सिराज खान
नेपालगन्ज, माघ २२ गते । पश्चिम नेपालका विपन्न र गरिब बिरामीको आशा र भरोसाको केन्द्र नेपालगन्जस्थित भेरी अस्पतालमा क्यान्सर लगायतका रोगको पहिचान गर्ने 'हिस्टोप्याथोलोजी' सेवा विस्तार गरिएको छ ।
शरीरको कुनै भागबाट सानो मासु (स्पेसिमेन) निकालेर माइक्रोस्कोपको माध्यमबाट रोग छ कि छैन भनेर जाँच गर्ने प्रक्रियालाई 'हिस्टोप्याथोलोजी' भनिन्छ ।
यसबाट क्यान्सर वा अन्य रोगहरूको समयमै पहिचान गर्न सकिने र सोही कारणले उपचार समेत सहज हुने भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले बताउनुभयो । उहाँले अस्पतालमा यो सेवा सुरु भएपछि अब यस क्षेत्रमा क्यान्सर लगायत विभिन्न रोगको पहिचानका लागि नमुना बाहिर पठाउनु पर्ने र लामो समयमा रिपोर्ट आउने समस्या हट्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘ढिलै भएपनि अतिनै महत्त्वपूर्ण यो सेवा सुरु गर्न सफल भएका छौं । यसले रोग निदानमा महत्त्वपूर्ण उपलब्धि दिने हाम्रो अपेक्षा छ ।’
भेरी अस्पतालका प्याथोलोजी विभाग प्रमुख डा. शर्मिला गुप्ताले हिस्टोप्याथोलोजी सेवा विस्तार गरिएपछि क्यान्सर, टी.बी., अटो–इम्युन, मिर्गौला, पेट, कलेजो लगायतका दीर्घकालीन रोगहरूको प्रकार पहिचान गर्न महत्त्वपूर्ण सहयोग पुर्याउने बताउनुभयो ।
उहाँका अनुसार हिस्टोप्याथोलोजीले शरीरबाट निकालिएका अङ्गहरू जस्तै एपेन्डिस, पित्तथैली, प्रोस्टेट आदि रोगग्रस्त छन् कि छैनन् भन्ने कुराको पनि पत्ता लगाउन सकिन्छ । हिस्टोप्याथोलोजी सेवा सुरु भएसँगै प्याथोलोजी विभागले पूर्णता प्राप्त गरेको डा. गुप्ताको भनाइ छ ।
यसबाट क्यान्सर जस्ता गम्भीर रोग पत्ता लगाउन, रोगको प्रकार र अवस्था बुझ्न, रोग कति फैलिएको छ भन्ने थाहा पाउन र उचित उपचार गर्न सहज हुने अस्पतालले जनाएको छ ।
भेरी अस्पतालका कन्सल्टेन्ट प्याथोलोजिस्ट डा. सुरेशमान श्रेष्ठका अनुसार, हाल भेरी अस्पतालमा हिस्टोप्याथोलोजीका आधारभूत सेवाहरू सञ्चालन भएका छन् । आगामी दिनमा स्तरीय स्टेनिङ र इम्युनोहिस्टोकेमिस्ट्री जस्ता सेवा थपिने छन् । पश्चिम नेपालकै पुरानो र सङ्घीय अस्पतालहरू मध्ये एक भेरी अस्पतालमा ढिलो भए पनि यो सेवा सुरु भएपछि यस क्षेत्रका बिरामीहरूलाई ठुलो राहत पुगेको अस्पताल विकास समितिका सदस्य डा. डक्टप्रसाद धितालले बताउनुभयो ।
केही दिनमै बोन म्यारो एस्पिरेसन (हड्डी भित्रको मासु निकालेर जाँच गर्ने प्रक्रिया) सेवा पनि सुरु गरिने गरि तयारी अगाडि बढाइएको अस्पतालले जनाएको छ ।