• १३ साउन २०८१, आइतबार

गिल्ला सिँचाइ योजनामा खिचातानी

blog

अमरगढी समाचारदाता

डडेलधुरा, जेठ १८ गते  । नवदुर्गा गाउँपालिका–४, गिल्ला बस्ती सिँचाइ योजना निर्माण कार्य अलपत्र परेको छ । लिफ्ट गरेर सिँचाइ योजना पाँच वर्षअघिबाट सुरु भएको हो । सो आयोजना मर्मतका लागि गत वर्ष ५० लाख रुपियाँ विनियोजित भएको थियो । राजनीतिक खिचातानीले पूरा हुन सकेको छैन । नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) पार्टीका जिल्ला एवं पालिकास्तरका नेता कार्यकर्ताको आन्तरिक लडाइँले योजना मर्मतका लागि आउने बजेट दुई वर्षयता कार्यान्वयन हुन नसकेको हो । 

योजना सञ्चालनका लागि उपभोक्ता समिति बनाउनमै स्थानीय नेताबिच खिचातानी भएको छ । उक्त खिचातानीले योजनाको रकम फिर्ता गएको छ । यस वर्ष पनि योजना मर्मतका लागि प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले ३० लाख रुपियाँ विनियोजन गरेको छ । हालसम्म पनि योजना मर्मतका लागि उपभोक्ता समिति बन्न सकेको छैन । यस वर्षको बजेट पनि फिर्ता जाने सम्भावना बढेको छ । उपभोक्ता समिति बनाई काम गर्न भने पनि समाजवादी पार्टीका नेता कार्यकर्ताले काम गर्न नदिएको गाउँपालिकाका उपाध्यक्ष निर्मला विष्ट बोगटीले बताउनुभयो ।

प्रदेशबाट आफूले योजना पारेको बताउँदै समाजवादी पार्टीका नेता कार्यकर्ताले काममा अवरोध गरेको उहाँको गुनासो छ । आफूहरूले पारेको योजनाको काम आफूहरूले गर्न पाउनुपर्ने माग गरेपछि समस्या भएको उहाँले बताउनुभयो । 

कांग्रेसको बहुमत रहेको नवदुर्गामा एकलौटी काम गरिन थालेपछि समाजवादीका नेता कार्यकर्ताले आवाज उठाउँदा योजना रोकिने खेल भएको वडाध्यक्ष पदम विष्टले बताउनुभयो । गिल्लावासीको खेतमा सिँचाइको अभाव छ । सेती किनारमाथि रहेको गिल्लावासीको करिब २५० हेक्टर क्षेत्रफलमा सिँचाइ गर्न आर्थिक वर्ष २०७५/७६ मा १० लाख रुपियाँ विनियोजन भई लिफ्ट सिँचाइको काम सुरु भएको थियो । आव २०७६/७७ मा पुनः ५० लाख रुपियाँ विनियोजन भएपछि योजना निर्माणको काम गरिएको थियो तर २०७८ को असोज/कात्तिकमा परेको बेमौसमी वर्षाले बाँध र पाइप बगाउँदा जीर्ण बनेको छ ।