• १० मंसिर २०८१, सोमबार

तराईमा स्याउखेती

blog

हावापानी अनुसारका रुख बिरुवा, वनस्पति, फलफूल तथा जीवजन्तु पाइनुलाई स्वाभाविक मानिन्छ । हिमालमा हुने वनस्पति तराईमा नहुनु तथा पहाड र तराईमा हुने जीवजन्तु तथा वनस्पति हिमालमा नहुनुलाई वातावरणीय प्रभाव भनिने गरिएको छ । हिमाल, पहाड र तराईमा बस्ने मानिसमै पनि ठुलो भिन्नता देखिन्छ । केही समयअघि उच्च हिमाली क्षेत्रमा मात्र पाइने हिमचितुवा झापा जिल्लामा भेटिएको समाचारले निकै महत्व पाएको स्मरणीय छ । हिमाली जीव तराईमा बाँच्नै नसक्ने वातावरणविद्को भनाइलाई यो घटनाले आश्चर्यमा पारेको भए पनि यसको सत्य तथ्य अद्यापि सार्वजनिक हुन सकेको छैन । पहाडमा हुने सुन्तला तराई/मधेशमा नहुनु, तराई/मधेशमा हुने आँप हिमाली क्षेत्रमा नहुनु तथा हिमाली क्षेत्रमा हुने स्याउ तराई/मधेशमा नहुने भएकाले यिनीहरूको महत्व पनि क्षेत्र विशेषमा हुने गरेको विदित हुन्छ तर जब एक किसिमको हावापानी मात्र अनुकूलन हुने वनस्पति तथा जीवजन्तुको अवस्थिति तथा उत्पादन भिन्न हावापानीको क्षेत्रमा पनि सहज रूपमा हुन्छ, त्यो आफैँमा महत्वपूर्ण समाचारको विषय बन्दो रहेछ । पछिल्लो समयमा कैलाली जिल्लामा गरिएको व्यावसायिक स्याउखेतीले सञ्चार माध्यममा निकै ठुलो महत्व पाएको छ । हिमाली क्षेत्रमा हुने स्याउखेती उष्ण हावापानी भएको क्षेत्रमा पनि राम्रोसँग फस्टाउनुले गरेदेखि नहुने केही रहेनछ भन्ने पुष्टि भएको छ ।

कैलाली जिल्लाको लम्कीचुहा–९, प्रतापपुरका गोकर्ण ओलीले लटरम्म स्याउ फलाएर सबैलाई आश्चर्यमा पार्नुभएको हो । समाचार अनुसार गत फागुनदेखि फुल्न थालेको स्याउका दाना यतिबेला राम्रोसँग बढिरहेका छन् । असारसम्ममा खानका लागि तयार हुने ओलीले जानकारी दिनुभएको छ । हिमालमा फल्ने स्याउ तराईमै फल्न थालेपछि हेर्न आउनेको बाक्लो उपस्थितिसँगै केहीले उहाँसँगै बिरुवा लिएर रोप्न थालेको पनि जानकारीमा आएको छ । ओलीले २०७८ सालदेखि तीन बिघा जमिनमा व्यावसायिक स्याउखेती सुरु गरेको जानकारी दिनुभएको छ । उहाँको व्यावसायिक स्याउखेतीमा रहरलाग्दा दाना लागेपछि वरिपरिका किसानसमेत आकर्षित हुन थाल्नु स्वाभाविक हो । गत वर्षदेखि फल्न थालेको स्याउ यस वर्ष अझ बढी फल्नेमा उहाँ विश्वस्त हुनुहुन्छ ।

अगुवा किसान ओलीले लगाउनुभएका एक हजार दुई सय बोट स्याउमा फूल फुलेको भए पनि हाल करिब दुई सय बोटमा मात्र दाना लागेका हुन् । स्याउ रोपेको तीन वर्षपछि फल्न थाल्ने भएकाले अब क्रमशः फल्दै जानेमा उहाँ ढुक्क हुनुहुन्छ । हालसम्म व्यावसायिक स्याउखेतीमा जमिनमा बाहेक ८० लाख रुपियाँ लगानी गरिसक्नुभएका ओलीले केही सरकारी अनुदानसमेत प्राप्त गर्नुभएको छ । यसबाट गर्न चाहनेका लागि सरकारले साथ दिन्छ भन्ने उदाहरण उहाँ बन्नुभएको हो । उहाँले प्रादेशिक कृषि निर्देशनालयबाट १० लाख पचास हजार रुपियाँ र कृषि ज्ञान केन्द्रबाट चार लाख पचास हजार रुपियाँ अनुदान पाउनुभएको छ । उक्त अनुदान रकम बिरुवा खरिद र बारबेरमा खर्चेको उहाँले जानकारी दिनुभएको हो । यसपछि पनि आर्थिक वर्ष २०८०/८१ मा कृषि ज्ञान केन्द्र कैलालीबाट चार लाख २८ हजार रुपियाँ थोपा सिँचाइका लागि अनुदान प्राप्त गरेर स्याउमा आवश्यक सिँचाइ गर्दै आउनुभएको छ । ४५ डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुग्ने ठाउँमा एचआरएमएन (हर्मन) ९९ जातको स्याउखेती राम्रोसँग फस्टाउनुले जुनसुकै हावापानीमा पनि स्याउखेती अनुकूलन हुने पुष्टि भएको छ । ओली यो जातको स्याउका बिरुवा छिमेकी मुलुक भारतबाट ल्याएर तराईमा यति ठुलो क्षेत्रफलमा व्यावसायिक खेती गर्ने सम्भवतः पहिलो किसान हुनुहुन्छ । 

स्याउको बिरुवाबाट पूर्ण क्षमतामा उत्पादन लिन पाँच वर्ष कुर्नुपर्ने स्याउ किसान बताउँछन् । एउटै बोटले ५० किलोदेखि ८० किलोसम्म उत्पादन दिने हुँदा फल्न थालेपछि लगानी अनुसारको आम्दानी हुनेमा ढुक्क हुन सकिन्छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ मा स्थायी बसोबास गर्ने ओली स्याउखेतीकै लागि कैलालीको प्रतापपुर पुग्नुभएको हो । उहाँले स्याउखेतीका लागि एक करोड ८६ लाख रुपियाँमा तीन बिघा जमिन खरिद गर्नुभएको थियो । यति ठुलो लगानी गर्नुभएका ओलीलाई सरकारी निकायको अनुदानले भरथेग गरेको अनुभूत हुन्छ । यसबिचमा उहाँले स्याउका बेर्नासमेत उत्पादन गरेर बिक्री गर्दै आउनुभएको छ । गत वर्ष तीन सय रुपियाँ प्रतिबेर्नाका दरले एक हजार दुई बेर्ना बिक्री गरेको उहाँ स्मरण गर्नुहुन्छ । यस पटक पनि बेर्ना तयार हुँदै गर्दा स्थानीयको माग बढिरहेकाले उहाँ झनै हौसिनुभएको देखिन्छ । उहाँको सिको गर्दै केही स्थानीय किसानले व्यावसायिक रूपमै स्याउखेती गर्न थालेको समाचारले अब तराई/मधेशमा पनि ठुलो मात्रामा स्याउखेती हुने अपेक्षा गरिएको छ । केही वर्षयता हावापानीमा हुँदै आएको परिवर्तनका कारण एक क्षेत्रका बोटबिरुवालाई अर्को क्षेत्रको हावापानी अनुकूलन बन्दै गएको हुन सक्ने वातावरणविद्को भनाइलाई स्याउखेतीले पुष्टि गरेको अनुभूत हुन्छ ।