• ३ असार २०८१, सोमबार

थारू नयाँ शब्दकोश लोकार्पित

blog

थारु–नेपाली–अंग्रेजी शब्दकोश शनिबार सार्वजनिक गर्नुहुँदै सांसद तेजुलाल चौधरी ।

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ १२ गते । थारु–नेपाली–अंग्रेजी शब्दकोश सार्वजनिक भएको छ । शब्दकोशको प्रतिनिधिसभा सदस्य तथा नाइटिङ्गेल कलेजका सञ्चालक तेजुलाल चौधरीले एक कार्यक्रमबिच लोकार्पण गर्नुभयो । 

रमानन्दप्रसाद सिंह र सर्वस्वलाल चौधरीले लेख्नुभएको सो शब्दकोशको प्रकाशन रामलगन चौधरी (थारु) ले गर्नुभएको हो । ७१६ पृष्ठको सो शब्दकोशमा सप्तरिया थारु भाषालाई केन्द्रमा राखेर तयार गरिएको छ । लेखकद्वय चौधरीहरुको निधन भइसकेको छ । 


लेखक रमानन्द वि.सं. १९८६ कात्तिक २६ गते जन्मेर उहाँको २०६५ वैशाख २५ गते निधन भएको थियो । त्यस्तै, लेखक सर्वस्वको जन्म २००५ मा भएको थियो । उहाँको निधन २०६७ भाद्र १५ गते भएको थियो । शब्दकोशको सम्पादनमा रामलगन चौधरी, हरिप्रसाद चौधरी, महेशकुमार चौधरी र सूर्यकुमारी जोशी (थारु) भूमिका खेल्नुभएको छ ।

सांसद चौधरीले थारु भाषा उत्थान र संरक्षणमा शब्दकोशले ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । लोकसेवामा मातृभाषाबाट परीक्षा नलिँदा आदिबासी समुदाय मारमा परेको चर्चा गर्दै उहाँले मातृभाषामा परीक्षा लिने व्यवस्था आवश्यक रहेको उहाँले सुझाव दिनुभयो । थारु समुदायको जनसंख्या चौथो ठूलो भए पनि राज्यको संयन्त्रमा प्रतिनिधित्व त्यसअनुसार नभएको उहाँले बताउनुभयो । 

त्रिभुवन विश्वविद्यालय भाषा विज्ञान विभागका प्रमुख डा. बलराम प्रसाइँले आफूले शब्दकोशका लागि सामान्य प्राविधिक सहयोग मात्र गरेको बताउनुभयो । शब्दकोश निर्माणले थारु भाषा साहित्य उत्थानमा भूमिका खेल्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । 


डा. केशवमान शाक्यले थारु भाषा साहित्यको श्रीबृद्धिमा शब्दकोषले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । थारु र शाक्यको पूर्खा एउटै भएको चर्चा गर्नुहुँदै उहाँले मातृभाषा उत्थानका लागि राज्यले लगानी बढाउनुपर्ने बताउनुभयो ।

बौद्ध जागरण सिंह विहार प्रसवनी सप्तरीका अध्यक्ष रामलगन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धसेन चौधरी, कृष्णबहादुर चौधरी (कपिलवस्तु), अधिवक्ता नागेन्द्र चौधरी, प्रियासिंह थारु लगायतले धारणा राख्नुभएको थियो ।