अमरराज नहर्की
तनहुँ, कात्तिक १० गते । नेपाल तरुण दलको ७३ औं स्थापना दिवसको अवसरमा नेपाल तरुण दल तनहुँले सोमबार एक युवा पत्रकारलाई सम्मान गरेको छ । यस अवसरमा नेपाल पत्रकार महासङ्घ तनहुँका उपाध्यक्ष प्रतापसिंह रानालाई तरुण पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कार वितरण समारोहमा नेपाली कांग्रेस तनहुँका सभापति तथा गण्डकी प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री जीतप्रकाश आले, नेपाली कांग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेल, र नेपाल तरुण दल तनहुँका अध्यक्ष हीरा थापाले संयुक्त रूपमा ५ हजार रुपियाँ नगदसहित सम्मानपत्र प्रदान गर्नुभएको थियो । पुरस्कार अनसन चौतारी, दमौलीमा आयोजना गरिएको समारोहमा वितरण गरिएको थियो । नेपाल तरुण दल तनहुँका अनुसार, प्रतापसिंह रानालाई तनहुँ जिल्ला भित्र रहेर स्वरोजगार अपनाएका सफल युवा उद्यमीहरूको खोजतलाश र रिपोर्टिङ गरेको योगदानका लागि सम्मान गरिएको हो ।
यसअघि पनि गोरखापत्र दैनिकका तनहुँ समाचारदाता अमरराज नहर्की र नेपाल टेलिभिजनका तनहुँ समाचारदाता श्रीहरी पौडेललाई तरुण पत्रकारिता पुरस्कारबाट सम्मानित भइसकेको छ । सोही अवसरमा यस अवसरमा सारथी फुड्स प्रोडक्ट (मेरो अचार)की सञ्चालिका मनिता गुरुङलाई युवा उद्यमी पुरस्कार प्रदान गरिएको थियो । यसैगरी युवा उद्यमी पुरस्कारको लागि स्वर्गिय लुकमाया गुरुङको स्मृतिमा तरुण-युवा उद्यमी पुरस्कार अक्षयकोष राख्नेहरू खेमजङ्ग गुरुङ र जगदिश काफ्लेलाई सम्मानपत्र प्रदान गरिएको थियो ।