• १२ साउन २०८१, शनिबार

चट्याङले एकै खर्कका बहत्तर भेडा मरे

blog

ध्यान कुलुङ

सङ्खुवासभा, जेठ ८ गते । जिल्लाको सभापोखरी गाउँपालिका–५, पेरुम्बामा परेको चट्याङले ७२ वटा भेडा मरेका छन् । गत शनिबार राति सभापोखरी–५, फाकुवाका सोमबहादुर लिम्बूको भेडा खर्कमा चट्याङ पर्दा भेडा मरेका हुन् ।

लिम्बू पाल्नुभएको चार सय भेडामध्ये ७२ भेडा मरेको सभापोखरी गाउँपालिकाका अध्यक्ष भीमबहादुर लिम्बूले जानकारी दिनुभयो । ठुलो बगालमा रहेको भेडालाई खर्क (खुला चौर) रुखको छहारी तथा ओढारमा राख्ने गरिन्छ । रुखको छहारीमा बसेका भेडालाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । 

घटनाको प्रहरी र गाउँपालिकाका प्रतिनिधिहरूबाट स्थलगत अनुगमनसमेत गरिसकिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । यस घटनाबाट करिब १४ लाख रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।

यस क्षेत्रका भेडापालकहरू हिउँदको समयमा बेँसी र बर्सातको समयमा लेक लैजाने चलन छ । हिउँदको समयमा बेसी झारिएको भेडीगोठ बर्खा लागेसँगै हिमाली क्षेत्रमा लैजाने व्रmममा पेरुम्बा खर्कमा चट्याङ लागेको हो । हाल सभापोखरी गाउँपालिकाको माथिल्लो क्षेत्रमा एकल र संयुक्त गरी दर्जनभन्दा बढी भेडीगोठ रहेको गाउँपालिकाका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।