सुदूरपश्चिम, माघ २१ गते । दार्चुला जिल्लाको उत्तरीक्षेत्र तिङ्कर र छाङ्रु क्षेत्रका मतदाताका लागि सदरमुकाम खलङ्गा नजिकको टिङ्करखेडामा भन्ने ठाउँमा मतदान गर्न पाउने व्यवस्था गरिने भएको छ ।
जाडो छल्न बेँसीमा बसाइँसराइ गरेका सो क्षेत्रका मतदाताका लागि उनीहरू बसेकै ठाउँ तिङ्करखेडमा मतदानस्थल र केन्द्रको व्यवस्था गर्न लागिएको निर्वाचन कार्यालयका प्रमुख प्रदीप धामीले जानकारी दिनुभयो ।
धामीले भन्नुभयो, “जाडोयाममा परिवारसहित बेँसीतिर झर्ने गरेका सो क्षेत्रका बासिन्दा वैशाख महिना लागेपछि मात्र तिङ्कर र छाङरु फर्किने गर्छन्, उनीहरू हाल बसेकै ठाउँ महाकाली नगरपालिका–४ खलङ्गा नजिकको तिङ्करखेडामा मतदानस्थल र केन्द्रको व्यवस्था गर्न लागिएको छ ।”
धामीले तिङ्करखेडास्थित व्यास गाउँपालिका–१ का तिङ्कर गाउँका मतदाताका लागि मौतिमैला सङ्घ आधारभूत विद्यालय र छाङ्रु गाउँका मतदाताका लागि कैलाशपति आधारभूत प्राथमिक विद्यालय गरी दुई मतदानस्थलको व्यवस्था गरिएको बताउनुभयो ।
उहाँले थप्नुभयो, “प्रतिकूल मौसमको अवस्थामा गरिएको अनुरोधबमोजिम निर्वाचन आयोगले सो क्षेत्रका बासिन्दा बसेकै ठाउँमा मतदानस्थल र केन्द्रको व्यवस्था गर्न सहमति दिएको छ ।” छाङरु गाउँमा ३७५ र तिङ्करमा २४४ मतदाता छन् । ब्यास गाउँपालिका–१ मा आदिवासी सौका समुदायको बसोबास रहेको छ ।
प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र रहेको दार्चुलामा ९२ हजार ९४८ मतदाता छन् । मतदानका लागि ११२ मतदानस्थल र १४३ मतदान केन्द्र स्थापना गर्न लागिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ११ जना उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । रासस