• ४ जेठ २०८१, शुक्रबार

पोषणयुक्त कालो चामल

blog

आरबी बुढाथोकी

अचेल कालो चामलको चर्चा बढी हुने गरेको छ । कालो चामलको परिकार राखेर रेस्टुरेन्ट चलाउनेहरूको होडबाजी नै छ । यो चामल एसियाली उत्पादन हो । रेडियो कार्बन डेटिङबाट प्रमाणित भएअनुसार कालो धान आठ हजार दुई सयदेखि १३ हजार वर्ष पहिले चीनमा खेती गरिन्थ्यो । 

प्रतिदिन १५ ग्रामका दरले अन्य चामलमा मिसाएर कालो चामल खाएमा क्यान्सर, अल्जाइमर्स, मधुमेह र उच्च रक्तचाप  जस्ता समस्यासँग लड्न मद्दत पुग्ने अनुसन्धानबाट थाहा भएको छ । 

नेपाली खाद्य संस्कारमा चामल दैनिक उपभोग्य वस्तुमा पर्दछ । चामल नेपालीको मुख्य खाद्यवस्तु पनि हो । चामलबाट कार्बोहाइड्रेटलगायत शरीरलाई आवश्यक पौष्टिक तìव प्राप्त हुन्छ तर चामल पनि विभिन्न प्रकार र गुणस्तरमा बजारमा उपलब्ध छन् । जसका फाइदा पनि फरक–फरक हुन्छन् । कतिपय चामल भने गुणस्तरहीन पनि हुन्छन् । त्यसैले यसको छनोटमा ध्यान दिनुपर्ने हुन्छ । त्यसैमध्येको एउटा हो कालो चामल ।

कालो चामलका फाइदा

  1. मधुमेहका बिरामीलाई कालो चामल उपयोगी मानिन्छ ।
  2. मुटुरोगीका लागि पनि कालो चामल लाभदायक मानिन्छ ।
  3. यस्तो चामलमा प्रोटिन, आइरन हुने भएकाले अरूको तुलनामा यसले बढी शक्ति प्रदान गर्छ ।
  4. शरीरलाई सन्तुलित राख्न तथा मोटोपनालाई नियन्त्रण गर्न पनि यसको प्रयोग गर्न सकिन्छ ।
  5. क्यान्सरका बिरामीका लागि समेत कालो चामल अत्यन्तै फाइदाजनक मानिन्छ ।
  6. कालो चामलले विभिन्न रोगसँग लड्न सक्ने अतिरिक्त शक्तिसमेत प्रदान गर्छ ।

सामान्यतया आधा कप पाकेको कालो चामलमा १६० क्यालोरी, १५ ग्राम चिल्लो पदार्थ, ३४ ग्राम कार्बोहाइड्रेट, दुई ग्राम फाइबर, पाँच ग्राम प्रोटिन र चार प्रतिशत आइरन हुन्छ । कालो चामललाई प्राकृतिक रूपमा ग्लुटेनमुक्त अन्नका रूपमा लिइन्छ । 

सामान्यतया चामल तयार पार्दा चामललाई पालिस गरी प्रशोधित गरिन्छ । जुन स्वास्थ्यका लागि त्यति धेरै राम्रो मानिँदैन । 


कालो चामलका परिकार

कालो चामल एक पटकमा १८० देखि २०० ग्राम मात्र प्रयोग गर्दा राम्रो हुन्छ । कालो चामलको भातबाहेक अन्य परिकार पनि बनाउन सकिन्छ । यसबाट २० थरीका सलाद नै बनाउन मिल्छ । कालो चामलको खीर तयार पारेर खान सकिन्छ । अन्य चामलको तुलनामा यो चामल पाक्न केही बढी समय लाग्छ । त्यसैले यसलाई पकाउनुभन्दा तीन घण्टा पहिले नै भिजाएर राख्दा राम्रो हुन्छ ।


कहाँ–कहाँ प्रयोग हुन्छ ?

यो चामल युरोपेली देशमा अत्यधिक प्रयोग हुन्छ । नेपालका सुपरमार्केटहरूमा समेत यो चामल उपलब्ध छ । नेपालका होटेल र रेस्टुरेन्टमा पनि यसको प्रयोग बढ्दै गएको छ । कालो चामललाई जापान र कोरियामा सुसी बनाउन तथा इटालीमा रिसोटो बनाउन प्रयोग गरिन्छ ।