• १२ साउन २०८१, शनिबार

पढाइ खर्च जुटाउन काफल बेच्दै विद्यार्थी

blog

फाइल तस्विर

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, वैशाख ६ गते  । सिन्धुलीको गोलन्जोर गाउँपालिका–५, हिर्दिङ निवासी सन्तोष बस्नेत यतिखेर जिल्ला सदरमुकाम सिन्धुलीमाढी ल्याएर काफल बेच्दै आउनुभएको छ ।  गाउँकै नयाँ खर्क माध्यमिक विद्यालयमा अध्ययनरत बस्नेत गरिबीका कारण पढाइ खर्च जुटाउन र घरव्यवहार चलाउने खर्चको जोहो गर्न काफल बिक्री गर्दै आएको बताउनुहुन्छ । 

सन्तोषको आफ्नै बारीमा काफलका ६० वटा बोट छन् । दैनिक एक डालो काफल बिक्री गर्दै आएको र त्यसबाट करिब दुई हजार रुपियाँ कमाइ हुने गरेको उहाँको भनाइ छ । “काफल बेचेर घर पुग्दा घरका अरू सदस्यले काफल टिपेर राखेका हुन्छन्, अर्को दिन सोही काफल बोकेर बिक्री गर्न सदरमुकाम आउँछु,” उहाँले भन्नुभयो । 

स्थानीय अर्का विद्यार्थी मिलन सुनुवार पनि घरको आर्थिक अवस्था कमजोर भएकाले पढाइ खर्च जुटाउन काफल बेच्नुपरेको बताउनुहुन्छ । “सँगैका साथीहरू काफल बेच्न हिँडेका छन्, राम्रै पैसा घर लान्छन्,” उहाँले भन्नुभयो, “सिजनको फल भएकाले सबैको आम्दानीको स्रोत बनेको छ काफल ।”

यो वर्ष काफल धेरै फलेको र बजारमा अहिले काफल प्रतिमाना १५० रुपियाँसम्ममा बिक्री हुने गरेको उहाँले सुनाउनुभयो । बीपी राजमार्ग आसपासका गाउँका विपन्न वर्गका बालबालिका तथा वृद्ध किसान यतिखेर काफल व्यापारप्रति आकर्षित बनेका छन् । गरिबीका कारण घर खर्चको जोहो गर्न मौसमी फलका रूपमा रहेको काफलको व्यापारप्रति आकर्षित भएको उनीहरूको भनाइ छ । 

स्थानीय ५५ वर्षीय डोरबहादुर थापाले त २०४० सालदेखि नै बर्सेनि काफल बिक्री गर्दै आउनुभएको छ । उहाँको बगैँचामा यतिखेर काफलको सय बोट छन् । “घरमा टिप्ने मानिस हुँदा वर्षको डेढ लाख रुपियाँसम्म कमाइ हुन्थ्यो । दुई जना छौँ, झरेर र कुहिएर नै जान्छ,” उहाँले भन्नुभयो, “त्यस्तै वर्षको ६०-६५ हजार रुपियाँ जति कमाइ हुन्छ ।” आफूले घरबाटै मानाको ९० रुपियाँका दरले दिने गरेको र व्यापारीले खनियाँ खर्क बजारमा पु-याएर प्रतिमाना १५० रुपियाँसम्ममा बिक्री गर्ने गरेको उहाँले सुनाउनुभयो । 

खनियाँखर्क निवासी किसान धनबहादुर भुजेल छिमेकीले काफल बेचेको देखेर आफू पनि यही पेसामा संलग्न भई दुई वर्षदेखि वर्षभरिको नुन, तेल र घरखर्च काफलको आम्दानीबाटै जोहो गर्दै आएको बताउनुहुन्छ । राम्रो आम्दानी हुनु र उपभोक्ताको बढ्दो रुचिका कारण काफलको व्यापार गरिब कृषकका लागि गुजाराको माध्यम बनेको उहाँको ठम्याइ छ ।

किसान भुजेलका शब्दमा “केही वर्ष पहिलेसम्म त्यस क्षेत्रका किसान जङ्गली फल भनी काफलको वास्ता गर्दैनथे । बीपी राजमार्ग निर्माणसँगै काफलको व्यापार चम्किएको हो । काफल बिक्री गरी दिनको दुई हजार रुपियाँसम्म कमाइ हुने गरेको छ । काफल बिक्री गरी एउटाले गरेको आम्दानी देखेर त्यसको सिको गरी पछिलाग्ने अहिले धेरै भएका छन् । अहिले काफल सङ्कलन गर्न जाँदा जङ्गलमा  हारालुछ नै हुन्छ ।” पछिल्लो समयमा उपभोक्ताको काफलप्रति आकर्षण बढेपछि काफल बिक्री गर्ने किसानको सङ्ख्या पनि बढ्दै गएको उहाँको बुझाइ छ । महाभारत क्षेत्रको जङ्गलमा प्रशस्त काफल पाइने हुनाले विपन्न परिवारले जङ्गलमा गई काफल सङ्कलन गरी नजिकको बजारमा पु-याएर बिक्री गरी आम्दानी लिने  गरेको पाइन्छ ।

किसानहरूका अनुसार प्रत्येक वर्ष चैतदेखि जेठ महिनाको पहिलो हप्तासम्म काफलको सिजन हो । सिजनको सुरुमा काफल बजारमा ल्याउँदा बढी आम्दानी हुने गर्दछ ।