• २० कात्तिक २०८२, बिहिबार

अफगानिस्तानमा अफिम खेती २० प्रतिशतले घट्यो : राष्ट्रसङ्घ

blog

काबुल, कात्तिक २० गते । अफगानिस्तानमा सन् २०२५ मा अफिम खेती २० प्रतिशतले घटेको संयुक्त राष्ट्रसङ्घले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसैसँगै उक्त निकायले सिन्थेटिक औषधी उत्पादन र तस्करीमा एकैसाथ तीव्र वृद्धि हुने खतरा रहेको चेतावनीसमेत दिएको छ ।

तालिबान सरकारका अधिकारीले सत्तामा पुनः फर्किएको एक वर्षपछि सन् २०२२ मा राष्ट्रव्यापी रूपमा अफिम खेतीमा प्रतिबन्ध लगाएका थिए । उक्त प्रतिबन्धपछि अफिम खेतीका लागि समर्पित क्षेत्र सन् २०२४ को १२ हजार ८०० हेक्टर (करिब ३१ हजार ६०० एकड) बाट घटेर सन् २०२५ मा १० हजार २०० हेक्टरमा पुगेको संयुक्त राष्ट्रसङ्घको लागु औषध तथा अपराध कार्यालय (युएनओडिसी) ले सार्वजनिक गरेको नयाँ प्रतिवेदनमा जनाइएको छ ।

युएनओडिसीका अनुसार सन् २०२२ मा अफिम खेतीको क्षेत्र करिब दुई लाख ३२ हजार हेक्टरमा फैलिएको थियो । हेरोइनको प्रमुख स्रोत मानिने अफिमको उत्पादन सन् २०२५ मा करिब २९६ टन मात्र भएको अनुमान गरिएको छ । यो अघिल्लो वर्षको तुलनामा ३२ प्रतिशतले घटेको हो ।

प्रतिवेदनअनुसार अफिम बिक्रीबाट अफगान किसानले सन् २०२४ मा प्राप्त गरेको २६ करोड अमेरिकी डलर आम्दानी यस वर्ष घटेर १३ करोड ४० लाख डलरमा सीमित भएको छ । यद्यपि सन् २०२५ मा खेती र उत्पादन घटे पनि सुक्खा अफिमको मूल्य प्रतिबन्धपूर्वको औसतभन्दा अझै पाँच गुणा बढी रहेको बताइएको छ ।

संयुक्त राष्ट्रसङ्घको उक्त निकायले सिन्थेटिक औषधी, विशेषतः मेथामफेटामाइनको उत्पादन र तस्करी तीव्र गतिमा बढ्दै गएको चेतावनीसमेत दिएको छ । प्रतिवेदनमा भनिएको छ, “उत्पादनको सहजता, नियन्त्रण निकायका लागि पत्ता लगाउनको कठिनाइ र जलवायु परिवर्तनको असरबाट तुलनात्मक रूपमा कम प्रभावित हुने क्षमताका कारण सिन्थेटिक औषधी सङ्गठित आपराधिक समूहका लागि नयाँ व्यापार मोडेलका रूपमा उदाएका छन् ।”

संयुक्त राष्ट्रसङ्घले बारम्बार अन्तर्राष्ट्रिय समुदायलाई अफगान किसानलाई वैकल्पिक जीविकोपार्जनका उपाय उपलब्ध गराउन र अफिम खेतीबाट अन्य बालीतर्फ सर्न सहयोग गर्न आग्रह गर्दै आएको छ । तालिबान सरकारले पनि यस विषयमा विश्व समुदायसँग सहयोगको याचना गरेको छ ।

प्रतिवेदनका अनुसार अफिम प्रतिबन्धपछि धेरै किसान अन्न र अन्य बालीतर्फ आकर्षित भएका छन्, तर खडेरी र कम वर्षा जस्ता प्रतिकूल मौसमका कारण ४० प्रतिशतभन्दा बढी खेतीयोग्य जमिन बाँझो रहँदै आएको छ । सन् २०२२ को प्रतिबन्धपछि अफगानिस्तानका खेतीयोग्य क्षेत्रमा उल्लेखनीय भौगोलिक परिवर्तन आएको देखिएको छ । 

दक्षिणका तालिबान गढबाट टाढा रहेका उत्तरपूर्वी क्षेत्रमा खेती बढेको र त्यहाँ केही प्रतिरोध पनि देखिएको प्रतिवेदनमा उल्लेख छ । बदख्सान प्रान्तमा सन् २०२४ को मे महिनामा अफिम खेती नष्ट गर्न पठाइएका सुरक्षाकर्मी र किसानबिच झडप हुँदा कैयौँ नागरिकले ज्यान गुमाउनुपरेको पनि उल्लेख गरिएको छ । अफिम खेती घट्नुले अफगान अर्थतन्त्र र ग्रामीण जीवनमा गम्भीर असर पारेको तर प्रतिबन्धपछि अवैध औषधी व्यापार अन्य रूपमा विस्तार भइरहेको राष्ट्रसङ्घले चेतावनी दिएको छ । रासस/एएफपी