• ३२ जेठ २०८१, शुक्रबार

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त, पक्षमा १५७ मत

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विश्वासको मत प्राप्त गर्नुभएपछि अभिवादन गर्नुहुँदै । तस्बिर : सुजन गुरुङ

गोरखापत्र अनलाइन

काठमाडौँ, जेठ ७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा बैठकबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको बैठकमा उहाँले लिनुभएको विश्वासको मतको पक्षमा १५७ मत र विपक्षमा शून्य मत परेको छ । प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) बमोजिम विश्वासको मत लिनुभएको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदको होहल्ला र विरोध गरे पनि सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मत लिने प्रक्रिया सुरु गर्नुभएको थियो । कांग्रेस सांसदले सहकारी विषयमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न माग गर्दै विरोध गर्दै आएका छन् । प्रधानमन्त्रीको प्रस्तावमा तटस्थ मत १ परेको छ । संसद बैठकमा १५८ जना सांसदको उपस्थिति रहेको थियो । 


सभामुख घिमिरेले प्रधानमन्त्रीलाई बहुमत सदस्यले विश्वासको मत दिनुभएको भन्नुहुँदै बधाई ज्ञापन गर्नुभयो । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले गत वैशाख ३१ गते सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले सोमबार चौथो पटक सदनबाट विश्वासको मत लिनुभएको हो । सरकारलाई समर्थन गरेको दलले बिचैमा सरकारबाट बाहिरिएमा ३० दिनभित्र विश्वासको मत लिने संवैधानिक व्यवस्था छ । 


२०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रधानमन्त्री प्रचण्डले यसअघि पुस २६ गते, चैत ६ गते र फागुन ३० गते विश्वासको मत लिनुभएको थियो । प्रधानमन्त्री प्रचण्डको पक्षमा नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत, नागरिक उन्मुक्ति पार्टी, जसपालगायतले मत दिए । 

त्यसैगरी विश्वासको मतको विपक्षमा नेपाली कांग्रेस, राप्रपा, जसपा, लोसपालगायत दल उभिए । तर उहाँहरूले मतदान गर्नुभएन । प्रतिनिधिसभाको अर्को बैठक जेठ ८ गते बिहान ११ बजे बस्ने सभामुख घिमिरेले बैठकलाई जानकारी गराउनुभयो ।