यज्ञप्रसाद सापकोटा
गुलरिया (बर्दिया), कात्तिक १९ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय राजापुरले आजदेखि धान खरिद सुरुवात गरेको छ । कम्पनीले पहिलो दिनमा नौसय क्विन्टलभन्दा बढी धान खरिद गरेको छ । पहिलो दिनमा मोटा धान आठसय ९४ क्विन्टल र मध्यम धान १२ क्विन्टल धान खरिद गरिएको कम्पनीका सूचना अधिकारी चेतमान कठायतले बताउनुभयो ।
सरकारले मोटा धानको समर्थन मूल्य ३४ सय ६३ रुपियाँ प्रतिक्विन्टल तोकेको छ भने मध्यम धान प्रतिक्विन्टल तीन हजार छसय २८ रुपियाँ तोकेको छ । खाद्यले सरकारले तोकेकै न्युनतम समर्थन मूल्यमा धान खरिद गरेको छ ।
धान खरिदको सुरुवात गरेपछि धान बेच्न खाद्य वरिपरि किसानको भिड लाग्ने गरेको छ । गत बर्षको तुलनामा केही दिन ढिलागरी खाद्यले धान खरिद सुरु गरेको छ । खाद्यले धान खरिद ढिलाइ गर्दा कतिपय किसानले सस्तो मूल्यमा धान बिक्री गरेका थिए ।
खाद्यले धान खरिद गरेपछि किसानहरू हर्षित भएका छन् । सरकारले तोकेको मुल्यमा नै धान बेच्न पाएको गेरुवा गाउँपालिका वडा १ का किसान रामकृष्ण थारूले बताउनुभयो । यस बर्ष खाद्यले ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य रहेको सूचना अधिकारी कठायतले बताउनुभयो ।
उहाँले राजापुर नगरपालिकाको राजापुर र मानपुरटपरा र गेरुवा गाउँपालिकाको शान्ति बजारबाट धान खरिद गरिने बताउनुभयो । मुख्य शाखा कार्यालय राजापुरका प्रमुख कमलार पाण्डेले सरकार मापदण्ड अनुसार धान सफा, स्वस्थ र नकाटिएको हुनपर्ने बताउनुभयो । धान विक्रीका लागि बैक खाता नम्बर नागरिकताको प्रतिलिपीसहित किसानले धान ल्याउनु पर्ने बताउनुभयो ।