• १३ साउन २०८१, आइतबार

घोडाघोडीमा भेटियो लालचुच्चे ठेउवा

blog

घोडाघोडी वर्ड सेन्चुरीमा देखिएको लालचुच्चे ठेउवा । तस्बिर : हिरुलाल डङ्गौरा

अविनाश चौधरी

धनगढी, जेठ १६ गते । कैलालीमा रहेको घोडाघोडी चरा अभय आरण्य क्षेत्र (वर्ड सेन्चुरी) मा पहिलो पटक लालचुच्चे ठेउवा (डलर वर्ड) अभिलेख भएको छ । 

केहीदिन अगाडि चरा गणना एवम् अनुसन्धानको क्रममा एक जोडी लालचुच्चे ठेउवा अभिलेख गरिएको हो । घोडाघोडी वर्ड सेन्चुरीको बेतहनी क्षेत्रमा भालेपोथी लालचुच्चे ठेउवा भेटिएको चराविद् हिरुलाल डङ्गौराले जानकारी दिनुभयो । उहाँका अनुसार समर भिजिटर यो प्रजातिको चरा भारत, बङ्गलादेश तर्फबाट गर्मी सिजनमा नेपाल भ्रमणमा आउने गर्छ। कञ्चनपुरमा यसअघि यो प्रजातिको चरा अभिलेख भए पनि कैलालीमा भने कहिल्यै देखिएको थिएन । जिल्लाकै हकमा पहिलो रेकर्ड रहेको उहाँले बताउनुभयो । 

एक नयाँ प्रजाति थपिएसँगै घोडाघोडी वर्ड सेन्चुरीमा पाइने चरा प्रजातिको सङ्ख्या ३८१ पुगेको छ । गर्मी सिजनमा पाइने चराको प्रजाति, सङ्ख्या र अवस्था पत्ता लगाउने उद्देश्यका साथ डिभिजन वन कार्यालय पहलमानपुरको आयोजना र नेपाल पन्क्षी संरक्षण सङ्घ (बीसीएन) को समन्वयमा चरा गणना एवम् अनुसन्धान गरिएको थियो । त्यस क्रममा समर भिजिटर चराहरू स्वर्गचरी, कोइली, मुरली राम्रै सङ्ख्यामा पाइएको डङ्गौराले बताउनुभयो ।