• १२ साउन २०८१, शनिबार

पशुपतिको भेटी चोरी

blog

काठमाडौँ, जेठ ८ गते । पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको नगद भेटी चोरीमा संलग्न रहेको अभियोगमा प्रहरीले पशुपति क्षेत्र विकास कोषका सात कर्मचारीसहित आठ जनालाई पक्राउ गरेको छ । 

कोषले निगरानी गर्दा संस्कृति संरक्षण महाशाखाको भेटी गणना कक्षबाट कर्मचारीले नै भेटी लुकाएर लैजाने गरेको खुलेपछि महानगरीय प्रहरी वृत्त गौशालाको टोली बोलाएर आठै जनालाई अनुसन्धानका लागि जिम्मा दिइएको हो । 

गौशाला प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) केशवराज थेबेले कोषका तर्फबाट भेटी चोरी भएको र संलग्नलाई अनुसन्धानका लागि प्रहरीको जिम्मा दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “मन्दिरबाट भेटी लुकाएर लैजाने गरेको विषयमा जानकारी आयो र हाम्रो टोलीले अनुसन्धान गर्न लिएर आएको छ ।”

कोषका नायब सुब्बा नवरा ढोडारी, मन्दिरका ब्राह्मणत्रय नवराज घिमिरे, राम सापकोटा र लक्ष्मण सापकोटा, मन्दिरमा बाजा बजाउने कर्मचारीत्रय अनिल परियार, सनिष कपाली र कुमार दमाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पशुपतिनाथ मन्दिर परिसरमा रहेको नेपाल इन्भेस्टमेन्ट मेघा बैङ्कको रकम सङ्कलन केन्द्रका एक कर्मचारी पक्राउ परे पनि नाम खुलेको छैन । 

निगरानी गर्दा समातियो गिरोह

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले भेटी चोरी हुने जानकारी केही समयदेखि आएको बताउनुभयो । उहाँले भन्नुभयो, “मन्दिरभित्रै भेटी चोरी हुने विषय आएको थियो । सिसिटिभीबाट निरन्तर निगरानी गरेपछि सोमबार चोरी कार्यमा संलग्नको पहिचान खुल्यो र प्रहरीको जिम्मा लगाइएको हो । बाँकी प्रहरी अनुसन्धानबाट खुल्ने छ ।” कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार पशुपतिनाथ मन्दिरबाट दैनिक तीन लाखदेखि तीन लाख ५० हजार रुपियाँसम्म भेटी सङ्कलन हुन्छ । सङ्कलित भेटी नेपाल इन्भेस्टमेन्ट मेघा बैङ्कको बत्तिसपुतली शाखाका कर्मचारीले मन्दिर परिसरमै जम्मा गर्छन् । 

ज्याकेटमा लुकाएर चोरी

पक्राउ परेका अभियुक्तले ज्याकेटमा लुकाएर रकम लाने गरेको सिसिटिभी फुटेजमा देखिन्छ । भेटी सङ्कलनको जिम्मेवारी नासु ढोडारीले हेर्नुहुन्छ । बाजा बजाउने कर्मचारीलाई कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले भेटी सङ्कलन कार्यमा खटाउनुभएको हो । पक्राउ परेका परियारले कोषाध्यक्ष सुवेदीले खटाएको बताउनुभयो । परियारले निर्देशनमा दैनिक तीन हजारदेखि १५ हजार रुपियाँसम्म लाने गरेको बताउनुभयो । प्रवक्ता अधिकारीले कोषाध्यक्ष सुवेदीले बाजा बजाउने कर्मचारीलाई रकम सङ्कलनमा खटाउन नमिल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “आर्थिक नियमावली अनुसार विशेष अवस्थाबाहेक बाजा बजाउने कर्मचारीलाई भेटी सङ्कलनमा खटाउन पाइँदैन ।” पक्राउ परेका परियारले ज्याकेट लगाएर आउन नासु ढोडारीले अह्राउने गरेको बताउनुभयो । उहाँले सोमबार मात्रै नौ हजार रुपियाँ लुकाएर लगेको बयान प्रहरीसँग दिनुभएको छ । कोषाध्यक्ष सुवेदीले भेटी चोरीको विषयमा अनविज्ञता प्रकट गर्नुभयो ।