• ७ मंसिर २०८१, शुक्रबार

नेपालको प्रसिद्ध राममन्दिर

blog

मानिसहरू अक्सर राममन्दिर भन्नेबित्तिकै जनकपुरको रामजानकी मन्दिर र भारतको अयोध्यास्थित राममन्दिर बुझ्ने गर्छन् । धेरैलाई थाहा नहोला; नेपालको प्रसिद्ध राममन्दिर काठमाडौँ, बत्तिसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर हो । विश्वका सम्पूर्ण हिन्दु धर्मावलम्बीको परम पावन एवं आस्थाको पवित्र स्थलका रूपमा सनातनकालदेखि प्रसिद्ध रहेको पशुपति क्षेत्रको दक्षिणपश्चिम दिशामा श्रीरामचन्द्र मन्दिर रहेको छ । मन्दिरमा शालिग्रामशिलाबाट निर्मित रामसहित सीता, लक्ष्मण, भरत एवं शत्रुघ्नको पूर्ण कदका मूर्तिहरू रहेका छन् ।

बत्तिसपुतलीको थुम्कामा रहेको यो मन्दिर विष्णुपाञ्चायन पद्धतिमा आधारित रही राजकीय गुम्बज शैलीमा निर्मित छ । यस मन्दिरको निर्माण थालनी विसं १९२८ मा कर्णेल सनकसिंह टण्डनले गर्नुभएको थियो । कर्णेल टण्डन नेपालको पहिलो राणा प्रधानमन्त्री जङ्गबहादुर राणाका बहिनी ज्वाइँ हुनुहुन्थ्यो । पृथ्वीनारायण शाहले विसं १८०१ देखि प्रारम्भ गरेको नेपाल एकीकरण अभियानका क्रममा कुमाउ, गढवाल आदि पश्चिमतर्फको युद्धमोर्चामा नेतृत्व गर्ने बहादुर सिपाही शशिधर खत्रीका नाति परशुराम खत्रीका छोरा हुनुहुन्थ्यो टण्डन । श्रीरामचन्द्र मन्दिरको पूर्व मूल सडकको पारिपट्टि श्रीबेङ्टेस भगवान्को मन्दिर छ । मन्दिरका चार कोणमध्ये आग्रेयमा गणेश, नैऋत्यमा सूर्य, वायव्यमा दुर्गा र ईशानमा शङ्करको लघुआकृतिका मूर्तिहरू शोभायमान छन् । रामचन्द्र मन्दिरको ठिक पूर्वमा आफ्नो स्वामीलाई हात जोडेर उभिएको सङ्कटमोचन हनुमानको मूर्ति झन्डै तीन फिट अग्लो पीठिकामाथि स्थापित छ । मन्दिरको चारैतर्फ श्रीसनकसिंहेश्वर, श्रीशारदादेश्वर, सन्तकुमारेश्वर, हर्षकुमारेश्वर, यशोधरादेश्वर, लक्ष्मीकुमारेश्वरको गुम्बज शैलीका शिवालयहरू अवस्थित छन् । रामचन्द्र मन्दिर विसं १९२८ मा निर्माण भए पनि वरिपरिका शिवालय भने विसं १९३३ र विसं १९५१ मा निर्माण भएका हुन् । 

लिच्छविकालका अनेकौँ कलाकृति यस मन्दिरवरपर पाइएको बताइन्छ । मन्दिरको गर्भगृहको भित्तामाथि रामायणस“ग सम्बन्धित पात्रहरूको कथामा आधारित विभिन्न आकर्षक चित्र कोरिएका छन् । नेपालको आधुनिक कालका भित्तेचित्रहरूमा यहाँको भित्तेचित्रको आफ्नै विशेषता छ । मन्दिरको मूल गर्भगृहमा अप्सरास्वरूपका उडेको जस्तो देखिने ३२ वटा पुतलीका आकृति गुम्बजको मुन्तिरको भित्तामा टाँसेर राखिएको छ । यिनै ३२ वटा पुतलीको नामले चर्चेको ठाउँलाई बत्तिसपुतली नामले सम्बोधन गरिएको बताइन्छ । 

विगत केही दशकअघि बत्तिसपुतलीको थुम्कामा रहेको मन्दिरपरिसरबाट काठमाडौँ खाल्डोको मनमोहक दृश्य अवलोकन गर्न सकिन्थ्यो । त्यसै गरी काठमाडौँ खाल्डो पूर्व, पश्चिम, उत्तर, दक्षिण जहा“बाट पनि मन्दिर अवलोकन र टाढैबाट दर्शन गर्न सकिन्थ्यो । काठमाडौँको जनसङ्ख्या र जनघनत्व कम रहेकाले मन्दिरमा बिहान र बेलुका आरतीको समयमा बजाइने घन्टको आवाज टाढैदेखि श्रवण गर्न सकिन्थ्यो । उबेला मन्दिरपरिसरबाट वरिपरि नजर दौडाउँदा हरियाली फाँट, खेत, रुख, डाँडाकाँडा र सुन्दर बस्ती देखिन्थ्यो भने अहिले जताततै कङ्व्रिmटको जङ्गल देखिन्छ । कुनै बेला मन्दिरको वैभव र महत्वले गर्दा होला, प्रायः पशुपतिनाथ दर्शन गर्न आउने भक्तजन राममन्दिरसमेत दर्शन गर्न छुटाउँदैनथे । दुःखकष्ट निवारणार्थ हात जोड्ने साधनास्थल तथा स्वरूप साक्षात्कारका लागि चिन्तन मनन गर्ने पवित्र स्थलका रूपमा मन्दिरको प्रसिद्धि थियो । उपत्यकाबाहिर देशका कुना कुना र भारतबाट समेत भक्तजन विशेषतः रामनवमीका दिन दर्शनका लागि आउने चलन थियो । टाढाबाट आएका भक्तजनलाई बस्ने व्यवस्थाका लागि चारैतर्फ सत्तलहरू निर्माण गरिएका थिए । काठमाडौँमा जनसङ्ख्याको चाप बढेसँगै मन्दिरको महिमा पनि छायामा पर्दै गयो । बिस्तारै मन्दिरको संरक्षण र संवर्धनमा कमी आयो । मन्दिरको सञ्चालन र व्यवस्थापनमा समेत समस्या देखियो । मन्दिर भवन जीर्ण हुँदै गयो भने वरिपरिका शिवालय र सत्तलहरूसमेत जीर्ण बन्दै गए । भनिन्छ, मन्दिर प्राङ्गणमा झारपात र सिस्नोघारी पलाउन थाल्यो र मन्दिर जाने बाटोको सिँढीसमेत भत्किँदै गएपछि मन्दिरमा भक्तजन जान छाडे । 

भक्तजनका लागि मन्दिर खुला, मार्ग सहज र पूजनस्थल व्यवस्थित, सफा तथा हराभरा हुन आवश्यक छ । ऐतिहासिक, धार्मिक र सांस्कृतिक महìव बोकेको मन्दिर लामो समयसम्म श्रीविहीन हुँदा सम्बन्धित निकायको ध्यान गएन । धैरैलाई थाहासमेत हुन छाड्यो, के साँच्चै काठमाडौँमा राममन्दिर छ ? उपत्यकामा हिजोआजसमेत धेरै मानिस काठमाडौँ बत्तिसपुतलीमा ऐतिहासिक राममन्दिर छ भन्दा पत्याउँदैनन् । किनकि यसको प्रचारप्रसार  छैन । नया“ पुस्ता र बाहिरबाट आएका भक्तजन मन्दिरबारे अनभिज्ञ छन् । 

पहिले गुठी जग्गाको आम्दानीबाट मन्दिर सञ्चालन हुन्थ्यो, पछि गुठी जग्गामा अनेक आन्तरिक र बाह्य समस्या देखा पर्न थाल्यो । गुठी जग्गाबाट कुत उठ्न नसक्ने, उठे पनि आन्तरिक समस्या र विवादका कारण मन्दिरको समुचित उपयोग र महत्वलाई आत्मसात् गर्न सकिएन । विसं २०४८ मा विधिवत् रूपमा ‘श्रीरामचन्द्र मन्दिर जीर्णोद्वार एवं संवर्धन समिति’ गठनसँगै उठेका अनगन्ती हात, सङ्कल्प र सामूहिक प्रयासबाट मन्दिरको सम्भार र संवर्धनले गति लियो ।

विसं १९९० को महाभूकम्पले मन्दिरको पूर्व र उत्तरतर्फका सत्तलहरूमा धाँजा  फाटेका थिए । महाभूकम्पले पु¥याएको क्षतिको समयमै मर्मतसम्भार हुन नसक्दा केही समयपश्चात् उत्तर, पश्चिम एवं दक्षिणतर्फका सत्तलहरू धराशायी हुँदै गए । तिनको पुनर्निर्माणका लागि लामो समय कुर्नु प¥यो । २०७२ सालको विनाशकारी भूकम्पले मन्दिरमा पुनः क्षति तुल्यायो । मूल मन्दिरको तलमाथि चारैतर्फ चर्कियो । समितिसँग रहेको जगेडा कोष र यथोचित चन्दा सहयोग सङ्कलन गरी त्यही वर्ष पुनर्निर्माण थालियो र मन्दिरले पूर्ण रूप लियो । 

हिजोआज मन्दिरमा भक्तजनको भिड बढ्न थालेको देखिन्छ । विशेष अवसर, शनिबार, चाडपर्व र अझै भन्ने हो भने रामनवमीका दिन मन्दिर भक्तजनका लागि प्रमुख पूजनस्थलका रूपमा लोकप्रिय हुँदै गएको छ । मन्दिरमा प्रत्येक औँसीको दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म साधना–सन्ध्या कार्यक्रम सञ्चालन हुने गरेको छ । यसले करिब १४ वर्षदेखि निरन्तरता पाउ“दै आएको छ । कोभिड –१९ का कारण साधना–सन्ध्या कार्यक्रम अवरुद्ध भयो र गत वर्षदेखि कार्यव्रmम पुनः जागृत तुल्याइयो । विसं २०८० माघ ८ का दिन भारतको अयोध्यामा श्रीरामको प्राणप्रतिष्ठाका दिन बत्तिसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा दीप प्रज्वलनका साथै भव्य रूपले विशेष पूजा आयोजना भएको थियो । बाल्यवस्थादेखि नै धर्मसंस्कृति र संस्कारहरूबारे जानकारी, शिक्षादीक्षा र आध्यात्मिक मार्गमा लाग्न प्रेरणा दिने अभिप्रायले हरेक शनिबार दिउ“सो ४ बजेदेखि ५ बजेसम्म ६ वर्षदेखि १६ वर्ष उमेरसम्मका बालबालिकालाई मन्दिर प्राङ्गणमा बालविहार कक्षा सञ्चालन हुने गरेको छ । बालबालिकाको चरित्र निर्माण र व्यक्तित्व विकासमा समेत यस कार्यक्रमले टेवा पु¥याउँदै आएको छ ।  यस्ता ऐतिहासिक, धार्मिक र सांस्कृतिक धरोहरहरूको स्याहार सम्भार, संरक्षण र संवर्धन गर्ने प्रमुख दायित्व राज्यका सम्बन्धित निकाय र समिति मात्र होइन; आमसमुदाय, सरोकारवाला, सम्पूर्ण नेपाली तथा सनातन धर्मावलम्बीको समान दायित्व हो । देशभर छरिएका मूर्तअमूर्त सम्पदास्वरूपका मठमन्दिर, गुम्बा र विहारहरूको संरक्षण तथा संवर्धनमा आमनागरिक, सङ्घ संस्था र समाज सचेत र जागृत हुन सक्नु पर्छ । यसबाट देशको ऐतिहासिक, धार्मिक र सांस्कृतिक धरोहरहरू जोगिई मुलुकको धार्मिक पर्यटन प्रवर्धन हुने सम्भावना रहन्छ ।

   

Author

अशोक घिमिरे