• ८ जेठ २०८१, मङ्गलबार

चिकित्सकको रोजाइ विदेश

सात हजार बढीले लिए ‘गुड स्ट्याण्डर्ड सर्टिफिकेट’

blog

काठमाडौँ, वैशाख १९ गते । नेपाली चिकित्सकले चारित्रिक प्रमाणपत्र अर्थात् गुड स्ट्याण्डर्ड सर्टिफिकेट लिनेको सङ्ख्या बढ्दैगएको छ । नेपालमा मेडिकल काउन्सिलका रजिष्ट्रार डा.सतीशकुमार देवले काउन्सिलबाट असल चारित्रिक प्रमाणपत्र अर्थात् गुड स्ट्याण्डर्ड सर्टिफिकेट लिनेको सङ्ख्या बढ्दै गएको जानकारी दिनुभयो । 

उक्त प्रमाणपत्र चिकित्सकलाई विदेशमा अध्ययन गर्न, विदेशमा काम गर्न र नेपालमा  सरकारी बढुवा हुनका लागि आवश्यक पर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार चिकित्सकले अमेरिका, बेलायत, माल्दिभ्स, युएई, नेपाल, भारतलगायतका १९ देशमा जान सो प्रमाणपत्र लिएको तथ्याङ्क छ । विदेश जान चार वर्षमा सात हजार ३६० जनाले सो प्रमाणपत्र लिइसकेका छन् । 

सन् २०२० मा एक हजार ८७ जनाले, सन् २०२१ मा एक हजार ५०२ जना चिकित्सकले सो प्रमाणपत्र लिएको देखिन्छ । सन् २०२२ मा दुई हजार १८९, सन् २०२३ मा दुई हजार ८२ जनाले यो प्रमाणपत्र लिएको काउन्सिलको तथ्याङ्कमा उल्लेख छ ।

धेरैले विशेषज्ञता विदेशमा अध्ययन, फेलोसिप अध्ययनका लागि, विदेशमा काम गर्न नेपालमा सरकारी बढुवाका लागि लिने गरेको उहाँ बताउनुहुन्छ । विदेश जाने चिकित्सकले निवेदन दिएपछि काउन्सिलले चिकित्सक जाने देशको नियामक निकायलाई यो प्रमाणपत्र पठाउने गरेको डा. देवको भनाइ छ । 

नेपालमै बस्नेले पनि लिए प्रमाणपत्र

नेपालका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकले पनि यो प्रमाणपत्र लिएका छन् । चार वर्षमा ८९२ जना चिकित्सकले नेपालका लागि प्रमाणपत्र लिएका छन् । उहाँका अनुसार नेपालको लागि सन् २०२० मा २१८, सन् २०२१ मा १७५, सन् २०२२ मा २३५ र सन् २०२३ मा  २६४ जना चिकित्सकले प्रमाणपत्र लिएका छन् । 

नेपालमा सरकारी सेवामा भएका चिकित्सकले बढुवा, सरुवाका लागि प्रमाणपत्र लिनेगरेको उहाँको भनाइ छ । 

पहिलो रोजाइ अमेरिका 

नेपाल बाहेक अन्य देशमा जाने ६ हजार ३६८ जना चिकित्सकले उक्त प्रमाणपत्र लिएका छन् । काउन्सिलको विवरण अनुसार विदेश जाने चिकित्सकको पहिलो रोजाइ अमेरिका, बेलायत माल्दिभ्स रहेको छ । 

चार वर्षमा सबैभन्दा बढी अमेरिकाका लागि एक हजार ८८८ चिकित्सकले उक्त प्रमाणपत्र लिएको देखिन्छ । यस्तै, बेलायतका लागि एक हजार ५७८ जना, माल्दिभ्सका लागि एक हजार ४६७ जनाले यो प्रमाणपत्र लिएका छन् । 

भारतका लागि ५१३ जना, अष्ट्रेलियाका लागि ४०३ जना, युएईका लागि ३४६ जना चिकित्सकले यो प्रमाणपत्र लिएको काउन्सिलको तथ्याङ्कमा उल्लेख छ । त्यसैगरी, क्यानडाका लागि ८३, जर्मनीका लागि पनि प्रमाणपत्र लिएका छन् । 

यस्तै, पछिल्लो वर्षमा राम्रो कमाइ र अवसर भन्दै खाडीमुलुक जाने गरेको पनि देखिएको छ । कतारमा ३६, साउदीमा तीन र ब्रुनाइमा १४ जनाले लिएका छन् । यस्तै सिंगापुरका लागि १४ जना, आयरल्यान्डका लागि १२, डेनमार्कका लागि ११, हङकङका लागि ९, बङ्गलादेशका लागि एक, बेल्जियमका लागि एक र अन्य देशका लागि २८ जनाले सो प्रमाणपत्र लिएका छन् । 

रोजगार माल्दिभ्समा राम्रो  

अन्य देशमा चिकित्सक अध्यापन तथा फेलोसिपका लागि भनेर प्रमाणपत्र लिने गरे पनि माल्दिभ्स र युएईमा भने रोजगारका लागि जाने गरेको डा. देवको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘चिकित्सकले अन्य देशमा अध्ययनका लागि प्रमाणपत्र लिने गरे पनि प्राय माल्दिभ्स र युएईमा भने रोजगारका लागि प्रमाणपत्र लिने गर्दछन् ।’

उहाँका अनुसार चार वर्षमा माल्दिभ्सका लागि एक हजार ४६७ जना चिकित्सकले उक्त प्रमाणपत्र लिएका छन् । त्यसैगरी, युएईका लागि ३४६ जनाले प्रमाणपत्र लिएका छन् । 

विदेशमा चिकित्सकको कामको सम्मान, आकर्षक तलब र सेवा सुविधाका कारण बिदेसिने चिकित्सकको सङ्ख्या बढ्दैगएको बताउनुभयो । अन्य देशको हकमा भने अध्ययन गर्न गएको हुन सक्ने उहाँको भनाइ छ । 

फर्केको विवरण छैन

यसरी विभिन्न कारणले विदेश गएका चिकित्सक स्वदेश फर्किए, नफर्किएको विवरण उपलब्ध छैन । 

उहाँ भन्नुहुन्छ, ‘चिकित्सकले गुड स्ट्याण्डर्ड सर्टिफिकेट चाहियो भनेर निवेदन दिएपछि दिने गर्दछौँ । तर गएका चिकित्सक फर्किन्छ कि फर्किँदैनन् भन्ने तथ्याङ्क काउन्सिलसँग छैन ।’

काउन्सिलको विवरण अनुसार हालसम्म नेपाल मेडिकल काउन्सिलमा ३४ हजार ९१० जना चिकित्सक दर्ता छन् । जसमध्ये १० हजार ५८८ जना विशेषज्ञ चिकित्सक रहेका छन् । 

नेपालमा वार्षिक स्नातकतर्फ दुई हजारभन्दा बढी र स्नातकोत्तरतर्फ पाँच सयको हाराहारीमा काउन्सिलमा नयाँ चिकित्सक दर्ता हुने गर्छन् ।

चार वर्षमा १७ हजार ८०९ जना चिकित्सक काउन्सिलमा दर्ता भएको तथ्याङ्कले देखाएको छ  । जसमध्ये स्नातकतर्फ १३ हजार २१३, र स्नातकोत्तरतर्फ चार हजार ५९६ रहेका छन् । 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।