• १२ असार २०८१, बुधबार

टिङ्करमा सडक बनाउन मेसिन ओसार्दै सेना, छाङरुमा क्याम्प राख्ने तयारी

blog

दार्चुला–टिङ्कर सडक निर्माणमा प्रयोग गरिने ठूला मेसिन ओसार्दै सेनाको हेलिकोप्टर । फोटो : नेपाली सेना

लोकेन्द्र जोशी
दार्चुला, वैशाख ९ गते ।
दार्चुला–टिङ्कर सडक निर्माणमा प्रयोग गरिने ठूला मेसिन (हेभी इक्वभमेन्ट) नेपाली सेनाको हेलिकोप्टरले ढुवानी गरिरहेको छ । बुधबार दार्चुला आएको हेलिकोप्टरले व्यास गाउँपालिकाको सदरमुकाम सुन्सेराबाट व्यास गाउँपालिका–२ दुम्लिङमा मेसिनहरु ओसार्ने काम गरिरहेको हो ।

मेसिनहरु लैजान सडक नभएपछि हेलिकोप्टरले सडक निर्माणमा प्रयोग हुने मेसिनहरु स्काईभेटर, ब्याकोलोडर, कम्प्रेसरका पार्टहरु ढुवानी गर्दैछ । मेसिनका स–साना पार्टहरु भित्र राखेर ओसारी रहेको छ भने ठूला पार्टहरु झुण्ड्याएर सरिरहेको छ । निर्माण सामग्री ढुवानी गर्नुअघि विहीबार सुरक्षा अधिकारीहरुले सडकको हवाई निरीक्षण गरेका थिए । सेनाले निर्माण गरिरहेको सडकको प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय, नेपाली सेनाका प्राविधिक महासेनानी इन्दिवर गुरुङ, विकास निर्माण कार्यदल २ नम्बर गण दार्चुलाका गणपति रमेश गुरुङ, सशस्त्र प्रहरी बल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति त्रिभुवन विष्ट, राष्ट्रिय अनुसन्धान अधिकृत महेशप्रसाद अवस्थी, गुरु गोरख गुल्मका गुल्मपति कृष्णचन्द्र ठकुल्ला, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक धुव्र विष्टलगायतको टोलीले स्थलगत अनुगमन निरीक्षण गरेको हो ।

नेपाल सरकारले दार्चुला–टिङ्कर सडकखण्ड अन्तर्गत व्यास गाउँपालिकाको कोठेधारदेखि टिङ्करसम्मको ७३.२ किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको छ । नेपाली सेनाले अहिले पाँच ठाउँबाट सडक निर्माणको काम गरिरहेको जनाएको छ । व्यास गाउँपालिकाको तल्लो दुम्लिङ, फुलचिम, कोठेधार र मालबाट सडक निर्माणको काम गरिरहेको सेनाका विकास निर्माण कार्यदल २ नम्बर गण दार्चुलाका गणपति रमेश गुरुङले जानकारी दिनुभयो । चालु आर्थिक वर्ष २०७८÷०७९ मा सात किलोमिटर सडक निर्माण गर्ने लक्ष्य लिएको नेपाली सेनाले अहिलेसम्म तीन किलोमिटर सडक निर्माण गरिसकेको जनाइएको छ । सडक निर्माणका लागि चालु आर्थिक वर्षमा सेनालाई २२ करोड ५० लाख बजेट प्राप्त भएको छ ।

यसैगरी, दार्चुला–टिङ्कर सडकको निर्माणका लागि सेनाले व्यास गाउँपालिका–१ छाङरुमा क्याम्प राख्ने तयारी गरेको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले व्यास गाउँपालिका–२ कोठेधारमा सडक निर्माण भइरहेको र माथिबाट पनि सडक निर्माण गर्न छाङरुमा सेनाको क्याम्प स्थापना हुन लागेको जानकारी दिनुभयो । क्याम्प स्थापना हुने ठाउँको सेना र जिल्ला सुरक्षा समितिले हेलिकोप्टरमार्फत छाङरु पुगेर अनुगमन गरेको छ । साथै सेनाले निर्माण गरिरहेको सडकको समेत हवाई अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयो ।

सेनाले दार्चुला–टिङ्कर सडकको निर्माणका लागि गत आर्थिक वर्षमा नै सुन्सेरा र दुम्लीङमा क्याम्प स्थापना गरेको थियो । केपी ओली नेतृत्वको सरकारले कोठेधारदेखि टिङ्करसम्म ८७ किलोमिटर सडक निर्माणको जिम्मा सेनालाई दिएको थियो । वर्तमान सरकारले तुसरपानीदेखि कोठेधारसम्म थप चार किलोमिटर सडक निर्माणको जिम्मा पनि सेनालाई दिएको छ । कोठेधार–टिङ्कर सडकको नयाँ डिपिआर गरि सेनाले सडक निर्माण गरिहेको छ । सरकारले सेनालाई जिम्मा दिँदा ८७ किलोमिटर डिपिआरको कोठेधार–टिङ्कर सडकको जिम्मा दिएको भए पनि सेनाले घुम्तीहरु घटाएर तथा कुनै ठाउँमा मार्ग परिवर्तन गरेर कोठेधारदेखि टिङ्करसम्म ७४ किलोमिटरको नयाँ डिपिआर गरि सडक निर्माण गरिरहेको छ ।

तुसरपानीको फतङगाडबाट सेनाले सडक निर्माण गर्ने भएकाले व्यास गाउँपालिका–३ तुसारपानीमा वर्षादका कारण अवरुद्ध भएको सडक मर्मत गरिँदैछ । सडक अवरुद्ध हुदाँ सेनालाई फतङगाडसम्म निर्माण क्षेत्रमा सामग्री ढुवानी गर्न समस्या भइरहेकाले दार्चुला–टिङ्कर सडक आयोजनाले सडक सफा गर्ने काम गरिरहेको छ । तुसरपानी गाउँको तल्लो क्षेत्रमा स्थानीयहरुले पहिरो खसेको भन्दै सडक खुलाउन विवाद गरेपछि रिठिङगाड नदिको मार्ग भएर सडक खुलाउने काम भइरहेका बताइएको छ ।