• १२ साउन २०८१, शनिबार

थारू सङ्ग्रहालयमा सामग्री अपर्याप्त

blog

धनगढी समाचारदाता

धनगढी, जेठ ६ गते । धनगढी उपमहानगरपालिका–७, पटेलास्थित थारू सांस्कृतिक सङ्ग्रहालयमा सङ्गृहीत सामान अपर्याप्त देखिएका छन् । तीन वर्षअघि निर्माण गरिएको सङ्ग्रहालयमा प्रदर्शनीका लागि सामग्री अपर्याप्त देखिएको हो । सङ्ग्रहालयमा थारू समुदायको कला संस्कृति संस्कार, वेशभूषा झल्काउने प्रायः सबै सामग्री हुनुपर्नेमा थोरै सामग्री मात्रै राखिएको अवलोकन गर्न आउनेले बताएका हुन । थारू सङ्ग्रहालयमा धेरै सामग्रीको अभाव देखिएको साहित्यकार सागर कुस्मी सङ्गतले बताउनुभयो ।

सङ्ग्रहालय अवलोकनपछि उहाँले भन्नुभयो, “केही आवश्यक सामग्री भए पनि थारू समुदायलाई चिनाउने धेरै कुरा अझै सङ्ग्रहालयमा छैनन् । थारू भाषाको पत्रपत्रिका, पुस्तक छैन । जे कामका लागि सङ्ग्रहालय बनेको हो, त्यही नै अपूरो देखिएको छ ।”

दुई करोड ५० लाख रुपियाँ लगानीमा २०७८ सालमा सो सङ्ग्रहालयको निर्माण गरिएको थियो । सङ्ग्रहालयको बनावट नै थारू जातिको घरभन्दा बेग्लै रहेको छ । धेरै जसो अवलोकनकर्ताले घरको डिजाइनमै आपत्ति जनाउने गरेका छन् । 

सङ्ग्रहालय बन्नु खुसीको कुरा भए पनि घरको बनावट थारू समुदायको घरभन्दा फरक रहेकाले केही खल्लो महसुस हुने गरेको पटेलावासी लालबहादुर दहितले बताउनुभयो । “दुईतले भवन बने पनि थारू समुदायको घरको डिजाइन हुनु पर्दथ्यो,” उहाँले भन्नुभयो । 

सङ्ग्रहालयमा थारू समुदायका महिला/पुरुषले लगाउने परम्परागत पहिरनलगायत विभिन्न सामग्री राखिएका छन् । धनगढी उपमहानगरपालिका र पटेला गाउँवासीले सङ्कलन गरेर त्यस्ता सामग्री सङ्ग्रहालयमा राखेको जनाइएको छ । 

सङ्ग्रहालयका कर्मचारी धनु देउवाले रानाथारू समुदायको केही कुरा पनि सङ्ग्रहालयमा नराखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “नगर प्रमुखले अब रानाथारू समुदायका सामग्री पनि राख्नु भन्नुभएको छ ।”

बजेट अभावमा आवश्यक सामग्री खरिद गर्न नसकेको उहाँले बताउनुभयो । उपमहानगरपालिकाले यस वर्ष २५ लाख रुपियाँ बजेट विनियोजन गरेको छ । बजेट आएपछि सङ्ग्रहालयका लागि आवश्यक सामग्री खरिद गरिने देउवाले बताउनुभयो ।