• २२ माघ २०८२, बिहिबार

रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु

blog

चार वर्षीय बालिकालाई ठक्कर दिने गाडी । तस्बिर सौजन्य – जिल्ला प्रहरी कार्यालय रौतहट

प्रवीणकुमार शर्मा

रौतहट, माघ २२ गते ।रौतहट.२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सगिर आलमको गाडीको ठक्करबाट चार वर्षीय बालिकाको ज्यान गएको छ ।

क्षेत्र नं. २ अन्तर्गत इशनाथ नगरपालिका–४, मठिया टोल स्थित मस्जिद नजिकै खेल्दै गरेको मोहमद सगिरको चार वर्षीय छोरी अल्फा खातुनलाई बा.१५ च. ४२४४ नं.को कारले बिहीबार दिउँसो २ः ३० बजे ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक विष्णु प्रदिप बस्यालले जानकारी दिनुभयो ।

कारको ठक्करबाट घाइते बालिकालाई उपचारको लागि चालकले सिटी अस्पताल गौरमा पुर्‍याई फरार भएको उहाँले जानकारी दिनुभयो ।

घाईते बालिकालाई थप उपचारको लागि प्रादेशिक अस्पताल गौरमा पठाइएकोमा उपचारको क्रममा २ः४५ मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

कारले ठक्कर दिएको समयमा आफू मठिया टोलमै घरदैलोमा रहेको र कारमा चालक् मात्र रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आलमले दावी गर्नु भएको छ ।

चालकको खोजी कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।