• १२ असार २०८१, बुधबार

साउनदेखि बङ्गलादेशलाई बिजुली बेचिने

blog

काठमाडौँ, जेठ ३१ गते । सरकारले बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यातका लागि अन्तिम चरणको तयारी  गरिरहेको छ । साउनको पहिलो साताभित्र बङ्गलादेश विद्युत् निर्यात गर्ने कार्ययोजना अनुसारका गृहकार्य भइरहेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । 

बङ्गलादेशले पनि सोही अनुसारका तयारीको काम गरिरहेको छ । त्यहाँको मन्त्रीपरिषद् अन्तर्गतको सरकारी खरिदसम्बन्धी मन्त्रीस्तरीय समिति (क्याबिनेट कमिटी अन गभर्नमेन्ट पर्चेज–सिसिजिपी) ले मङ्गलबार नेपालबाट ४० मेगावाट विद्युत् खरिदको प्रस्ताव स्वीकृत गरेको छ । यसलाई त्यहाँको मन्त्रीपरिषद्ले अनुमोदन गर्न भने बाँकी छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीका अनुसार नेपाल बङ्गलादेशबिच विद्युत् व्यापारका सन्दर्भमा हालसम्म भएका सबै समझदारीलाई अन्तिम र एकीकृत रूप दिने गरी असारको दोस्रो साता नेपालमा नेपाल–बङ्गलादेश सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बस्दै छ । 

“उक्त बैठकसम्ममा आफ्ना देशभित्र गर्नुपर्ने प्रक्रिया पूरा गर्ने गरी हामी दुवै देश लागिपरेका छौँ,” उहाँले भन्नुभयो, “दुई देशबिच अन्तिम सम्झौता गर्ने र नेपाल, भारत, बङ्गलादेशका कार्यान्वयनकारी निकायबिच कार्यान्वयन तहको सम्झौतापछि विद्युत् निर्यात हुने छ ।” ढिलोमा साउनको पहिलो सातादेखि विद्युत् निर्यात गर्ने गरी दुवै देशका सम्बन्धित निकायले काम गरिरहेको उहाँको भनाइ छ ।

बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यातका लागि भारत सरकारले सैद्धान्तिक सहमति जनाइसकेकाले नयाँ जटिलता सिर्जना हुने सम्भावना कम छ । यसबाहेक पनि कार्यान्वयनकारी निकायहरूबिच विद्युत् व्यापारको प्रारम्भिक मस्यौदामा पनि सहमति भइसकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अघिल्लो भारत भ्रमणका क्रममा भारतीय संरचना प्रयोग गरी नेपालको ४० मेगावाट विद्युत् बङ्गलादेश पु¥याउन सहमति भएको थियो । 

गत वर्ष जेठ २ गते बङ्गलदेशमा सम्पन्न ऊर्जा सचिवस्तरीय निर्देशक समितिको बैठकले पनि नेपालमा उत्पादित ४० मेगावाटसम्म विद्युत् बङ्गलादेशमा निर्यात गर्नका लागि नेपाल विद्युत् प्राधिकरण, भारतको एनटिपिसी विद्युत् व्यापार निगम र बङ्गलादेशको पावर डेभलपमेन्ट बोर्डबिच विद्युत् बिक्री सम्झौता (पावर सेल्स एग्रिमेन्ट) यथाशीघ्र गर्ने निर्णय गरेको थियो । मङ्गलबार बङ्गलादेशका अर्थमन्त्री अब्दुल हसन मोहम्मद अलीले अध्यक्षता गरेको मन्त्रीपरिषद्को सार्वजनिक खरिद समितिले नेपाल, भारत र बङ्गलादेशबिच त्रिपक्षीय सम्झौताका आधारमा पाँच वर्षका लागि विद्युत् खरिद गर्ने निर्णय गरेको हो ।

नेपाल विद्युत् प्राधिकरणले बङ्गलादेशको पावर डेभलपमेन्ट बोर्डमा विद्युत् बिक्रीका लागि दरसमेत समावेश गरी बोलपत्र पेस गरेको थियो । त्यसै अनुसार नेपालले भारतको मुजफ्फरपुर सबस्टेसनमा पु¥याएको विद्युत् प्रति युनिट ६.४ सेन्टका दरमा प्राधिकरणले बङ्गलादेशबाट रकम प्राप्त गर्ने छ । 

ह्विलिङ चार्ज तथा अन्य खर्च बङ्गलादेशले नै भुक्तानी गर्ने तय भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले ढल्केबार–मुजफ्फरपुर चार सय केभी प्रसारण लाइनमार्फत बङ्गलादेशका लागि ४० मेगावाट विद्युत् पु¥याउने छ । प्राविधिक चुहावटका लागि समेत थप गरेर विद्युत् आपूर्ति हुने छ । एनटिपिसी विद्युत् व्यापार निगमले आफ्नो प्रसारण लाइन तथा सबस्टेसन संरचनामार्फत भेरामारा हुँदै बहरामपुरसम्म आपूर्ति गर्ने तय भएको छ ।