• ६ जेठ २०८१, आइतबार

लगानी सम्मेलनले जगाएको भरोसा

blog

काठमाडौँ, वैशाख २४ गते । राजनीतिक स्थायित्व र आर्थिक रूपान्तरणका लागि पहल भइरहँदा सरकारले तेस्रो लगानी सम्मेलनमार्फत वैश्विक लगानी भित्र्याउन र समृद्धिको आधारशिला तयार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नेपालको संविधान जारी भएपछि आर्थिक रूपान्तरणतर्फ अघि बढ्ने प्रयत्न गरिरहँदा कोभिड–१९ को वैश्विक महामारीले आक्रान्त पारेको अर्थतन्त्र क्रमशः सही दिशामा अघि बढिरहँदा सरकारले आर्थिक समुन्नतिका पक्षमा नवीन अध्याय आरम्भ गर्ने अठोट लगानी सम्मेलनमार्फत प्रस्तुत गरेको हो । 

लगानीको वातावरण तयार गर्न कानुन संशोधन र निजी क्षेत्रलाई सँगसँगै लैजान सरकार अग्रसर हुँदा तेस्रो लगानी सम्मेलनले नेपालको निजी क्षेत्रमा उत्साह भरेको हो । विश्वभरका लगानीकर्तासँगको बृहत् साक्षात्कारले नेपालको निजी क्षेत्रले अन्तर्राष्ट्रिय लगानीकर्तासँग साझेदारीको नयाँ अध्याय सुरु गराएको टिप्पणी नेपालको निजी क्षेत्रले गरेको छ ।

यही वैशाख १६ र १७ गते काठमाडौँमा लगानी बोर्डले आयोजना गरेको नेपाल लगानी सम्मेलनले विश्व परिवेशमा नेपाल लगानीको अनुकूल गन्तव्य रहेको सन्देश गएको निजी क्षेत्रको निष्कर्ष छ । नेपालमा लगानी आकर्षित गर्न राज्य संयन्त्रले गरेको पूर्वतयारी, सबै राजनीतिक दलले जनाएको एकताबद्ध प्रतिबद्धताले आगामी दिनमा नेपालमा वैदेशिक लगानीलाई सहज बनाउन र स्वदेशी निजी क्षेत्रसँगको साझेदारी विस्तार गर्न उल्लेख्य अवसर सिर्जना गरेको ठहर उहाँहरूको छ । 

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले समग्रमा लगानी सम्मेलनले अत्यन्तै सकारात्मक सन्देश प्रवाह गरेको बताउनुभयो । “नेपालमा वैदेशिक लगानी आकर्षित गर्ने र नेपालका निजी क्षेत्रलाई साझेदारका रूपमा स्थापित गराउन सम्मेलनका क्रममा भएका प्रयासले हामीलाई उत्साहित बनाएको छ,” उहाँले भन्नुभयो, “सम्मेलनको पूर्वसन्ध्यामा भएको कानुनी संशोधन, सबै दलका नेताले लिएको अपनत्व र लगानीप्रतिको प्रतिबद्धता, सम्मेलनमा भाग लिन आएका प्रतिष्ठित लगानीकर्ता निकायहरूमा भरिएको प्रतिबद्धता वास्तममै ठुला उपलब्धि हुन् ।”

सम्मेलनलाई दीर्घकालीन महत्वको अवसरका रूपमा स्थापित गर्ने ध्येयसहित नै नेपालको निजी क्षेत्रका प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कर्मसले पहिलो पटक सहआयोजककै हैसियतमा भूमिका निर्वाह गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री वर्षमान पुन र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी आफैँ लगानीकर्तासँग साक्षात्कारमा बसेर उनीहरूका जिज्ञासा सम्बोधन गर्ने र राज्यस्तरबाट लगानी सुरक्षा तथा सहजताको प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । यस्तै स्वदेशी र विदेशी लगानीकर्ताबिचका ‘बिटुबी मिटिङ’ ले सोकेसमा राखिएका परियोजनाबाहेकका निजी प्रतिष्ठानका लगानी परियोजनाबारे बृहत् छलफल भएको थियो । यसले पनि निजी क्षेत्रलाई थप हौसला प्रदान गरेको छ । 

नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल लगानी सम्मेलन सरकारी परियोजनाका लागि मात्र नभएर स्वदेशी निजी क्षेत्रका आयोजनामा साझेदारीबारे छलफल भयो । “लगानी सम्मेलनले सरकार निजी क्षेत्रमैत्री छ भन्ने सन्देश प्रवाह गरेको छ । यसले स्वदेशी र विदेशी निजी क्षेत्रमा उत्साह भरेको छ,” उहाँले भन्नुभयो, “तर यसैलाई नै उपलब्धि भने मान्नु हुन्न । यो अवसरको ढोका खोलेको मात्र हो, अवसरलाई उपलब्धिमा रूपान्तरण गर्न थप मेहनत गर्नै पर्छ ।” 

सम्मेलनमा सरकारी अधिकारी तथा राजनीतिक नेतृत्वले मात्र होइन निजी क्षेत्र आफैँले विदेशी साझेदार भित्र्याउन प्रत्यक्ष संवादमा बस्ने अवसर पाए । करिब ५५ मुलुकका लगानीकर्तामाझ लगानी सम्मेलनको थिम इमर्जिङ नेपालको चरित्र र सबलतालाई प्रस्तुत गर्न पाए । 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले भन्नुभयो, “हामीसँग ५७ प्रतिशत जनसङ्ख्या त श्रम गर्न सक्ने उमेरको छ । श्रम लागत सस्तो छ । हरित अर्थतन्त्र निर्माणको नेतृत्व गर्न सक्ने गरी नेपालमा लगानी ल्याउने र नेपालले उनीहरूसँग साझेदारी गर्ने अवसर आएको छ ।”