• १३ साउन २०८१, आइतबार

गोरखापत्र संस्थानको आयोजनामा धनगढीमा फोटो प्रदर्शनी (फोटो फिचर)

blog

फोटो प्रदर्शनीको उद्घाटन गर्नुहुँदै प्रदेश प्रमुख नजिर मिया । तस्बिर : कृतबहादुर विष्ट

अविनाश चौधरी
धनगढी, जेठ १५ गते । 
गणतन्त्र दिवसको अवसर पारेर धनगढीमा मङ्गलबारबाट स्लाड सोमार्फत फोटो प्रदर्शनी सुरु भएको छ । सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्य र गोरखापत्र संस्थानको आयोजनामा फोटो प्रदर्शनी सुरु भएको हो ।

प्रदर्शनीको आज बिहान सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाले उद्घाटन गर्नुभयो । फोटो प्रदर्शनीको अवलोकनपछि सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आगामी दिनमा यस्ता प्रदर्शनीमा सुदूरपश्चिमलाई प्रतिनिधित्व गर्ने फोटोहरू पनि समावेश गर्नुपर्ने सुझाव दिनुभयो ।


सो अवसरमा पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पनि फोटो प्रदर्शनीमा सुदूरपश्चिमलाई ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।

फोटो प्रदर्शनी अवलोकन गरेपछि प्रदेश सभाका सदस्य लक्ष्मी विकले द्वारिकादेवी ठकुरानी, भीमदत्त पन्त, दशरथ चन्दजस्ता सुदूरपश्चिमका चर्चित व्यक्तित्वको तस्बिर आगामी दिनमा समेट्नु पर्ने टिप्पणी गर्नुभयो ।

फोटो प्रदर्शनीको उद्घाटनका अवसरमा सभामुख भीमबहादुर भण्डारी, भौतिक पूर्वाधार विकासमन्त्री कैलाश चौधरी, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री टीका थापा, उपसभामुख कोइलीदेवी चौधरी र प्रदेश सभा सदस्यहरूको उपस्थिति थियो ।यसैगरी, नीति तथा योजना आयोगका उपाध्यक्ष गणेश विक, प्रदेश लोकसेवा आयोगका अध्यक्ष यज्ञराज जोशी, प्रमुख सचिव डा. हरिप्रसाद लम्साल, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सुशील वैद्य, कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, सर्वसाधारणको सहभागिता रहेको थियो ।



फोटो प्रदर्शनी आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सभा हलमा जेठ १७ गतेसम्म आयोजना गरिने गोरखापत्र संस्थान धनगढी कार्यालयले जानकारी दिएको छ । गोरखापत्रले सङ्कलन गरेको विभिन्न कालखण्डका फोटोहरू प्रदर्शनीमा समावेश गरिएको छ ।