• २ असार २०८१, आइतबार

शिक्षा क्षेत्र सुधार गर्न अनुगमन: अध्यक्ष अन्सारी

blog

सुनसरीको कोशी गाउँपालिकामा आयोजित सामुदायिक तथा धार्मिक विद्यालयको अनुगमन तथा मूल्याङ्कन सम्बन्धी कार्यक्रम । तस्बिर: जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, जेठ ११ गते । सामुदायिक विद्यालय सुधार अभियानका लागि अनुगमनलाई निरन्तर र प्रभावकारी बनाउन सुरु गरिएको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले बताउनुभएको छ । 

कोशी गाउँपालिका अन्तर्गतका सामुदायिक तथा धार्मिक विद्यालयको अनुगमन तथा मूल्याङ्कन बारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले गाउँपालिकामा आफू निर्वाचित भएदेखि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरका सुधारका साथै आवश्यकता अनुसार शिक्षकको व्यवस्था गर्दै पूर्वाधार विकासको लागि पहल गर्दै आएको बताउनुभयो । अध्यक्ष अन्सारीले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको खस्कँदो मोहलाई बढाउन आफूले शिक्षा ऐन र नियमावली निर्माण गरी सुधारको पहल थालेको बताउनुभयो । 

कोशी गाउँपालिकाले प्रअ, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक र सरोकारवालासँग छलफल गर्दै शिक्षकलाई सक्रिय बनाउने, विद्यार्थी नभएका विद्यालयलाई गाभ्ने, विद्यालय व्यवस्थापन समितिलाई सक्रिय बनाउने, शिक्षकको सरुवा र पदस्थापन गर्ने, सामुदायिक विद्यालयमै अङ्ग्रेजी माध्यमको पढाइ सुरु गर्ने बताउनुभयो । उहाँले जनप्रतिनिधिले समयसापेक्ष शिक्षा क्षेत्रको अनुगमन गर्ने गरी काम थाल्न शिक्षा शाखा र वडाका जनप्रतिनिधिहरूलाई निर्देशन दिनुभयो ।  

शिक्षाका लागि संविधान र कानुनले स्थानीय तहलाई दिएको अधिकार प्रयोग गरी सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि पहल गर्दै आएको उहाँको दाबी छ । गाउँपालिका क्षेत्रमा सञ्चालित सामुदायिक विद्यालयमध्ये श्री राष्ट्रिय माद्यामिक विद्यालय शोभनपूरमा अङ्ग्रेजी माध्यमबाट पढाइ थालिएको र अन्य सामुदायिक विद्यालयमा यसको सुरुवात गर्ने आफ्नो योजना रहेको अध्यक्ष अन्सारी बताउनुभयो  । 

कम्तीमा आधारभूत तहसम्मको शिक्षा अङ्ग्रेजी माध्यमबाटै गराउन सबै विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाउने तयारी गरिएको हो ।