• १ कात्तिक २०८२, शनिबार

महाकवि देवकोटाको अन्तर्राष्ट्रिय छवि

blog

नेपाली भाषा र साहित्यलाई समृद्धि प्रदान गरेर सफलताको उच्च शिखरसम्म पु¥याउने महाकवि लक्ष्मीप्रसाद देवकोटालाई नेपाली साहित्यको एक अमर विभूतिका रूपमा लिइन्छ । यस सन्दर्भमा नेपाली साहित्यप्रति उहाँको अगाध आस्था, असीम समर्पण र उत्सर्गता अविस्मरणीय छ । आफ्नो प्रखर र बहुमुखी साहित्यिक व्यक्तित्वका कारण उहाँ नेपाली साहित्यका मूर्धन्य साहित्यकारका रूपमा मात्र होइन, अन्तर्राष्ट्रिय साहित्यिक क्षेत्रमा पनि एउटा सशक्त महान् प्रतिभाका रूपमा प्रतिष्ठित हुनुभएको छ । उहाँको नेपाली भाषामा मात्र होइन, अङ्ग्रेजी भाषामा पनि विशिष्ट पकड थियो । यसका अतिरिक्त उहाँलाई हिन्दी, बङ्गला, नेवारी, उर्दु, फ्रेन्च र जर्मन भाषाको पनि राम्रो ज्ञान थियो । यसका अतिरिक्त चिनियाँ भाषा, रुसी भाषा तथा तमिल भाषाप्रति पनि उहाँको गहिरो अभिरुचि थियो । 

यसैले होला सोभियत रुसमा सम्पन्न विश्व युवा सम्मेलनमा उहाँको विलक्षण विज्ञताबाट अन्य भाषाभाषी साहित्यकार आश्चर्यजनक रूपमा प्रभावित भएका थिए । यस सन्दर्भमा यज्ञप्रसाद आचार्यले भनेको उक्ति उल्लेखनीय छ, “अफ्रोएसियाली लेखक सम्मेलनमा इन्द्रेणीको दोस्रो र सातौँ अङ्कमा परेका कविताको अङ्ग्रेजीमा अनुवाद गरेर देवकोटाले नेपाली प्रतिभालाई देशबाहिर पु¥याउन, चिनाउन चामत्कारिक अवतरण गराएका थिए ।”

अत्यन्त लोकप्रिय, प्रतिष्ठित र महान् कवि देवकोटाबारे साहित्यकार मोदनाथ प्रश्रित भन्नुहुन्छ, “२००७ सालको आन्दोलनमा निर्भीकतासाथ होमिएको इतिहास, नेताका गलत प्रवृत्तिको भत्र्सना, अन्तर्राष्ट्रिय सम्मेलनमा उपनिवेशवाद र साम्राज्यवादविरुद्ध उनको (देवकोटाको) गर्जन आदि कुराको विशेषताले नै उनलाई लोकप्रियताको चरम शिखरमा पु¥याएको हो । ...उनले अन्तर्राष्ट्रियस्तरमा पुगेर विश्वकै प्रतिनिधिहरूलाई झकझक्याउने क्रान्तिकारी सन्देश दिए ।”

देवकोटा युगको आकाङ्क्षा र आवश्यकतासित आफ्ना भावना र आकाङ्क्षा जोडेर मानवता उत्थानका लागि जीवनपर्यन्त प्रयत्नशील रहनुभयो । मूलतः देवकोटा काव्यका केन्द्रविन्दु नै मानवतावाद रह्यो । उहाँको व्यापक चिन्तनमा आफ्नो समाज, आफ्नो देशप्रति जागरण चेतनासहित 

अन्तर्राष्ट्रिय भावना अर्थात् विश्वमा सर्वत्र शान्ति, स्वतन्त्रता, समानता तथा विश्व भ्रातृत्वका अमर भावना कवितामा सर्वत्र प्रकट भएको पाइन्छ । समाजमा व्याप्त अन्याय, अत्याचारविरुद्ध मानवतावादी कवि विद्रोहका यस्ता हुङ्कार पनि गर्दछन्–

“जब मानवले मानवलाई मानव ठान्दैन साथी ।

तब कडकडाउँछन मेरो बत्तीसदन्ते बङगारा

म तन खाने आगो झैं बहुला हुन्छु ।”

समाजमा व्याप्त दमन, अन्याय र अत्याचारविरुद्ध सङ्घर्षका लागि जोडदार आह्वान गर्दै कविले आफ्नो देशवासीका अन्तरमनका स्वाभिमानलाई जागृत गरेर सङ्घर्षका लागि आह्वान गरेको अनेकानेक कवितामा प्रस्ट देखिन्छ । यस्तै विचार लिएका प्रसिद्ध हिन्दी कवि निरालाले पनि अन्याय सहनु हुँदैन, दमनको प्रतिकार गर्नु नै पर्दछ भन्ने सिंहगर्जन गर्नुभएको थियो–

“सिंही की गोद से

छीनता रे शिशु कौन ?

मौन भी क्या रहती वह

रहने प्राण ? रे अज्ञान

जागो फिर एक बार !”

सामाजिक परिवेशलाई हेर्दै कवि देवकोटाले पनि ओजस्वी स्वरमा अन्याय, दमन, शोषण र अत्याचारलाई समाजबाट समाप्त गर्नका लागि जनतालाई उद्बोधित गर्दै अनेकौँ कविता लेख्नुभएको छ । आफ्नो हक, हित र न्यायका लागि मानवलाई उद्बुद्ध गर्दै सङ्घर्षप्रति जनचेतना यसरी जगाउनुभएको छ–

“जंगलको कानून

जसले हाँक्यो, उसको पाक्यो, काँतरको हक थाक्यो

न लडी कोई हुन्न विजेता ।”

यस्तै ‘साँढे’, ‘झंझावीर’, ‘जित्नु छ साथी जिताउनु छ साथी’ तथा ‘पहाडी पुकार’ जस्ता रचनामा अन्यायका प्रतिकारका लागि कवि भयङ्कर विद्रोही र व्रmान्तिकारी रूपमा देखा परेको पाइन्छ । कविका क्रान्ति स्वर कति ओजस्वी रूपमा फुटेको छ–

“मानिसलाई चाहिने हक

न लिई छाड्दैनौं

मर्नु त एक दिन अवश्यै पर्छ

पशु झैं न जिऊँ

मानिस हुँ भने, मानिस भै जिऊँ

मानिसको हक लिऊ ।”

सरस्वतीका वरद्पुत्र महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म विसं १९६६ र मृत्यु विसं २०१६ मा भएको थियो । जीवनपर्यन्त रोग, शोक र भोकसँग सङ्घर्षमय जीवन व्यतीत गर्ने बाध्यता भए पनि उहाँले कहिले जीवनमा हार मान्नु भएन । गोविन्द भट्टले भन्नुभएको छ–

“ढाक्न सक्दैन सधैं बादलले सुर्यलाई”

“जनताको श्रद्धा, भक्ति र प्रेम जित्न सजिलो छैन । त्यसका निम्ति देवकोटा जस्तै बाँच्न सिक्नु पर्छ अनि देवकोटा जस्तै गर्न पनि सक्नु पर्छ ।”

एउटा असल योद्धा भएर सङ्घर्षपूर्ण बाटो अँगाल्दै आफ्नो कवि कर्म र कवि दायित्वप्रति पूर्णतया समर्पित भएर उहाँले एउटा असल कविका युग द्रष्टा र युग स्रष्टा रूपलाई पूर्णतया सार्थक बनाउनुभयो, चरितार्थ गर्नुभयो । 

परिवार, समाज, राष्ट्र र सम्पूर्ण मानवका लागि स्वयम् आफूलाई नै समर्पण गरेर उहाँले जुन अविस्मरणीय उदाहरण प्रस्तुत गर्नुभएको छ, त्यो अत्यन्त नै प्रशंसनीय र अनुकरणीय छ । आफ्नो प्रारम्भिक काव्य रचनाका प्रकृतिवादी, स्वच्छन्दतावादी, आदर्शवादी कवि परिस्थितिवश युग र समयको माग अनुसार बिस्तारै बिस्तारै यथार्थवादी, सुधारवादी, क्रान्तिकारी, मानवतावादी बन्दै गएको हामी पाउँछौँ । 

कविको मान्यता अनुसार साहित्य जीवनको प्रतिनिधि हो र कवि जनताको प्रतिनिधि । आफ्नो युगका स्पन्दन राम्ररी बुझ्ने युगकवि देवकोटा रुसको तासकन्दमा भएको अफ्रोएसियाली लेखन सम्मेलनमा साहित्य जगत्लाई दिनुभएको यो सन्देश अत्यन्त उपयोगी र अनुकरणीय सिद्ध भएको देखिन्छ, “अब जनताको ध्यान बढी उच्चस्तरीय मूल्यहरूतर्फ र बढी व्यापक क्षितिजतर्फ आकर्षित गर्नको निम्ति लेखकले बढी फलदायी ढङ्गबाट काम गर्नु परेको छ । उसका अगाडि ज्यादै उत्तरदायित्वपूर्ण र ज्यादै कठिन कार्यभार रहेको छ, जुन उसले जीवनका कठोर अवस्थामा आफूले वहन गर्नु परेको छ । लेखकले आफ्नो कामको पारिश्रमिक ज्यादै नै थोरै पाउँछ । परन्तु ऊ सच्चा लेखक हो भने उसले आफ्नो कार्य रोक्नु हुँदैन । उसले जनतामा भिज्नु पर्दछ, जनताबाट सिक्नु पर्दछ, समस्त मानवजातिको जीवनबोधका लागि र सबै वर्तमान समस्या तथा घटनाको अनुबोधका लागि आत्मा खोतल्नु पर्दछ ।” यसै सन्दर्भमा अरविन्द रिमालको भनाइ महत्वपूर्ण देखिन्छ–

“एसिया तथा अफ्रिकाका लेखक, साहित्यकार आआफ्ना महादेशमा विदेशी उपनिवेशवादी शासनका विरुद्ध चलिरहेको राष्ट्रिय मुक्ति सङ्ग्रामका योद्धाहरूको समर्थनमा आआफ्ना आवाज बुलन्द गर्न भेला भएका थिए । नेपालका तर्फबाट महाकवि लक्ष्मीप्रसाद देवकोटाले दिनुभएको भाषण यस्तो जाज्वल्यमान सान्दर्भिक र जुझारु थियो कि सम्मेलनले त्यसलाई नै आफ्नो घोषणापत्र बनाई विश्वभर प्रसारित ग¥यो ।” त्यसैले अफ्रोएसियाली लेखक सम्मेलनकी अध्यक्ष श्रीमती सम् जुल्फियाले भनिन्, “तासकन्द सम्मेलनको सफलताका लागि नेपालका महाकवि देवकोटाको योगदान अतुलनीय रह्यो ।”

देवकोटाले नेपालीको उदारपना अत्यन्त व्यापक रूपमा चिनाउने प्रयास गर्दै भन्नुभएको छ–

“नेपाली भनेको त्यो हो 

जसले हाँसी हाँसी उत्री उठ्दछन् खतरा पार ।

जसले उठाउँछ विश्व जगाई

आजको युगको विश्वको भार ।”

आफ्नै पङ्क्तिहरूलाई आफ्नो जीवनमा उहाँले चरितार्थ गर्नुभयो । मानवप्रेमी देवकोटा साँच्चिकै मानवकल्याण र विश्वबन्धुत्वका लागि समर्पित कवि हुनुहुन्थ्यो । उहाँ प्रजातन्त्रप्रेमी, स्वतन्त्रता तथा समानताका हिमायती सच्चा मानवतावादी कवि हुनुहुन्थ्यो । महाकवि देवकोटालाई हिन्दीका विख्यात विद्वान् साहित्यकार राहुल सांकृत्यायनले भन्नुभएको कथन (‘नेपाली महाकवि देवकोटा’ ‘आजकल’ हिन्दी मासिक १ मई १९५३) कति महìवपूर्ण र सान्दर्भिक ठहरिन आउँछ, “देवकोटा नेपाली के पन्त, प्रसाद, निराला तीनो हैं इसमें अतिशयोक्ति नहीं है ।” यसै प्रसङ्गमा कमला सांकृत्यायन भन्नुहुन्छ, “महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपालका ती साहित्यकारमध्ये हुनुहुन्थ्यो, जसको देशमा साँचो अर्थमा मूल्याङ्कन हुन सकेन, यो निश्चित छ, आफ्नो जीवनकालमा उहाँको वास्तविक मूल्याङ्कन हुन सकेको भए उहाँ र उहाँको देश साहित्य जगत्मा विश्वको कुनै विशिष्ट पङ्क्तिमा उभिने थियो ।” 

अन्तः हामी यसै निष्कर्षमा पुग्छौँ कि महाकवि देवकोटा एक सच्चा मानवतावादी कविका रूपमा हाम्रोसामु मानव एकता, मानव समानता र विश्वबन्धुत्वको आदर्श लिएर विश्वकल्याण कामनामा समर्पित हुनुभएको देखिन्छ । अन्तर्राष्ट्रिय छवि प्राप्त महाकवि देवकोटाका अमर योगदान र देवकोटा साहित्यको महत्वलाई बुझेर देवकोटाका अप्रकाशित कृति प्रकाशित गर्ने, अनुसन्धान गर्ने र यस प्रवृत्तिलाई प्रोत्साहित गर्ने दायित्वबोध हामी सबैमा आउनु पर्छ ।