• १७ असार २०८१, सोमबार

राजनीतिक दल चुनावी दौडमा : किसानलाई गहुँ भित्र्याउने चटारो

blog

विजयकुमार साह 

ढल्केबर, वैशाख, ७ गते ।  धनुषामा स्थानीय तहको निर्वाचनले गति लिन थालेको छ । राजनीतिक दलहरू चुनावको तयारीमा जुटेका छन् । चुनावी रणनीति बनाउन बैठक, भेला र अन्तक्र्रिया कार्यक्रम बाक्लिँदै गएका छन् । राजनीतिक दलका प्रतिनिधिहरू जनप्रतिनिधि बन्न दौडधुपमा लागेका छन् । यहाँका किसान भने गहुँबाली भित्र्याउनमा व्यस्त देखिन्छन् ।  

कोही गहुँ बाली धमाधम काट्नमा व्यस्त छन् भने कतिपय किसान कटान गरिसकेको गहुँ थ्रेसिङ गरेर भित्र्याउँदै गरेको भेटिन्छन् । किसानहरू पाकिसकेको गहुँ भित्र्याउन बिहानदेखि साँझसम्म खेतमै रहन्छन् । 

अहिले हावाहुरी असिना, पानी पर्ने बेला छ । समयमै गहुँ भित्र्याउन सकिएन भने यति धेरै मिहिनेत गरेर उब्जाएको गहुँ असिना, पानीले क्षति पु-याउन सक्छ । त्यसैले अहिले चुनावी माहौलदेखि टाढै रहेर गहुँ भित्र्याउन लागिपरेको मिथिला नगरपालिका–३, हरिहरपुरका किसान मनोज महतो बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “गहुँ पाकेकाले अहिले किसानलाई कामै काम छ । कसैलाई पटक्कै फुर्सद छैन । काममा ध्यान भएकोले चुनाव र दलका कार्यक्रमप्रति चासो छैन ।”  “चुनावमा कस्ता जनप्रतिनिधिलाई मत दिने भन्ने विषयमा पछि सोचौँला तर अहिले गहुँ स्याहार्न सकिएन भने भोकै बस्नुपर्ने अवस्था आउँछ, त्यसैले किसानलाई चुनावको रौनकले अझैँ छोइसकेको छैन,” गणेशमान चारनाथ नगरपालिका बरमझियाका किसान रामपुकार यादवले भन्नुभयो । 

उहाँले यसपालि झुटा आश्वासन बाँड्नेलाई भन्दा पनि किसानको दुःख पीडा बुुझ्ने जनप्रतिनिधि छनोट गर्ने बताउँदै उहाँले भन्नुभयो, “पर्याप्त सिँचाइको सुविधा, मलखादको सहज उपलब्धता र आधुनिक कृषि उपकरण निःशुल्क बाँड्नेजस्ता नारा दिएर थुप्रैले स्थानीय तहदेखि मन्त्रीसम्मकै बागडोर सम्हाले तर किसानको समस्या ज्यूँका त्युँ छ ।” 

जिल्लामा अघिल्लो वर्ष ३६ हजार हेक्टर क्षेत्रफलमा लगाइएको गहुँ बालीबाट एक लाख आठ हजार मेट्रिकटन गहुँ उत्पादन भएको थियो तर यस वर्ष रासायनिक मलको अभाव र हिउँदे वर्षाले गहुँबालीलाई क्षति पु-याएका कारण घटेर एक लाख दुई हजार मेट्रिक टन गहुँ उत्पादन भएको कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख शङ्करप्रसाद साहले जानकारी दिनुभयो ।