• २९ फागुन २०८२, शुक्रबार

नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब-ए’ पृथ्वीमा प्रवेश

blog

वासिङ्टन, फागुन २९ गते । अमेरिकी अन्तरिक्ष निकाय नासाको एक अन्तरिक्षयान अपेक्षाभन्दा धेरै वर्ष पहिले पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गरेको छ । नासाका अनुसार ‘भान एलेन प्रोब-ए’ नामक अन्तरिक्षयान बुधबार बिहान ६ बजेर ३७ मिनेटमा पृथ्वीको वायुमण्डलमा प्रवेश गरेको हो । यो अन्तरिक्षयान सन् २०१२ को अगस्टमा प्रक्षेपण गरिएको थियो र करिब १४ वर्षपछि वायुमण्डलमा फर्किएको हो । 

उक्त अन्तरिक्षयानलाई यसको जुम्ल्याहा अन्तरिक्षयान ‘भान एलेन प्रोब-बी’ सँगै पृथ्वी वरिपरि रहेको भान एलेन विकिरण घेराको अध्ययन गर्न पठाइएको थियो । अमेरिकी अन्तरिक्ष बलका अनुसार ‘भान एलेन प्रोब–ए’ प्रशान्त महासागरको पूर्वी भागमाथि वायुमण्डलमा पुनःप्रवेश गरेको हो । पृथ्वीको वायुमण्डल हुँदै प्रवेश गर्दा अन्तरिक्षयानको अधिकांश भाग जलेर नष्ट भएको अनुमान गरिएको छ, यद्यपि केही भाग बाँकी रहन सक्ने सम्भावना पनि रहेको नासाले जनाएको छ ।

यी अन्तरिक्षयानले सन् २०१२ देखि २०१९ सम्म सक्रियरूपमा काम गर्दै पृथ्वीको विकिरण घेरा सम्बन्धी अभूतपूर्व तथ्यांक सङ्कलन गरेका थिए । यस अभियानका क्रममा वैज्ञानिकले तीव्र सौर्य गतिविधिका बेला अस्थायीरूपमा तेस्रो विकिरण घेरा बन्न सक्ने नयाँ तथ्यसमेत पत्ता लगाएका थिए ।

सन् २०१९ मा दुवै अन्तरिक्षयानको इन्धन समाप्त भएपछि अभियान समाप्त गरिएको थियो । त्यस बेला वैज्ञानिकले ती अन्तरिक्षयान सन् २०३४ तिर पृथ्वीको वायुमण्डलमा पुनःप्रवेश गर्ने अनुमान गरेका थिए । तर हालको सौर्य चक्रमा अपेक्षाभन्दा बढी सौर्य गतिविधि भएका कारण वायुमण्डलीय घर्षण बढ्यो र अन्तरिक्षयानको कक्षा चाँडै घट्दै जाँदा यो अपेक्षाभन्दा पहिले नै पृथ्वीमा फर्किएको हो ।

नासाका अनुसार यस अभियानबाट सङ्कलित तथ्याङ्कले अन्तरिक्ष मौसम र त्यसले उपग्रह, अन्तरिक्ष यात्री तथा पृथ्वीका सञ्चार, नेभिगेसन र विद्युत् प्रणालीमा पार्ने प्रभावबारे बुझ्न अझ सहयोग पुर्याइरहेको छ । नासाले ‘भान एलेन प्रोब–बी’ भने सन् २०३० भन्दा पहिले पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश नगर्ने अनुमान गरिएको जनाएको छ । रासस/सिन्ह्वा