• १३ साउन २०८१, आइतबार

काँग्रेस बैठक आज

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख ९ गते । नेपाली काँग्रेसले स्थानीय तहका उम्मेदवार तय गर्नका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । नेपाली काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबार जारी गर्नुभएको विज्ञप्तिअनुसार केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । 

स्थानीय तहको निर्वाचनमा उम्मेदवारी चयनको विषयमा बैठक केन्द्रित रहने जनाइएको छ । बैठकमा समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहनेछ ।  यसैबीच नेपाली काँग्रेसका उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले केन्द्रीय परिचालन समितिअन्तर्गत गठित उपसमितिहरूमा संयोजक मनोनयन गर्नुभएको छ । 

स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको वैशाख २ गतेको बैठकको निर्णयअनुसार केन्द्रीय सदस्यहरूलाई मनोनयन गरिएका संयोजकहरूमा मनोनीत गर्नुभएको हो ।मनोनीत संयोजकहरूमा भ्रातृ सङ्घ समन्वय एवं परिचालन उपसमितिमा सुरेन्द्रराज पाण्डे, आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमितिमा मीनबहादुर विश्वकर्मा, मूल्याङ्कन तथा सुपरिवेक्षण उपसमितिमा प्रदीप पौडेल, अनुगमन, शुभेच्छुक संस्था समन्वय एवं परिचालन उपसमितिमा मदनबहादुर अमात्य, विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिमा उदयशमशेर राणा, जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिमा जितजङ्ग बस्नेत र निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिमा रामहरि खतिवडा हुनुहुन्छ ।