• २१ माघ २०८२, बुधबार

मुगुमा सरूवा रोगबाट दुई सयभन्दा बढी भेडाबाख्रा मरे

blog

भेडा बाख्रा मरेर चिन्तित बनेका किसानको साङ्केतिक तस्बिर । चित्र : एआई

हरिकृष्ण ऐडी 
मुगु, माघ २१ गते । मुगु जिल्लाको सोरु गाउँपालिका-१० र ११ वडा अन्तर्गतका दई, कोटबाडा, धैन, लोली, तल्लिबाडा, हितबाडा, रोकायाबाडा र कोट गाउँमा पछिल्लो एक महिनादेखि अज्ञात पशुरोग फैलिँदा २०० भन्दा बढी भेडा र बाख्रा मरेका छन् ।

सोरु गाउँपालिका वडा नं १० का कार्यवाहक अध्यक्ष सर्पबहादुर शाहीले भन्नुभयो, “एक महिनादेखि फैलिएको सरुवा रोगबाट भेडा मरेका हुन् भन्ने जानकारी पाएको तीन दिन भयो ।”

यी दुई वडाको मुख्य पेसा नै भेडा र बाख्रापालन भएकाले रोग तीव्र रूपमा फैलिँदै जाँदा स्थानीय गोठालाहरू गम्भीर चिन्तामा परेका छन् । स्थानीय युवा तथा नेपाल किसान महासङ्घ कर्णाली प्रदेशका उपाध्यक्ष रत्नलाल देवकोटाका अनुसार यी दुई वडामा करिब एक हजार ५०० देखि दुई हजारसम्म भेडा र बाख्रा रहेका छन् । उहाँका अनुसार दैनिक रूपमा पशु मर्न थालेपछि गाउँमा त्रासको अवस्था सिर्जना भएको छ ।

संक्रमित पशुमा फोक्सोमा पिप जम्ने, शरीरभरि पानीका फोका देखिने, कपाल सुन्निने, दिसा गनाउने, दुब्लाउँदै जाने, खोकी लाग्ने तथा लुतो लाग्ने जस्ता लक्षण देखिएको गोठालाहरूले जानकारी दिएका छन् ।

स्थानीय भेडा गोठाला रतन मल्लले आफूसँग रहेका ८० भेडामध्ये १० वटा मरेको बताउनुभयो । अर्का गोठाला पुन्न मल्लका अनुसार ६० भेडामध्ये नौवटा रोगका कारण मरेका छन् । त्यस्तै, बाख्रा गोठाला काईचन्द्र देवकोटाले आफूसँग रहेका १५० बाख्रामध्ये २० वटा मरेको जानकारी दिनुभयो ।

यसैगरी, स्थानीय प्रदीप प्याकुरेलका १० वटा, परेकलाल जैसीका ६ वटा र कबे जैसीका सातवटा बाख्रा मरेका छन् । पशु मृत्युदर बढ्दै जाँदा गोठालाहरूको आर्थिक अवस्था थप सङ्कटमा परेको छ ।

संक्रमित पशुमा फोक्सोमा पिप जम्ने, शरीरभरि पानीका फोका देखिने, कपाल सुन्निने, दिसा गनाउने, दुब्लाउँदै जाने, खोकी लाग्ने तथा लुतो लाग्ने जस्ता लक्षण देखिएको गोठालाहरूले जानकारी दिएका छन् । 

स्थानीय बाख्रा गोठाला देवीभक्त प्याकुरेलले भन्नुभयो, “अहिलेको अवस्था इतिहासकै पीडादायी बनेको छ । नजिकै कुनै पशु स्वास्थ्य कार्यालय छैन, सदरमुकाम पुग्न एक दिन लाग्छ । अहिलेसम्म कुनै जाँच भएको छैन, दिनदिनै बाख्रा मरेर नाश भइरहेका छन् ।”

यति ठूलो क्षति हुँदा समेत सोरु गाउँपालिकाको पशु स्वास्थ्य शाखा र जिल्ला पशु सेवा कार्यालय मुगुले घटनाबारे समयमै चासो नलिएको भन्दै स्थानीयवासीले असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले तत्काल पशु चिकित्सकसहितको प्राविधिक टोली परिचालन गरी रोगको पहिचान, नियन्त्रण तथा पीडित किसानलाई राहत उपलब्ध गराउन माग गरेका छन् ।