• १३ साउन २०८१, आइतबार

डब्लुएचओका महानिर्देशक बिहीबार नेपाल आउने

blog

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस । तस्बिरः द प्रिन्ट

काठमाडौं, वैशाख ७ गते। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस बिहीबार नेपाल आउनुहुने भएको छ। 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उहाँ वैशाख ८ गते अपराह्न नेपाल आउनुहुनेछ। तीनदिने भ्रमणका क्रममा नेपालमा रहँदा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटघाट गर्नुहुनेछ। 

त्यसैगरी उहाँले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्नुहुनेछ। यस्तै नेपालमा रहँदा उहाँले नेपाल सरकारका उच्च अधिकारीसहित डब्लुएचओका नेपालस्थित प्रतिनिधि र संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिसँग पनि छलफल गर्नुहुनेछ।

महानिर्देशक तीनदिने सद्भाव भ्रमणमा नेपाल आउन लाग्नुभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिनुभयो। भ्रमणकै क्रममा उहाँले टाइफाइडविरुद्धको खोप अभियान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पनि अवलोकन गर्नुहुने कार्यक्रम छ। 

महानिर्देशकका साथ डब्लुएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र डब्लुएचओका अन्य अधिकारी रहनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। उहाँ वैशाख १० गते नेपालबाट फर्कनुहुने कार्यक्रम छ।  रासस