• ७ मंसिर २०८१, शुक्रबार

पाँच सयलाई रोजगारी

blog

मालिका ग्रुप एन्ड होल्डिङ कम्पनी र त्यसका सञ्चालक टीकाराम जैसीको व्यावसायिक इतिहास लामो छैन । २०५६ सालमा सिमेन्टको टायल बनाएर सुरु भएको व्यावसायिक यात्रामा २०५८ सालमा एके ट्रेडर्स दर्ता गरेर खाद्यान्न र मलको कारोबार थपियो । २०६० सालमा सिमेन्ट सरिया बिक्री, २०६७ मा धनगढीस्थित रोशनी इन्टरप्राइजेजबाट एसिई ब्रान्डको ट्याक्टर, मोटरसाइकल, सिमेन्ट, छड, कर्कटपाताको व्यापार, २०७६ सालमा वीरगन्जबाट तार ल्याएर लम्कीचुहा नगरपालिकाको गुलरामा मालिका तारजाली उद्योग सञ्चालनमा किला र ग्याबिन बनाउने काम सुरु भएको थियो । बजारको माग बुझ्दा उद्योग नै चल्ने सम्भावना देखिएपछि २०७७ मा जिआई प्लान्ट स्थापना र २०७९ सालबाट मालिका स्टिल र मालिका तारजाली उद्योग एकै ठाउँबाट सञ्चालनमा ल्याउनुभएको छ । 

२०६१ सालमा नेपालगन्जमा सिमेन्ट सरियाको व्यापार, २०६२ सालमा काठमाडौँको अनामनगरमा चामल, तोरीलगायतको किराना पसल, २०६४ मा पथरैयामा आरएस सः (काठ) मिल, कुलेश्वर काठमाडौँमा तोरी तेल बेच्ने व्यवसाय भने समय अभावमा बन्द गर्नुभयो ।

मालिका ग्रुप एन्ड होल्डिङ अन्तर्गत मालिका स्टिल, मालिका तारजाली उद्योगका साथै विभिन्न जिल्लामा पाँच वटा शाखा भएको रोशनी इन्टरप्राइजेज, कैलालीका विभिन्न बजारमा नौ वटा शाखा रहेको एके ट्रेडर्स, मालिका इन्भेस्टमेन्ट कम्पनी, मालिका इन्कर्पोरेट, मालिका इलेक्ट्रोनिक्स काठमाडौँ, ग्यालेक्सी रेस्टुरेन्ट धनगढी सञ्चालनमा छन् । कुनै कुनै कम्पनीमा पाँच देखि २० प्रतिशतसम्म अन्य व्यक्तिलाई साझेदार बनाए पनि ८० प्रतिशत लगानी र सम्पत्ति जैसी एक्लैको रहेको छ । छ वटा कम्पनीको आफ्नै घरजग्गा छन् । स्टिल उद्योगको जग्गा मात्रै साढे चार बिघा छ ।

दुई अर्बको उद्योग

मालिका ग्रुप एन्ड होल्डिङ कम्पनीको सबैभन्दा कान्छो उद्योगका रूपमा मालिका स्टिल र मालिका तारजाली उद्योग हुन् । यी दुवै उद्योग सुदूरपश्चिमको जानकी गाउँपालिका–८, पहाडीपुरमा छन् । पूर्वबाट पश्चिमसम्म तारजाली पु¥याउन भाडा नै महँगो पर्ने तर पश्चिममा नै उत्पादन गरे बजार पाइने भएकाले मालिका स्टिल र मालिका तारजाली उद्योग खुलेका हुन् । मालिका स्टिलले चीन, मलेसिया, इन्डोनेसिया, भारतबाट कच्चा पदार्थ ल्याई तीन वटा मेसिन प्रयोग गरेर तारलाई ग्याल्बनाइज गरी कोटेड र अनकोडेड तार बनाउँछ भने मालिका तारजाली उद्योगका २० प्रकारका ग्याबिन बक्स, २० प्रकारका चेन लिङ्क (एयरपोर्ट, सरकारी कार्यालयको पर्खालका रूपमा प्रयोग हुने तार), सात एमएमसम्मका सरिया, काँडेतार, वाइडिङ तार, किला गरी १० प्रकारका उत्पादन छन् । स्टील उद्योगमा जग्गा उपकरण खरिदमा एक अर्ब, सञ्चालन खर्च ५० करोड रुपियाँ छ भने तारजाली उद्योगमा ५० करोड रुपियाँ लगानी भएको छ । यस उद्योगले दैनिक ४० टन तारजालीलगायतका सामग्री उत्पादन गर्छ । उत्पादन हुने र बेच्ने सिजन माघदेखि असार भएकाले उद्योग परिसर भरिभराउ छ । यसको उत्पादन सुदूरपश्चिम, कर्णाली प्रदेशका सबै जिल्ला र लुम्बिनी प्रदेशका बाँके र बर्दियामा पुग्ने गरेको छ । उत्पादन अनुसार पारिश्रमिक पाइने भएकाले कामदारले काम गरे/नगरेको निगरानी गर्नु पर्दैन, राम्ररी काम गर्ने कामदार १२ घण्टाको दुई हजार रुपियाँसम्म कमाउँछन् । उद्योगमा ७५ प्रतिशत कामदार नेपाली छन् ।

सामाजिक उत्तरदायित्व

मालिका गु्रप एन्ड होल्डिङ्सले सामाजिक उत्तरदायित्व अन्तर्गत स्टिल उद्योगबाट उत्पादन हुने रसायनमा आवश्यक अन्य रसायन मिलाएर ट्वाइलेट क्लिनर र अन्य क्लिनर उत्पादन गरिरहेको छ । क्लीनर बिक्रीबाट आएको आम्दानीले खर्च कटाई बाँकी मालिका कृपा फाउन्डेसनका नामबाट सामाजिक क्षेत्रमा खर्च गर्ने गरिएको छ । एक वर्षअघि मात्रै स्थापना भएको फाउन्डेसनले स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ । विपन्न बालबालिकालाई शिक्षामा सहयोग गर्न थालेको छ ।

टीकापुरस्थित १८ बिघाको हवाई मैदान मुक्त कमैयाको कब्जामा थियो । त्यहाँ चार सय जति मुक्त कमैया टहरा बनाएर बसेका थिए । टीकापुर विमानस्थल अध्ययन सञ्चालन तथा व्यवस्थापन गर्न २०६६ सालमा नागरिक तहबाट एउटा समिति बन्यो । यसको संयोजकको भूमिका जैसीले गर्नुभएको थियो । यो समितिले पहल गरी हवाई मैदानमा रहेका मुक्त कमैयालाई नगर विकासको जग्गामा पुनस्र्थापना गरी सोबापत नगर विकासले सरकारबाट छ करोड रुपियाँ पाएको थियो भने हवाई मैदान खाली भई व्यवस्थित र सुरक्षित भएको छ । यद्यपि धावनमार्ग कम भएकाले ठुला जहाज बस्न नसक्दा पुरानै अवस्थामा सञ्चालनमा आउन सकेको छैन । भारतको नैमिसारन्यदेखि चीनको मानसरोवर जाने मार्गका रूपमा रहेको टीकापुरलाई विश्वनाथधामका रूपमा विकास गर्ने धार्मिक पर्यटन प्रवर्धन गरी टीकापुर क्षेत्रको विकास गर्ने अभियान थाल्नुभएको छ । हिन्दु धर्मावलम्बीका लागि महाकुम्भ र धामको महत्व भएकाले अहिलेका स्थापित धामहरू र त्यहाँ भइरहेका महाकुम्भ, कुम्भ मेलाहरूलाई सकेसम्म नछुटाई अवलोकन गरिरहेको जैसी बताउनुहुन्छ । 

Author

एकिन्द्र तिमिल्सेना