पेरिस, फागुन ११ गते । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलन्स्की आज पेरिसमा पुग्नुभएको छ । उहाँ फ्रान्सका राष्ट्रपति इम्यानुएल माक्रोनसँग रुसमा दबाब बढाउने विषयमा विचार विमर्श गर्दै हुनुहुन्छ । उक्त भ्रमण त्यति बेला भएको हो, जब अमेरिकी मध्यस्थतामा किएभ र मोस्कोबिच चार वर्षे युद्ध अन्त्यका लागि सुरु भएका वार्ता अमेरिकी-इजरायली-इरान युद्धका कारण असफल भएका छन् ।
जेलन्स्कीका प्रवक्ता सेर्गी न्यकीफोरोभले भन्नुभयो,“दुई नेता दिउँसो भेटेर छलफल गर्नु हुने छ र त्यसपछि संयुक्त पत्रकार सम्मेलन आयोजना गरिने छ ।” भेटवार्तामा रसियामा प्रतिबन्धको दबाब बढाउने, विशेष गरी तेल ढुवानी गर्ने ‘साया फ्लीट’ ट्याङ्करलाई लक्षित गर्ने विषयमा केन्द्रित रहने अपेक्षा गरिएको छ ।
जेलन्स्कीले एक दिन अघि रोमानियामा पनि भ्रमण गरी सुरक्षा सम्बन्ध सुदृढ गर्नुका साथै बुखारेस्टसँग संयुक्त ड्रोन उत्पादनको सहमति गर्नु भएको थियो । फेब्रुअरी सन् २०२२ मा रसियाको युक्रेन आक्रमणले यूरोपमा दोस्रो विश्वयुद्धयता सबैभन्दा ठूलो रक्तपात र विस्थापन निम्त्याएको थियो । रासस/एएफपी