• ११ पुस २०८१, बिहिबार

मृत्यु सन्त्रास (कविता)

blog

साँझ पर्छ

रात छिप्पिन्छ

मिर्मिरे हुन्छ

बिहान झुल्किन्छ

मध्याह्न हुन्छ

दिन ढल्किन्छ

सँगसँगै

समयको सिमाविहीन यात्राको

यात्री बन्छ मृत्यु ।

लानेले भन्दैन

जानेलाई थाहा हुँदैन

महिला, पुरुष वा अन्य

बालक, वयस्क वा वृद्ध

मौसम फेरिन्छ

ऋतु बदलिन्छ

समय चलिरहन्छ

मृत्युले जीवनको रङ हेर्दैन ।

मृत्यु

असहज छ

अज्ञात छ

अपराजित छ

मान्छे बन्दी छ मृत्युको कारागारमा

मृत्यु घुमिरहन्छ मान्छेको संसारमा

मृत्युले जीवनको तरङ्ग बुझ्दैन ।

एउटै हाँगामा फुल्दैनन् फूल

एउटै लयमा गाउँदैनन् चरा

एउटै धारमा बग्दैनन् खोला

एउटै छालमा उर्लिंदैनन् नदी

विसङ्गत छ दुनियाँ मृत्यु जस्तै

वसन्त चाहिँदैन जवानी फुल्न

समय चाहिँदैन जीवन ढल्न

अजम्बरी छ मृत्यु ।

मृत्युले नटेकेको माटो छैन

मृत्यु नहिँडेको बाटो हुँदैन

मृत्यु

शाश्वत छ

जीवन्त छ

सदाबहार छ

जन्मले शङ्खघोष गर्छ मृत्युको

सम्झनभन्दा बिर्सन गाह्रो

बाँच्नभन्दा मर्न अप्ठ्यारो

मृत्युको मन हुँदैन

मृत्युलाई पीडाबोधले छुुँदैन ।

जीवन स्थायी भए

मान्छे शक्तिशाली हुने थिएन

जीवनमा मृत्यु नभए

मान्छेको अस्तित्व यस्तो हुने थिएन

तैपनि मान्छे

मृत्यु कल्पेर दुखिरहन्छ मुटुमा

मृत्यु पर्खेर छचल्किरहन्छ आँखामा

मृत्यु, दृष्टिभ्रमबाट विचलित हुँदैन ।

मृत्यु

एक हातले मान्छेको शिर छुन्छ

अर्को हातले युद्धको तीर छोड्छ ।

युद्धको व्यथा गाउँदै

आधा व्रmान्ति बाँच्छ

जीवनको कथा सुनाउँदै

आधा शान्ति बाँच्छ

मृत्यु

अधिनायक छ

कष्टदायक छ

निर्णायक छ

मृत्युलाई यथार्थबोधले छुँदैन

मृत्युबाहेक मृत्युको विकल्प हुँदैन ।