ।