बुटवल समाचारदाता
बुटवल, माघ २२ गते । रुपन्देहीको क्षेत्र नं. ५ का मतदाताले भोट माग्न आउने उम्मेदवारसँग यसअघि जस्तै अहिले पनि सुकुमवासी समस्या समाधानको माग दोहो¥याएका छन् । यसअघिको निर्वाचनमा पनि यस क्षेत्रका मतदाताले सुकुमवासी समस्या समाधान गरी लालपुर्जा दिलाउने उम्मेदवारलाई भोट दिने प्रतिबद्धता जनाएका थिए । मत दिएका उम्मेदवार जितेर गए, फर्केर आएनन् यो अवधिमा समस्या समाधान हुनेभन्दा झन् थपिँदै गएको यहाँका मतदाताको गुनासो छ ।
रुपन्देही–५ का मतदाता भन्छन्, “अहिले फेरि उम्मेदवार जनताको घरदैलोमा आएका छन्, फेरि पनि उम्मेदवारले लालपुर्जा दिने आश्वासन बाँडेका छन् तर हामी भने अब वाचा कबुल गर्नेलाई मात्रै मत दिन्छौँ ।” रुपन्देहीमा सबैभन्दा धेरै सुकुमवासीको बस्ती रहेको क्षेत्र कञ्चन गाउँपालिका हो । यो गाउँपालिका रुपन्देही–५ मा पर्छ । यही पालिकामा मात्रै २० हजारभन्दा बढी सुकुमवासीको सङ्ख्या छ । यो क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार शाहले यहाँको सबैभन्दा ठुलो समस्या सुकुमवासीको रहेको बताउँदै आफू यही एजेन्डा लिएर मतदाताको घरदैलोमा पुगिरहेको बताउनुभयो ।
नेकपा (एमाले) बाट पहिलो पटक खिमलाल भट्टराई उम्मेदवार बन्नुभएको छ । उहाँले मतदाताको सबैभन्दा मुख्य समस्या सुकुमवासी समस्या भन्दै लालपुर्जाको आशा गरेकाले आफू निर्वाचित भए सुकुमवासी समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो । रुपन्देहीको कञ्चन–४, धवलागिरि चोकका रमेश न्यौपानेले आफूहरूले बर्सौंदेखि जोतभोग गरेको जग्गाको लालपुर्जा नपाउँदा ठुलो समस्या भोग्नु परेको बताउनुभयो । रुपन्देही–५ बाट यस पटक कांग्रेसबाट भरतकुमार शाह, एमालेबाट खिमलाल भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट तौफिक अहमद खान, नेपाली कम्युनिस्ट पार्टीबाट मोहम्मद वकिल मुसलमान, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मीनप्रसाद घिमिरेलगायत स्वतन्त्र गरी २५ जना चुनावी प्रतिस्पर्धामा छन् ।ती सबै उम्मेदवारसंग मतदाताले बर्सौं अघिदेखि भोगचलन गरिँदै आएको जग्गाको कानुनी प्रक्रिया पु¥याएर लालपुर्जा दिलाउन पहल गर्न माग गरेका छन् ।
स्थानीय सीताराम पङ्गेनीले जग्गाधनी पुर्जा नहुँदा बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिन नपाइँदा छोराछोरी विदेश पठाउन तथा केही आयआर्जनको काम गर्नसमेत नपाएको गुनासो गर्नुभयो । बर्सौंदेखि भोगचलन गर्दै आएको जग्गाको स्वामित्व नहुँदा गरिबीको समस्या भोग्नु परेकाले तत्काल कानुनी प्रक्रियाबाट जग्गा धनीपुर्जा उपलब्ध गराउनका लागि पहल गर्न सुकुमवासीको माग छ ।