• १२ साउन २०८१, शनिबार

भगिनीसम्बन्धले फेरियो विद्यालयको मुहार

blog

रङ्गरोगन गरिएको मावि प्रतापकोटको भवन । तस्बिर : गोकर्ण पौडेल

गोकर्ण पौडेल
तुलसिपुर, जेठ ५ गते । 
तुलसीपुर उपमहानगरपालिकामा रहेका दुई विद्यालयबिचको भगिनी सम्बन्धले विद्यालयको मुहार फेरिएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको माध्यमिक विद्यालय प्रतापकोट र तुलसीपुर ६ मा रहेको गोरखा माध्यमिक विद्यालयबिच २०७५ सालदेखि भगिनी सम्बन्ध जोडिएको थियो ।  भगिनी सम्बन्धपूर्व चुहिने भवन, बिग्रिएका झ्याल, ढोका, फर्निचर अभाव थियो । भगिनीसम्बन्ध कायमपछि गोरखा माविले भवनको मर्मत, रङ्गरोगन, झ्याल, ढोका, कक्षा कोठामा फर्निचरको व्यवस्था गरेको छ ।

साथै त्यहाँ अध्ययनरत विद्यार्थीहरूलाई पोसाक, शैक्षिक सामग्रीसमेत वितरण गर्दै आएको छ । प्रतापकोट माविका प्रधानाध्यापक टेकप्रसाद भण्डारीले भगिनी सम्बन्धका कारण विद्यालयको भौतिक संरचनाका साथै पठन पाठन क्रियाकलापमा समेत सहज हुँदै आएको बताउनुभयो ।

गोरखा माविका एकेडेमी डाइरेक्टर दुर्गा केसीले प्रतापकोट माविबाट एसइई उत्तीर्ण गर्ने विपन्न समुदायका छात्रछात्रालाई निःशुल्क पढाउने निर्णय भएको बताउनुभयो ।