• ७ जेठ २०८१, सोमबार

आमा दिवस अर्थात् ‘आमाको मुख हेर्ने’

blog

काठमाडौँ, वैशाख २७ गते । आमा भएर बोकी हेर सन्तानका खुसीहरू... 

कला, सङ्गीत र साहित्यका विविध विधामा आमासम्बन्धी चर्चा धेरै नै हुने गरेको पाइन्छ । सामाजिक संस्कृतिकै रूपमा नेपाली समाजमा आमाको मुख हेर्ने पर्व धुमधामसाथ मनाइँदै आएको छ । 

मातातीर्थ औँसी अर्थात् जन्म दिने आमाको विशेष सम्झना, आदर र सम्मान गर्ने पर्वका रूपमा नेपाली समाजका बुधबार धुमधामसाथ मनाइयो । मातातीर्थ औँसीमा छोराछोरीले मिठा परिकार र नयाँ कपडालगायत उपहार आमालाई दिएर मुख हेर्ने चलन रहेको छ । 

रोजगारीका सिलसिलामा घर बाहिर रहने छोराछोरीले अझ विशेष रूपमा मनाउन थालिएको पाइन्छ । सामाजिक सञ्जालमा तस्बिर, भिडियो राखेरसमेत नेपालीले आमाको मुख हेर्ने दिनलाई मनाइएको पाइन्छ । समाजसेवी ममता अधिकारीका अनुसार आधुनिक समयमा यस पर्वको महत्व अझ बढेको छ । 

मातातीर्थ औँसी भड्किलो हुँदै गएको छ । आमाप्रति गरिने सद्भाव र सम्मानभन्दा देखावटी गर्ने र सामानका पोका घरमा लैजाने प्रवृत्ति बढेको छ । आमा नहुनेले काठमाडौँको मातातीर्थमा विशेष रूपमा पितृ माताको सम्झना गर्ने गर्छन् ।

विश्वमा मातृ दिवस

आमाको सम्मान गर्ने परम्परा विश्वका विभिन्न देशमा पाइन्छ । कतिपय देशमा ‘मदर्स डे’ मनाउनका लागि बिदा नै दिने चलन छ । चीन, भारत, ग्रिस, इरान, जापान, मेक्सिको, बोलिभिया, थाइल्यान्ड, रुमानिया, अमेरिका, क्यानडा, ब्रिटेन, आयरल्यान्ड, भियतनाम सबैतिर आमा पर्व मनाउने चलन रहेको छ । मातृ पूजाको यो रीति यसरी व्यापक रहेको प्रस्ट देख्न सकिन्छ । प्राचीन रोममा मातालाई उपहार दिएर ‘जुनो’ देवतालाई समर्पित यो दिन छुट्टीका साथ मनाउने गरिन्छ । युरोपमा खास गरी ब्रिटेनमा आइतबारका दिन आमालाई सम्मान गर्ने गरिन्छ र त्यस दिनलाई ‘मदरिङ सन्डे’ भन्ने गरिन्छ । यो मातृ दिवस कतिपय देशमा आमालाई सम्मान दिएर आठ मार्चका दिन पनि मनाउने चलन छ, जुन दिन अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस पर्दछ । 

अमेरिकामा ‘मदर्स डे प्रोक्लामेसन’ सबैभन्दा पहिला जुलिया वार्ड होवेले गर्नुभएको थियो । उहाँले १८७० मा रचना गरेका ‘मदर्स डे प्रोक्लामेसन’ मा अमेरिकी गृहयुद्ध र फ्रान्को–प्रसियन युद्धमा भएका मारकाटमा जुन शान्तिवादी प्रतिक्रिया लेखिएको थियो । त्यसमा महिलाद्वारा समाजलाई नयाँ मोड दिने दायित्व मिल्ने कुरा उल्लेख थियो । 

चीनमा पनि यो मातृ दिवस निकै लोकप्रिय हुँदै गएको र यस दिन गरिब आमाको मद्दतका लागि उनीहरूको स्मरण र सम्मान गर्न छुट्टी दिने चलन रहेको छ । चीनमा यसलाई ‘मदर फेस्टिभल’ अर्थात् माता पर्वका रूपमा मनाउने मान्यता दिइएको छ । यस दिन जीवित आमालाई मिठो खान लाउन दिई सम्मान गरिन्छ । दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्डदान र श्राद्ध गरी सम्झना गरिन्छ । यस दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले तृप्ति पाउने शास्त्रमा उल्लेख छ ।