• १२ साउन २०८१, शनिबार

परशुराममा साहित्य महोत्सव हुने

blog

काठमाडौँ, जेठ ६ गते । डडेलधुरा जिल्लाको परशुराम नगर पालिकाको आयोजना र रंगुन साहित्य प्रतिष्ठानसँगको सहकार्यमा जेठ १० र ११ गते परशुराम तीर्थमा परशुराम साहित्यक महोत्सवको आयोजना गरिने भएको छ । 

डडेलधुरा जिल्लाको परशुराम नगरपालिकामा महाकाली र रंगुन नदीको सङ्गममा परशुराम तीर्थको प्रचारप्रसार र परशुराम नगरपालिकासम्बन्धि साहित्य, संस्कृतिलाई उजागर गर्न महोत्सव आयोजना गरिन लागेको हो ।

डडेलधुराको प्रसिद्ध धार्मिकस्थल परशुराम धाममा ‘परशुराम साहित्य महोत्सव २०८१’ को तयारी तीव्र रूपमा चलेको  छ । महोत्सवमा साहित्य, कला संस्कृति, युवा उद्यमी, शिक्षाविद्, राजनीतिकर्मी स्थानीय सरकारका प्रमुखको उपस्थिति रहने परशुराम नगरपालिका प्रमुख भरत बडायर जोशीले जानकारी दिनुभयाे ।

जेठ १० गते उद्घाटन हुने कार्यक्रममा विभिन्न विधामा कलम चलाउने सर्जकलाई सम्मान गरिने तयारी रहेको महोत्सव प्रचारप्रसार समिति संयोजक भवानी अवस्थी रोशनले बताउनुभएको छ । 

गुगुल्टीका सम्पादक वीरबहादुर चन्द विश्राम कञ्चनपुर, परशुराम पौराणिक आख्यानका लेखक किरण आचार्य नेपालगन्ज, जनक रसिक दोरीका लेखक कैलाली, कसन कविता सङ्ग्रहका लेखक गणेशबहादुर नेपाली कैलाली, गजलकार निर्माला बोगटी विष्ट डडेलधुरा, पत्रकार डी आर पन्त, सम्मानित गरिने कार्यक्रम रहेको छ । 

महोत्सवमा सानिध्यता र सहकार्यमा धनगढी उपमहानगरपालिका भीमदत्त नगरपालिका र परशुरामबिच कविता कचहरीमा डा. नवराज लम्साल, विप्लव प्रतीक, सोझो गाउँले, आख्यानको ओज र सकस विषयमा मदन पुरस्कार विजेता रामलाल जोशी, विवेक ओझा, श्री माँ पूर्णागिरि समिति उत्तराखण्डका अध्यक्ष किसन तिवारी, परशुराम तीर्थसम्बन्धी जानकार तीर्थराज अवस्थी, अन्य प्रतिष्ठित व्यक्तित्वको उपस्थिति रहने संयोजक अवस्थी बताउनुभएको छ । 

कार्यक्रममा पत्रकार टीकाराम यात्री, राजेन्द्र बानिया, दीर्घराज उपाध्याय, कैलाशकुमार पाण्डेय, टेकराज अवस्थी, वरुण पनेरुले सहजीकरण गर्नुहुने रंगुन साहित्य प्रतिष्ठानका अध्यक्ष बद्रीसिंह खत्रीले बताउनुभयो । 

पहिलो पटक गरिन लागेको महोत्सवले डडेलधुरा संस्कृति डोटेली भाषा, नेपाल भारत सम्बन्ध, स्थानीय सरोकारका विषय उठान हुने र परशुराम तीर्थको प्रचारप्रसार तथा महिमा वर्णनमा टेवा पुग्ने उद्देश्यका साथ महोत्सवको आयोजना गरिएको आयोजक समितिले जनाएको छ ।

महोत्सवमा स्थानीय संस्कृतिको प्रदर्शनी गरिने, परशुराम तीर्थलाई सांस्कृतिक पर्यटनको केन्द्र बनाउन प्रेरित हुने विश्वास लिएको संयोजक भवानी अवस्थी बताउनुभयो।