• १३ साउन २०८१, आइतबार

नेपालगञ्जमा महिला कलेजको उद्घाटन

blog

गोविन्द शर्मा
बाँके, वैशाख ७ गते ।
मधेसी र मुस्लिम छात्राहरुलाई मुख्य लक्षित गरी नेपालगञ्जमा महिला कलेज स्थापना गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिकाले निर्माण गरेको मङ्गलप्रसाद महिला कलेजको बुधबार पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. यादवराज कोइरालाले उद्घाटन गर्नुभयो ।

कलेजको उद्घाटन गर्दै डा. कोइरालाले पूर्वाञ्चल विश्वविद्यालयले निजी क्षेत्रबाट सञ्चालित मात्रै नभएर समुदायस्तरबाट सञ्चालित कलेजलाई पनि सम्बन्धन दिनका लागि प्राथमिकता दिने गरेको बताउनुभयो ।

“नेपालगञ्जमा महिला कलेज सञ्चालनको परियोजना आफैँमा महत्वपूर्ण छ,” नेपालगञ्जस्थित मङ्गलप्रसाद महिला कलेजको उद्घाटन गर्दै उपकुलपति कोइरालाले भन्नुभयो,– “विश्वविद्यालयबाट सम्बन्धनका लागि विज्ञसहितको टोली छिट्टै आउनेछ ।’’

नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले  नेपालगञ्जमा मधेसी र मुस्लिम समुदायको बाक्लो बसोबास रहेका कारण यहाँ छात्रा विद्यालय र कलेजको आवश्यकता महसुस गरिएको बताउनुभयो ।

“सल्यानीबागमा छात्रा विद्यालय एकदमै उत्कृष्टरुपमा सञ्चालन भइरहेको छ,” नगर प्रमुख राणाले भन्नुभयो, –‘‘छात्रा कलेज कसैबाट हस्तक्षेप नहोस् भनेर स्वायत्त सञ्चालक समिति बनाएका छौं । कलेज आफैँमा आत्मनिर्भर नभएसम्मका लागि नगरबाट आवश्यक सबै सहयोग प्राप्त हुनेछ ।’’

कलेजका प्रमुख रविन्द्र कर्णले करिब आठ करोड रुपियाँको लागतमा उप–महानगरपालिकाले ४० कोठे भवन निर्माण गरेको जानकारी दिनुभयो । कम्प्युटर ल्याबसहितको १४ कोठे छात्राबास छ । मधेसी र मुस्लिम छात्राहरुलाई लक्षित गरे पनि सबै समुदायका महिलाले कलेजमा अध्ययन गर्नेछन् । कलेजले ब्यवस्थापन सङ्कायमा बिबिए र बिबिएस, कानून सङ्कायमा ५ वर्षे बिएएलएलबी, शिक्षा सङ्कायमा ४ वर्षे विएड र विज्ञानतर्फ ४ वर्षे विसिए र बिआईटी कक्षा सञ्चालनका लागि पूर्वाञ्चल विश्वविद्यालयमा सम्बन्धनको प्रक्रिया सुरु गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले विज्ञ टोली बनाएर दुई वर्षसम्म विस्तृत अध्ययन गरेर महिला कलेज सञ्चालनका लागि अघि बढेको उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो ।