• १२ साउन २०८१, शनिबार

आस्था केसीको ‘जनयुद्धका चिठी’ पुस्तक सार्वजनिक

blog

आस्था केसीको ‘जनयुद्धका चिठी’ नामक पुस्तक सार्वजनिक गर्नुहुँदै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललगायत ।

काठमाडौँ, जेठ ६ गते। साहित्यकार तथा सञ्चारकर्मी आस्था केसीको ‘जनयुद्धका चिठी’ नामक पुस्तक सार्वजनिक भएको छ। 

शनिबार माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा  प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस्तक सार्वजनिक गर्नुभएको हो।

१५ वर्षको उमेरमा माओवादी जनयुद्धमा होमिनुभएकी केसीले जनयुद्धको समयमा आफूले प्राप्त गरेका १५० वटा चिठी सङ्कलन गरेर पुस्तकाकारमा प्रकाशन गर्नुभएको हो।

अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी तत्कालीन गुल्मी जिल्ला अध्यक्ष केसीले गुल्मी जिल्लामा रहेर ६ वर्ष भूमिगत जीवन बिताउनुभएको थियो।

सोही समयमा सहकर्मी योद्धा, घरपरिवार र नेताबाट प्राप्त भएका सर्कुलर, परिपत्र र चिठीलाई पुस्तकमा समेट्नुभएको छ। 

जनसत्ता र राजनीति, निर्देशन र परिपत्र, अजम्मरी हस्ताक्षर, महिला आन्दोलनका आयाम, प्रेमको रङ्गिन अनुभूति, युद्धमोर्चाका आरोह अवरोह, कार्यक्षेत्रको  अनुभूति, आत्मीय मन, जसको प्रेरणाले कठिन बाटोमा सहज बनायो र बाल्यकालका दौँतरी र घरका पत्र गरेर १० भागमा केन्द्रित गरेर प्रकाशन गरिएको पुस्तकमा १५० वटा चिठी समेटिएका छन्। यी चिठीपत्रले तत्कालीन  जनयुद्धमय परिवेश बुझ्न मद्दत गर्नेछ। 

पुस्तक विमोचनमा प्रधानमन्त्री प्रचण्ड र नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केसीलाई बधाई तथा शुभकामना दिनुभयो। यसअघि केसीको  उज्यालोको खोजी गजल सङ्ग्रह प्रकाशित छ।