• १९ असार २०८१, बुधबार

केन्द्रको निर्णयप्रति काँग्रेसमा असन्तुष्टि

blog

तस्बिर :राममणि दाहाल/हेटौँडा काँग्रेस कार्यकर्ताले हेटौँडा उपमहानगरपालिका–२ स्थित पार्टी कार्यालयमा लगाएको ताला खोलिँदै ।

मकवानपुर समाचारदाता

हेटौँडा, वैशाख ८ गते ।  नेपाली काँग्रेसले आसन्न स्थानीय तह निर्वाचनमा हेटौँडा उपमहानगरपालिकाको प्रमुख पद नेकपा (एकीकृत समाजवादी)लाई दिन केन्द्रमा गरेको निर्णयप्रति काँग्रेस हेटौँडा उपमहानगर समितिले आपत्ति जनाएको छ । काँग्रेस उपमहानगर समितिले हेटौँडामा बुधबार पत्रकार सम्मेलन गरी केन्द्रले गरेको निर्णयमाथि पुनरवलोकन गर्न  माग गरेको छ ।

नगर सभापति उत्सव इटेनीले उपमहानगरपालिकाको वस्तुगत अवस्थाका बारेमा नगर समितिले केन्द्रीय नेतृत्वलाई लिखित रूपमा जानकारी गराउँदासमेत त्यसको मर्म र भावनालाई बेवास्ता गर्दै पार्टी कार्यकर्ता र शुभेच्छुकको मनोभावनामा ठेस पुग्ने गरी गरिएको निर्णयप्रति असहमति रहेको बताउनुभयो । नगरको गठबन्धनमा आबद्ध दलमध्ये सबैभन्दा धेरै जनाधार भएको पार्टी काँग्रेसको नेतृत्वमा चुनावमा सहभागी हुन तयारी रहेको अवस्थामा केन्द्रीयस्तरबाट भएको भागबन्डाले तालमेलको औचित्य र आवश्यकता पूरा गर्न नसक्ने भन्दै उहाँले भन्नुभयो, “तालमेलको आवश्यकता र औचित्य  पुष्टि गर्न निर्णय पुनरवलोकन गरी काँग्रेसले नगरप्रमुख पाउनुपर्छ । 

गठबन्धनका दलबीच सहमति, सहकार्य र एकताका साथ अघि बढ्ने वातावरण तयार गर्न माग गर्दै निर्णय पुनरवलोकन नभएमा यसअघिको नगर समितिका पदाधिकारी तथा वडा सभापतिको निर्णयानुसार गठबन्धनका दलसँग मित्रवत् रूपमा काँग्रेसको एकल नेतृत्वमा चुनावी प्रतिस्पर्धामा सहभागी हुने सभापति इटेनीले स्पष्ट पार्नुभयो ।यसैबीच काँग्रेसका कार्यकर्ताले काँग्रेसले नगरप्रमुख नपाएमा आफूहरूलाई अस्वीकार्य हुने भन्दै मङ्गलबार हेटौँडा उपमहानगरपालिका–२ मा रहेको पार्टी कार्यालयमा तालाबन्दी गरेपछि गठबन्धनका दलबीच भागबन्डा थप पेचिलो  बन्ने देखिएको छ । 

सत्ता गठबन्धनका पाँच दलबीच केन्द्रमा हेटौँडा उपमहानगरपालिकाको प्रमुख नेकपा (एकीकृत समाजवादी) ले पाउने गरी सहमति नजिक पुगेको सार्वजनिक भएपछि विरोधमा काँग्रेस कार्यकर्ताहरूले पार्टी कार्यालयमा तालाबन्दी गरेका थिए । कार्यकर्ताले पार्टी सभापतिलगायत कार्यालय कोठामा तालाबन्दी गरेको केही समयपछि पार्टी जिल्ला सभापति बुद्ध लामा र सहसचिव ताराचन्द्र बजगाईंलगायत पुगेर प्रहरीको उपस्थितिमा ताला फुटाइएको थियो ।

पार्टी सभापति लामाले पार्टीभित्र रहेका बिमतिहरू छलफलबाट समाधान गर्न सकिने भन्दै निर्वाचनको समयमा नकारात्मक सन्देश जाने गरी गरिएको तालाबन्दी स्वीकार्य नहुने र तालाबन्दी गर्नेमाथि कारबाहीको चेतावनी दिनुभएको छ । उहाँले पार्टी कार्यालयमा ताला लगाउने कार्य शोभनीय नभएको बताउँदै उद्दण्ड र अराजकलाई काँग्रेसमा स्थान नभएको बताउनुभयो । उहाँले भन्नुभयो, पार्टीको विधानअनुसार ताला लगाउन संलग्न भएकालाई हदैसम्मको कारबाही गर्छु । 

उहाँले गठबन्धनका दलबीच अझै सहमति जुट्न नसकेको बताउँदै नेकपा माओवादी केन्द्रले भागबन्डामा बढी दाबी गर्दा तालमेल सकसपूर्ण बन्दै गएको बताउनुभयो । उता काँग्रेसका वडा सभापतिहरूको मङ्गलबार भएको बैठकले हेटौँडा उपमहानगरपालिकाको प्रमुख सङ्गठनका आधारमा काँग्रेसले नै पाउनुपर्ने निर्णय गरेको थियो । काँग्रेस हेटौँडा उपमहानगर समितिका सभापति उत्सव इटेनीले नगरप्रमुख काँग्रेसले नै पाउनुपर्ने बताउँदै पाउन नसक्ने अवस्थामा गठबन्धनका दलसँग मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेको बताउनुभयो ।

यसैबीच काँग्रेस मकवानपुरको अनुशासन समिति गठन गरेको छ । कार्यसम्पादन समितिको मङ्गलबार बसेको बैठकले संयोजकमा प्रभात दाहाल तथा सदस्यहरू रामबाबु बानियाँ र अर्जुन चौलागाईं रहेको तीन सदस्यीय अनुशासन समिति गठन गरेको जिल्ला सचिव भीमसेन महतले जानकारी दिनुभयो ।

त्यसैगरी कार्यसम्पादनको बैठकले काँग्रेस जिल्ला समितिको भवनमा बिनाजानकारी, मागदाबी वा बिमतिको विषय जिल्ला कार्यसमितिलाई नराखीकन गुन्डागर्दी शैलीमा लगाइएको तालाबन्दीप्रति आपत्ति जनाएको छ ।