• १७ असार २०८१, सोमबार

बारामा २९६ मध्ये ३७ हतियार मात्रै बुझाइयो

blog

शिवशङ्कर मिश्र
बारा, वैशाख ९ गते ।
जिल्ला प्रशासन कार्यालय बारा, कलैयाबाट इजाजत लिइएका हतियार बुझाउन गरेको आग्रहलाई बेवास्ता गरेको पाइएकोे छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले अहिलेसम्म जिल्लाको विभिन्न ठाउँबाट ३७ वटा हतियार मात्रै बुझाइएकोे जानकारी दिनुभयो ।

जिल्लामा २९६ जनाले इजाजत प्राप्त हतियार राख्ने अनुमति लिएका जिल्ला प्रशासन कार्यालय बाराको प्रशासन फाँटका नायब सुब्बा रतन स्याङ्तानले बताउनुभयो । इजाजत लिएका ती हतियार प्रायः सबै एक नाले र दुईनाले बाह्र बोरको हो ।

स्थानीय तहको निर्वाचन भरपर्दो र विश्वसनीय सुरक्षित बनाउन केन्द्रीय सुरक्षा समितिको निर्देशन तथा जिल्ला सुरक्षा समितिको निर्णय अनुसार ती हतियार चैत मसान्तभित्र जिल्ला प्रहरी कार्यालय वा प्रहरी युनिटको कार्यालयमा बुझाउन तथा निर्वाचन सकिए फिर्ता दिने सूचना जारी गरिएको थियो ।

इजाजतप्राप्त हतियार जिल्ला प्रहरी कार्यालय तथा आ–आफ्नो नजिकको प्रहरी एकाइमा सुरक्षित राखिने र निर्वाचन सम्पन्न भएपछि फिर्ता दिइने जनाइएको थियो ।

बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले तोकेको समयसीमा भित्र हतियार राख्नेहरुले नबुझाएको विवरण अनुसार जिल्लामा निर्वाचनको बेला कुनै अप्रिय घटना भए उनीहरुमाथि नै सबै दोष लगाउनुको साथै हातहतियार सम्बन्धी मुद्दा लगाउने जानकारी दिनुभयो ।

निर्वाचनलाई भयरहित बनाउन निजी सुरक्षाको लागि अनुमति लिएकाहरुले निर्धारित समयभित्र हतियार नबुझाउँदा उनीहरुको खोजतलास गरी कानुन बमोजिम कारबाही गरिने उहाँले बताउनुभयो ।