कपिल ज्ञवाली
सिद्धार्थनगर, वैशाख ६ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले शिक्षा क्षेत्र सुधारका लागि महत्त्वपूर्ण कदम अघि बढाएको छ । नगरपालिकाले विद्यालयहरू एकीकरण (मर्ज) र केही विद्यालयको तह मिलान गरी ठूला तथा व्यवस्थित विद्यालयमा रूपान्तरण गर्ने प्रक्रिया सुरु गरेको हो ।
पालिकाले यसका लागि कार्यदल गठन गरी शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले अध्ययन गरेको थियो । नगरप्रमुख रामकृष्ण खाँणले कार्यदलको सुझावका आधारमा कार्यपालिका बैठकबाट निर्णय पारित गर्दै ६ विद्यालय समायोजन र ७ विद्यालयको तह मिलान गरिएको जानकारी दिनुभयो । साथै, संस्थागत विद्यालयमा अध्ययनरत २३ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने उहाँले बताउनुभयो ।
कार्यदलले दुई महिनासम्म स्थलगत अध्ययन गरी तयार पारेको प्रतिवेदनका आधारमा शिक्षा क्षेत्रमा सुधारका कदम चालिएको हो । नगरप्रमुख खाँणका अनुसार ९ सदस्यीय कार्यदलले विद्यालयको अवस्था, विद्यार्थी संख्या, शिक्षक दरबन्दी, अनुदान वितरणलगायत विषयमा विस्तृत अध्ययन गरेको थियो । साथै, सामुदायिक तथा संस्थागत विद्यालयका प्रतिनिधि, सरोकारवाला निकाय र विज्ञहरूसँग छलफलपछि मात्र कार्यविधि तयार गरिएको हो ।
घट्दो विद्यार्थी संख्या, कमजोर शैक्षिक उपलब्धि, शिक्षक–विद्यार्थी अनुपातको असन्तुलन, अभिभावकको घट्दो चासो र प्रति विद्यार्थी उच्च लागतजस्ता समस्यालाई सम्बोधन गर्न यो निर्णय गरिएको नगरप्रमुख खाँणको भनाइ छ । उहाँले समायोजन, तह मिलान र छात्रवृत्ति व्यवस्थापनलाई शिक्षा सुधारको नमुना प्रयासका रूपमा लिइएको बताउनुभयो ।
विद्यालय समायोजनबाट वार्षिक करिब ५० लाख रुपैयाँ बचत हुने अपेक्षा गरिएको छ । “बचत भएको रकम बढी विद्यार्थी भएका विद्यालयमा लगानी गरी शैक्षिक गुणस्तर अभिवृद्धि गर्छौँ,” उहाँले भन्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले पछिल्ला वर्षहरूमा विद्यार्थी संख्या निरन्तर घट्दै गएको, शिक्षक–विद्यार्थी अनुपात असन्तुलित बनेको र पूर्वाधारको अभाव देखिएकाले यस्तो निर्णय गरिएको बताउनुभयो ।
तिलोत्तमामा हाल ४२ सामुदायिक विद्यालयमा १९ हजारभन्दा बढी र ४२ संस्थागत विद्यालयमा २३ हजार ३२३ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । यस अवस्थालाई सुधार गर्न नगरपालिकाले मापदण्ड तयार गरी लागू गरेको छ । सोअनुसार कम्तीमा एक कक्षामा १५ जना विद्यार्थी हुनुपर्ने व्यवस्था गरिएको छ । मापदण्ड नपुगेका विद्यालय समायोजन गरिएका छन् भने मापदण्ड पूरा गरेका विद्यालय यथावत राखिएका छन् ।
समायोजन विवरणः
तिलोत्तमा–१६ का बोहिया आधारभूत विद्यालय र कोटहिमाई मिसुजु आधारभूत विद्यालयलाई कोटहिमाई मिसुजु आधारभूत विद्यालयमा एकीकृत गरिएको छ । तिलोत्तमा–१२ को कोटियामाई आधारभूत विद्यालयलाई सरस्वती आधारभूत विद्यालयमा समायोजन गरिएको छ । तिलोत्तमा–६ को मेदिनी आधारभूत विद्यालयलाई तिलोत्तमा–५ स्थित शान्ति नमूना माध्यमिक विद्यालयमा गाभिएको छ ।
तिलोत्तमा–१४ को नमूना महिला आधारभूत विद्यालयलाई टिकुलिगढ माध्यमिक विद्यालयमा समायोजन गरिएको छ । तिलोत्तमा–११ को नवज्योति शंकरमान आधारभूत विद्यालयलाई भुल्के माध्यमिक विद्यालयमा र तिलोत्तमा–१३ को सेमरी आधारभूत विद्यालयलाई जनता माध्यमिक विद्यालयमा समायोजन गरिएको छ ।
समायोजन भएका विद्यालयका भौतिक संरचना तथा स्रोतलाई सेक्टर विद्यालयका रूपमा प्रयोग गरी थप व्यवस्थित बनाइने जनाइएको छ ।
तह मिलानः
तिलोत्तमा–१७ को बाल विकास आधारभूत विद्यालय र तिलोत्तमा–८ को ज्योति आधारभूत विद्यालयलाई कक्षा ८ बाट घटाएर कक्षा ५ सम्म सीमित गरिएको छ । तिलोत्तमा–११ को शिवपुर माध्यमिक विद्यालयलाई कक्षा १२ बाट कक्षा १० सम्म झारिएको छ । सोही वडाको गणेश आधारभूत विद्यालयलाई पनि कक्षा ८ बाट कक्षा ५ मा सीमित गरिएको छ । तिलोत्तमा–१३ को बभनी आधारभूत विद्यालय र तिलोत्तमा–१२ को सरस्वती आधारभूत विद्यालयलाई कक्षा ५ बाट कक्षा ३ सम्म सीमित गरिएको छ । साथै, तिलोत्तमा–६ को सत्यलक्ष्मी आधारभूत विद्यालयलाई पनि कक्षा ५ बाट कक्षा ३ सम्म झारिएको छ ।
छात्रवृत्ति व्यवस्थाः
संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्ति वितरणलाई थप व्यवस्थित बनाइएको छ । कुल २३ हजारभन्दा बढी विद्यार्थीमध्ये २ हजार ३ सयभन्दा बढीले पूर्ण छात्रवृत्ति प्राप्त गर्नेछन् । यसमा भर्ना शुल्क, मासिक शुल्क तथा यातायात खर्चसमेत समावेश हुनेछ ।
छात्रवृत्तिमा जेहेन्दार, विपन्न, आदिवासी जनजाति, दलित, मधेशी, मुस्लिम, अपाङ्ग तथा अल्पसंख्यक समुदायलाई प्राथमिकता दिइने आर्थिक विकास समिति संयोजक गणेश पाठकले जानकारी दिनुभयो ।
कार्यपालिका सदस्य सुरेन्द्र श्रीले शैक्षिक गुणस्तर सुधारका लागि यो निर्णय गरिएको बताउनुभयो । सामाजिक विकास समिति संयोजक रवि सेन्चुरीले यस पहलले विद्यार्थीलाई विश्वस्तरमा प्रतिस्पर्धी बनाउने विश्वास व्यक्त गर्नुभयो । शिक्षा शाखा प्रमुख गंगाराम आचार्यका अनुसार यसबाट समग्र शैक्षिक गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको छ ।