• १७ असार २०८१, सोमबार

हेलिकप्टरमार्फत मतपेटिका र कर्मचारी पठाउने तयारी

blog

दार्चुला समाचारदाता

दार्चुला, वैशाख ८ गते  । दार्चुलाको सबैभन्दा विकट मतदान केन्द्र रहेको व्यासमा हेलिकप्टरमार्फत मतपेटिका र कर्मचारी पठाउने तयारी भइरहेको छ ।स्वदेशतर्फको बाटो भएर व्यास गाउँपालिका–१, छाङरु र टिङ्कर जान नसकिने भएपछि हेलिकप्टरमार्फत कर्मचारी र निर्वाचन सामग्री पठाउने तयारी गरिएको हो । नेपालतर्फबाट हिँडेर जानसमेत पैदल बाटो छैन । अप्ठ्यारो गरी जाने हो भने छाङरु, टिङ्कर पुग्न पाँच दिन लाग्दछ । व्यासको वडा नम्बर १ मा दुईवटा मतदान केन्द्र छन् । छाङरुको कैलाशपति आधारभूत विद्यालयमा ३७५ जना र मोती महिला सङ्घ आधारभूत विद्यालय टिङ्करमा २३१ जना मतदाता रहेका छन् । 

यहाँका स्थानीय वैशाख दोस्रो साता बसाइँ सरेर छाङरु, टिङ्कर जाने तयारीमा छन् । २०७४ सालको स्थानीय निर्वाचनमा पनि स्थानीयले छाङरु, टिङ्करमै मतदान गरेका थिए । व्यासी सौका समुदायको दोहोरो बस्ती भएको कारण कहिले खलङ्गा र कहिले छाङरु, टिङ्करमा मतदान हुने गर्दछ । हिउँद महिनामा हुने निर्वाचनमा व्यासवासी खलङ्गाबाटै मतदानमा सहभागी हुन्छन् भने गर्मीमा गाउँबाटै मतदान गर्दै आएका छन् । 

यो वर्ष अप्ठ्यारो ठाउँमा हेलिकप्टरमार्फत कर्मचारी र निर्वाचन सामग्री पठाउने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो । यही वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा ११० मतदान स्थल र १३९ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ । 

मतदान स्थललाई सुरक्षा संवेदनशीलताका आधारमा वर्गीकरण गरिएको छ । दार्चुलाका ११ वटा मतदानस्थल अति संवेदनशील र ११ वटा संवेदनशील सूचीमा वर्गीकरण गरिएको छ । जिल्ला सुरक्षा समितिले मतदानस्थललाई भूगोल, सीमा, सडक सञ्जाललगायतको अवस्थालाई मध्यनजर गर्दै वर्गीकरण गरेको प्रजिअ उपाध्यायले बताउनुभयो ।

दुईवटा नगरपालिका र सातवटा गाउँपालिका रहेको दार्चुलामा सबैभन्दा बढी मतदाता शैल्यशिखर नगरपालिकामा छन् । शैल्यशिखर नगरपालिकामा सात हजार २४९ पुरुष र सात हजार ५० महिला गरी १४ हजार २९९ मतदाता छन् । जिल्ला सदरमुकामस्थित महाकाली नगरपालिकामा छ हजार ६६१ जना पुरुष र छ हजार ६२३ जना महिला गरेर १३ हजार २८४ मतदाता छन् । 

गाउँपालिकातर्फ सबैभन्दा कम अपिहिमाल गाउँपालिकामा चार हजार ६५१ जना र सबैभन्दा बढी मालिकार्जुन गाउँपालिकामा ११ हजार ३२० जना मतदाता छन् । दुहुँ गाउँपालिकामा आठ हजार २७६ जना, नौगाड गाउँपालिकामा नौ हजार ५९६ जना, व्यास गाउँपालिकामा सात हजार ८०४ जना, मार्मा गाउँपालिकामा नौ हजार २८५ जना र लेकम गाउँपालिकामा नौ हजार ७७० जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी चित्रप्रकाश जोशीले जानकारी दिनुभयो । 

स्थानीय तहको चुनाव नजिकिँदै गर्दा राजनीतिक दल उम्मेदवार छान्न व्यस्त छन् । निर्वाचन कार्यालय आवश्यक तयारीमा जुटेका छन् । वैशाख ८ गते बिहान ११ बजे सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नेगरी तयारी गरिएको उहाँले बताउनुभयो ।

सुरक्षा जिम्मा सशस्त्र प्रहरीलाई

दार्चुलामा स्थानीय तहको निर्वाचनमा खटिएका निर्वाचन अधिकृत र निर्वाचन कार्यालयको सुरक्षाको जिम्मा सशस्त्र प्रहरीले पाएको छ । आसन्न स्थानीय तह निर्वाचनमा नौवटा स्थानीय तहमा रहेका निर्वाचन अधिकृत, निर्वाचन कार्यालय र प्रमुख निर्वाचन अधिकृतको सुरक्षाको जिम्मा सशस्त्र प्रहरीले पाएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो । 

उहाँले भन्नुभयो, “सशस्त्र प्रहरीले आफ्नो निर्वाचन सुरक्षा योजना केन्द्रीय निर्वाचन सुरक्षा समितिमा पठाएर पास भएपछि जिल्ला र तालिम केन्द्रहरूमा त्यसैअनुसार तालिम सञ्चालन भइरहेको छ ।” 

निर्वाचनमा सशस्त्र प्रहरी बलले दोस्रो घेरामा रहेर सुरक्षा दिनेछ । सशस्त्रले निर्वाचनको समयमा फौजलाई कसरी परिचालन गर्ने भन्ने एकीकृत योजनासमेत बनाएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाका सशस्त्र प्रहरी उपरीक्षक त्रिभुवन विष्टले बताउनुभयो । निर्वाचन सम्पन्न गर्न निर्वाचन अधिकृतलाई एक दिने तालिम प्रदान गरेर सम्बन्धित कार्य क्षेत्रमा पठाइएको जिल्ला निर्वाचन अधिकारी प्रदीपसिंह धामीले बताउनुभयो । 

महाकाली नगरपालिकामा जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले निर्वाचन गराउने तथा अन्य स्थानीय तहमा निर्वाचन अधिकृतको जिम्मेवारी प्राप्त गरेका निर्वाचन अधिकृतले निर्वाचन गराउने उहाँले बताउनुभयो । दार्चुलामा ८८ हजार २१५ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।