• १२ साउन २०८१, शनिबार

महिला फुटबल खेलाडी प्रीति राई सम्मानित हुने

blog

निशा राई

धरान, जेठ ९ गते । साकेला उभौलीको अवसरमा राष्ट्रिय महिला फुटबल खेलाडी प्रीति राई सम्मानित हुने भएको छ । बुधबार किरात राई यायोक्खा सुनसरीको भवनमा पत्रकार सम्मेलन गरी साकेला उभौली–२०८१(यलम्बर सम्बत–५०८४)को अवसरमा खेलाडी राईलाई सम्मान पत्रसहित एक लाख ५ हजार रुपियाँले सम्मान गर्ने यायोक्ख्या सुनसरीका अध्यक्ष राजेन्द्र राईले बताउनुभयो । 

खेलाडी राईसँगै अन्य विधाको व्यक्तित्वहरु राष्ट्रिय एथलेटिक्स प्रशिक्षक पार्वती राई, महेन्द्र बहुमुखी क्याम्पस धरानका क्याम्पस प्रमुख चन्द्रकुमार राई, इन्जिनियर पारसमणि राई र एमबिई सुवास राईलाई सम्मान गर्ने अध्यक्ष राईले जानकारी दिनुभयो । 

किरात राईहरुको महान् चाड साकेला उँभौली वैशाख पूर्णिमा वा साकेला पूर्णिमाका दिनदेखि सुरु भई धरानलगायत सुनसरीको विभिन्न ठाउँमा साकेला उँभौली मनाइने र आगामी जेठ २६ गते धरान १७ साकेला पार्कमा समापन कार्यक्रम गर्दै सम्मानित हुने व्यक्तित्वहरुलाई सम्मान गर्ने उहाँले बताउनुभयो । 

यसैगरी विभिन्न ठाउँबाट आउनुभएको राईहरुको साकेला सिल्लि चण्डी नाचमध्ये उत्कृष्ट नाच्ने समूहलाई पनि नगद पुरस्कारसहित सम्मान गर्ने आयोजकले जानकारी गराएको छ ।  

प्रकृतिपूजक किरात राईहरू प्रकृति र प्राकृतिक परिवर्तनलाई आधार मानी यो समयमा चराचुरुङ्गी तथा जनावरहरू बेंसीदेखि लेकतिर उँभो लाग्ने साथै अन्नबालीहरू लगाउने समय भएकोले संसारमा सुख शान्ति होस्, लगाएको बालीहरू सप्रियोस् भन्ने कामना गर्दै वैशाखे पूर्णिमा वा साकेला पूर्णिमालाई उँभौली नामले पनि मनाउने गरेको वरिष्ठ पत्रकार हर्ष सुब्बाले बताउनुभयो । 

साकेला उँभौली चाड विगतका वर्षमा झैँ यस वर्ष पनि भव्यताका साथ मनाउने तयारी छ जसमा जम्मा खर्च ८ लाख ९६ हजार ८४ रुपियाँ रहेको किरात राई यायोक्ख्या सुनसरीका अध्यक्ष राईले बताउनुभयो ।