काबुल, माघ २२ गते । संयुक्त अरब इमिरेट्स (यूएई) र पाकिस्तानको जेलबाट २६१ जना अफगान कैदी कैद मुक्त भई स्वदेश फिर्ता भएको जनाइएको छ । संयुक्त अरब इमिरेट्समा अफगानिस्तानको दूतावासको निरन्तर कूटनीतिक प्रयासको परिणाम स्वरूप एमिराटी अधिकारीले करिब १०८ जना अफगान बन्दीलाई रिहा गरेको विदेश मन्त्रालयले विज्ञप्ति मार्फत् जनाएको छ ।
यो रिहाई युएईको राष्ट्रिय दिवसको अवसरमा गरिएको जनाइएको छ भने केही कैदी यस अघि नै फर्केका थिए बाँकी कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फिर्तीको तयारीमा छन् । शरणार्थी र स्वदेश फिर्ती मन्त्रालयले विभिन्न पाकिस्तानी सहरमा बन्दी बनाइएका १५३ अफगानलाई रिहा गरी दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा पार गरेर अफगानिस्तानमा सुरक्षित रूपमा फिर्ता गरिएको घोषणा गरेको छ ।
केही महिना अघि विदेश मन्त्रालयले दश हजार भन्दा बढी अफगानी नागरिक विदेशमा कैदी जिवन विताई रहेका बताइएको छ ती मध्ये अधिकाशं इरान र पाकिस्तानमा रहेको जनाइएको छ । रासस/क्युएनए