• २३ वैशाख २०८१, आइतबार

औलोको जोखिममा दुई करोड

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुन्द्र मसासिनी ।

काठमाडौं, वैशाख १३ गते । नेपालमा विभिन्न जिल्लामा बसोबास गर्ने करिब दुई करोड जनसंख्या औलोको रोगको जोखिममा रहेका छन् ।

विश्व औलो दिवसको असरमा आयोजित कार्यक्रम इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका (इडिसिडी) निर्देशक डा.रुन्द्र मसासिनीले नेपालको जनसंख्याको एक करोड दुई लाख ९९ हजार १६९ औलो रोगको जोखिममा रहेको जानकारी दिनुभयो । 

उहाँका अनुसार सन् २०२३ को औलो सूक्ष्म स्तरीकरणको आधारमा उच्च जोखिम भएका छ । जिल्लाका आठ पालिका अन्तर्गत १० वटा वडा, मध्य जोखिम  क्षेत्रका ११ जिल्लाका २३ पालिका अन्तर्गतका ३५ वटा वडा तथा कम जोखिम  क्षेत्रका ६५ जिल्लाका ४१३ पालिका अन्तर्गतका दुई हजार ३३१ वटा वडामा बसोबास गर्ने एक करोड दुई लाख ९९ हजार १६९ जनसंख्या  औलो रोगको जोखिममा रहेका छन् । 

५७४ औलोका बिरामी पुष्टि

ईडिसिडीका निर्देशक डा.मसासिनीले आर्थिक वर्ष २०८०/८१ को वैशाख ६ गतेसम्म ५७४ जनामा औलो पुष्टि भएका बिरामीको उपचार भएको जनाकारी दिनुभयो । औलो पुष्टि भएका मध्ये १८ जना स्थानीय रहेका छन् भने ५५६ जना आयातित । 

आयातित औलोका बिरामी सबै भन्दा बढी भारतबाट रहेको उहाँको भनाइ छ । उहाँका अनुसार ८० प्रतिशत बिरामी भारतबाट आयातित भएका छन् । 

थपिएका औलाका बिरामी मध्ये सबै भन्दा बढी लुम्बिनी प्रदेशमा  रहेका छन् । सोही प्रदेशमा २३०, सुदूरपश्चिममा १७१, मधेश प्रदेशमा ७२, बाग्मती प्रदेशमा ४१, कर्णली प्रदेशमा २८, गण्डकी प्रदेशमा १९ र कोशी प्रदेशमा १३ जना रहेका छन् । 

सरकारले २०२५ सम्म औलो निवारण गर्ने लक्ष्य लिएको छ । भारतसँग खुला सिमा र हिमाली जिल्लामा औलोका बिरामी भेटिएकाले औलो नियन्त्रणमा चुनौती थपिएको उहाँको भनाइ छ । 

उहाँ भन्नुहुन्छ, ‘पहिले पहिले तराई र मध्ये पहाडमा देखिने औलोका बिरामी पछिल्लो समय जलवायु परिवर्तन सँगै हिमाली जिल्लामा पनि औलोका बिरामी भेटिन थालेको उहाँको भनाई छ ।  अरु देशबाट नेपालमा भित्रने औलो नियन्त्रणमा चुनौती थपिएको छ ।’ 

 औलो के हो ?

ईडिसिडीका अन्तर्गतको किट जन्य रोग नियन्त्रण शाखाका प्रमुख डा.गोकर्ण दाहालले औलो संक्रमित एनोफिलिज जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने बताउनुहुन्छ । 

उहाँका अनुसार नेपालमा मुख्यतया औलाको दुई किसिमका परजीविहरु प्याज्मोडियम फास्लिपारम र प्याज्मोडियम भाइभेक्स रहेका छन् ।   

गत वर्षदेखि शान्ति सेवाबाट फर्किएका सुरक्षाकर्मीमा प्याज्मोडियम ओभेलि भेटिएको उहाँको भनाइ छ ।  प्याज्मोडियम फास्लिपारमले गराउने औलो रोग बढि जटिल र जोखिमयुक्त हुने उहाँको भनाइ छ । 

टाउको दुख्नु, ज्वरो आउनु,शरीरका भित्री अङ्ग सुन्निनु, जोर्नी दुख्नु, शरीरमा रगतको मात्र कम हुनु, थकित महसुस हुनु यसको प्रमुख लक्षण हुन् । 

उहाँका अनुसार औलोबाट विशेषगरी गर्भवती तथा पाँच वर्ष मुनिका बालबालिका बढी जोखिममा पर्दछन् । लामखुट्टेको टोकाइबाट बच्नुनै औलो रोथामको एकमात्र उपाय हो ।  

झुल टाँगेर सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे छिर्न नदिने, लामो बाहुला भएको लुगा लगाउने, लामखुट्ट भगाउने मलम वा धुपको प्रयोग गर्ने, लामखुट्टे सक्रिया हुने समयमा विशेष गरी बिहान र साझाँपख सावधानी अपनाउनु यसबाट बच्ने प्रमुख उपाय हुन् । 


Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।