• ८ चैत २०८२, आइतबार

मतपत्र छपाइ कार्य तीव्र, ७२ लाख बढी मतपत्र तयार

blog

प्रधानमन्त्री सुशीला कार्की, प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधर, निर्वाचन आयुक्त सगुनसमशेर जबरासहित । तस्बिर : निर्वाचन आयोग

  • २५ जिल्लाको मतपत्र छपाइ र प्याकिङ सम्पन्न 
  • समानुपातिकतर्फका सबै मतपत्र ढुवानीका लागि तयारी अवस्थामा

गोरखापत्र अनलाइन 

काठमाडौँ, माघ २२ गते । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि मतपत्र छपाइको काम तीव्र गतिमा भइरहेको छ । भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रमा दुवै निर्वाचन प्रणालीका लागि मतपत्र छपाइ कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

आजै प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि मतपत्र छपाइको प्रगतिबारे जानकारी लिनुभएको छ ।

प्रधानमन्त्री कार्कीले आज जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा अवलोकन निरीक्षण गरी मतपत्र छपाइबारे जानकारी लिनुभएको हो । 

 गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हा, प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधर, निर्वाचन आयुक्त सगुनसमशेर जबरासहित निर्वाचन आयोगका पदाधिकारी पनि साथमा हुनुहुन्थ्यो।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीहरुमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको बताउनुभएको छ ।

बिहीवार मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी यस्तो बताउनुभएको हो । 

उहाँले केही उम्मेदवारविरुद्ध आचारसंहिता उल्लङ्घनको उजुरी आयोगमा परेको उल्लेख गर्दै उजुरीउपर आवश्यक अनुसन्धान गर्ने कार्य भइरहेको बताउनु भयो । उम्मेदवारहरुले स्पष्टिकरण बुझाउने कार्य जारी रहेको भन्दै उहाँले प्राप्त उजुरीको अध्ययनपछि आयोगले आवश्यक निर्णय लिने उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, ‘‘आचारसंहिता हामीले कडाईका साथ लागु गरेका छौँ । त्यसको पालना भयो कि भएन भनेर हामी अनुगमन पनि गरिरहेका छौँ । केही उम्मेदवारहरुविरुद्ध उजुरी पनि आएको छ । हामीले उहाँहरुलाई स्पष्टिकरण समेत सोधेका छौँ । केहीले स्पष्टिकरण पठाउनुभएको छ । र केही आउने क्रममा छन् । स्पष्टिकरण आइसकेपछि त्यसको अध्ययनको आधारमा आवश्यक निर्णय गर्छौँ । निर्वाचनको तयारी तिव्र गतिमा भइरहेको छ । सञ्चारमाध्यमहरुले समेत पक्ष र विपक्षभन्दा पनि निष्पक्ष सामग्रि बनाइदिन आग्रह गर्न चाहान्छु । तोकिएको मिति र समयमै निर्वाचन हुन्छ ।’

आयोगका अनुसार, पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणालीका लागि पुस २२ गतेदेखि सुरु भएको नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको छ । १० लाख ९८ हजार २०० थान नमुना मतपत्र छपाइ गरी विभिन्न जिल्लामा पठाइसकिएको छ ।

त्यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि आवश्यक पर्ने दुई करोड आठ लाख ३० हजार थान मतपत्रको छपाइ माघ १३ गते नै सम्पन्न भएको छ । ती मतपत्रहरूको रुजु र प्याकिङ कार्य सकिएर हाल ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ आवश्यक पर्ने दुई करोड तीन लाख २३ हजार मतपत्रमध्ये माघ २२ गते बिहान ८ बजेसम्म ७२ लाख ६० हजार थान छपाइ भइसकेको छ । हालसम्म ५ हजार ८२५ बाकस मतपत्र प्याकिङ भइसकेको आयोगको विवरणमा उल्लेख छ ।

हालसम्म डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा र सुनसरी गरी २५ जिल्लाको मतपत्र छपाइ तथा प्याकिङको काम सकिएको छ । माघ २२ गते बिहानसम्म कुल ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ कार्य सम्पन्न भइसकेको छ ।