बोमलाल गिरी
नवलपुर, पुस ७ गते । अहिले बिहानको ८ बजिसकेको छ । घाममाथि आइसक्ने बेला भयो । तर बाहिर हेर्दा अझै उज्यालो देखिदैन । शितलहले वर्षा लागेको आभास दिन्छ । साथमा हुस्सु यति बाक्लो लागेको छ कि १० मिटर अगाडिको बस्तु देख्न पनि हम्मेहम्मे पर्छ । यसले सबैभन्दा बढी समस्या बिहानको समयमा सवारी साधन चलाउनेहरुलाई परेको छ ।
पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटबल सडक खण्डमा हेडलाइट बालेर पातलो गरी सवारी साधन त गुडेका छन्, तर निक्कै सुस्त गतिमा । बाक्लो गरी लागेको हुस्सुले भिजिविलिटी निक्कै कम हुँदा बस चलाउन समस्या भएको बताउनुहुन्छ नारायणघाट–बुटबल बसका चालक राजन घिमिरे ।
‘‘गती बढाउने वित्तिकै भिजिविलिटीका कारण दुर्घटना हुने जोखिम उत्तिकै छ, त्यसैले सावधान भएर सुस्त गतिमा सवारी साधान चलाउनु पर्ने बाध्यता छ,’’ घिमिरेले भन्नुभयो ।

राजमार्ग निर्माणकै क्रममा भएको र चालकले पनि सावधानीपूर्वक गाडीहरु चालाएकाले सामान्यबाहेक ठुला दुर्घटना भने नभएको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज खड्काले बताउनुभयो । पुस लागे लगत्तै नवलपुरलगायत तराईका जिल्लाहरुमा बाक्लो हुस्सु लाग्ने गरेको छ । हुस्सु मात्र होइन शितलहर पनि त्यत्तिकै चलेको छ ।
शितलहरकै कारण बाटो चिप्लो हुँदा नारायणघाट–बुटबल सडकको दाउन्ने खण्डमा सवारी साधन चलाउन झनै समसया हुने गरेको चालकको गुनासो छ । अरु समय यतिबेला चर्को घाम लाग्ने नवलपुरमा अहिले तीन दिनदेखि घाम देख्न पाइएको छैन । जाडो बढेपछि वृद्धवृद्धाले थप थप समस्या भोग्नु परेको छ ।

