• ९ मंसिर २०८१, आइतबार

गर्मीमा पानीको अभाव

blog

शिवशंङ्कर मिश्रा 

बारा, वैशाख १९ गते । अत्याधिक गर्मीसँगै विभिन्न पालिकाको अधिकांश ठाउँमा रहेका चापाकलबाट पानी आउन बन्द भएको छ । पानीको सतह कम हुँदै गएकाले तराईका जिल्लाहरुमा अहिले पानीको समस्या हुन थालेको स्थानीयहरु बताउँछन् ।

बारा जिल्लाको जमुनी र तियर दुई वटा नदी बाहेक बंगरी, दुधौरा, बालगंगा र पासाहा खोलामासमेत एक डेढ महिना अगाडीदेखि पानी सुकेको छ । यसैगरी सार्वजनिक पोखरी पनि सुकेको छ, माछा पालन गर्ने पोखरीको पानी सुक्न थालेपछि दिनरात मोटरको सहयोगले पानी भर्ने कार्य जारी रहेको प्रसौनी गाउँपालिका–६ बंजरियाका पूर्व गाविस अध्यक्ष मिश्रीलाल प्रसाद यादवले बताउनुभयो ।

यसैगरी महागढीमाई नगरपालिका–३ र १० गंजभवानीपुर टोलमा दुई दर्जनबढीको चापाकलबाट पानी आउन बन्द भएपछि विद्युतीय मोटरसमेत जलेको वडा सदस्य तेजनारायण प्रसाद यादवले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, सो टोलका महेन्द्र यादव, राजेश ठाकुर, संतोष मिश्रा, मनोज यादव, सटाही यादवलगायतको चापाकलबाट पानी आउन बन्द भएको छ । यसरी पानी आउन बन्द भएपनि जानकारी बिना बिद्युतीय मोटर चलाउँदा कति जनाको मोटर नै जलेको बताउनुभयो ।

कलैया उप–महानगरपालिका–२२ को भोड्हा, मटिअरिया, मदिलवा टोलमा पानीको सतह कम भएपछि त्यहाँका चापाकलमा अहिले प्रेशर बढी हुने गरेको छ । पहिलाको अपेक्षामा चार भागको एक भाग मात्र पानी आउने गरेको स्थानीय पुरोहित रामअयोध्या मिश्राले जानकारी दिनुभयो ।

यसैगरी सोही पालिकाको कलैया टोल, भवानीपुर, ब्रहम्पुरी, औधापुर, उत्तरझिटकैया, मझौलिया, श्रीपुर, बकुलहर, कवलपुर, मनहर्वा, सखुई, बिजुलपुर, सिसवामहेशपुर, गंगापुर, भतौडा, कोईरिया टोला, सिसहनिया, पतौरा, पचायनपुर टोलमा चापाकलबाट पानी आउन कम भएपछि सहज रुपमा लुगाधुन तथा नुहाईधुवाई गर्न अहिले समस्या भएको स्थानीयहरु बताउँछन् । 

यसैगरी बढ्दै गएको गर्मी र पानी नपरेको कारण चापाकल सुक्नुको साथै नदी, पोखरीको पानी सुकेकाले गाई, भैसीलाईसमेत पानी खान समस्या हुँदै आएको छ ।

मौसमी बर्षा बाहेक अन्य समयमा अकाशे पानी नपर्दा यसरी पानीको मुहान सुक्नुको साथै चापाकल, नदी र तलावमा पानी कम हुनजान्छ, पानी परेपछि सुकेका सबै ठाउँमा फेरी पहिलाकै जस्तो पानी आउन सुरु हुने भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय पर्साका प्रमुख विकास ठाकुरले बताउनुभयो ।

जाडोयाममा पानीको सतह जमिन माथिसम्म रहेकाले चापाकल, इनार, पोखरी र नदी तलावमा प्रयाप्त मात्रामा पानी रहन्छ, गर्मीयाममा पानीको सतह जमिन मुनी जाने भएकाले सहज रुपमा पानी नभेटिने गरेको तथा मौसम परिर्वतनको कारण यस्तो हुने गरेको उहाँले बताउनुभयाे ।