बाबुराम शर्मा
दोलखा, वैशाख १० गते । दोलखको भीमेश्वर नगरपालिका–९ स्थित खरिढुङगामा सञ्चालनमा आएको ८० वर्षे राष्ट्रिय गौरवको आयोजना नेपाल ओरियन्ड म्याग्नेसाइट कम्पनी पुनःसञ्चालनमा अस्ट्रियाली लगानी कर्ताले चासो देखाएको छ ।
खुलेको १० वर्ष नबित्दै बन्द हुन पुगेको सो कम्पनी पुनःसञ्चालनका लागि अस्ट्रियाका चार जना लगानी कर्ताको प्राविधिक टोलीले आफ्नै खर्चमा विस्तृत अध्ययन गरेको वडाध्यक्ष हिमाल श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार सरकारी उदासिनताले कम्पनी बन्द भएको चार दशक बितिसक्दा पनि नखुलेको स्थानीयले आरोप लगाइरहेका बेला मोहनगोपाल खेतानका प्रतिनिधि र नेपालका तर्फबाट केही कर्मचारीको उपस्थितिमा अध्ययन भएको हो । नेपाल सरकारको खर्चमा योभन्दा अगाडि थुप्रै टोलीले अध्ययन गरे तापनि यति चासो राखेका थिएनन् । यसरी गहिरो चासो देख्दा पुनः सञ्चालन हुनेमा झिनो आशा पलाएको छ । २०२८ सालमा भएको अध्ययनले १८ करोड मेट्रिकटन म्याग्नेसाइड रहेको देखाएकोमा अब यथार्थ कति छ भन्ने अध्ययनपश्चता पुनःसञ्चालन हुने आश्वासन अध्ययन टोलीबाट आएको छ ।
बन्द भएको करिब ४४ वर्ष वितिसक्दा पनि कम्पनी खुल्न नसक्नुमा सरकारी उदासिनता हो । स्थानीय भुवन केसीले भन्नु भयो, सरकार मुक दर्शक भएर बसिदिनाले करोडौँको लगानी खेर गइरहेको छ । मुलुकमा यस्ताखाले उद्योग नखुल्दा युवा विदेशिन बाध्य भएका हुन् । घर आँगनमा आएको सरकारले पनि खासै वास्तासम्म पनि गरेको देखिँदैन ।
उत्पादित वस्तुले उचित बजार नपाएको तथा लगानीकर्ताबिच विवाद समेत रहेकाले बन्द हुन पुगेको बताइएको छ । त्यसबखत तीन अर्ब ५२ करोड लगानीमा २०३६ सालदेखि सञ्चालनमा आएको उद्योग नेपाल सरकारको ७५ प्रतिशत, भारतीय कम्पनी उडिसा एन्ड्रस्ट्रिज लिमिटेडको साढे १२ र नेपाली लगानीकर्ता मोहनगोपाल खेतानको साढे १२ प्रतिशत लगानी रहेको छ । भारतीय लगानीकर्ताले आफ्नो सेयर तीन करोड ७५ लाख रुपियाँ मागेको र नेपाल सरकारले भने चुक्ता गरिसकेको जनाएको छ । नेपाल सरकारले उद्योगमा बढी सेयर लगानी गर्ने मोहनगोपाल खेतानलाई उद्योग सञ्चालन गर्न दिएको थियो तर उहाँको देहावसान भएकाले कार्य अगाडि बढ्न नसकेको बताइन्छ ।
यो म्याग्नेसाइट तथा खरी प्रशोधनका लागि लामोसाँघुसम्म लैजान २०४० सालमा १६ करोडमा ८७ वटा रोपवे निर्माण गरिएको भए तापनि ती रोपवे सञ्चालन गरेको एक हप्ता नबित्दै बिग्रिएपछि थन्किएका छन् । मर्मत गर्नु सट्टा कम्पनीले महँगामो ट्रिपरमार्फत खरी ओसा–यो । जापानबाट ल्याएका ती रोपवे भारतको कोलकत्तामा साटेर नक्कली सामान ल्याएका कारण बिग्रिएको हो । सामान साटेर एक दुई व्यक्ति मोटाए होलान् तर सिगो राष्ट्रलाई नै डुबाएको स्थानीयको आरोप रहेको छ । यो उद्योगमा रोपवे मात्र होइन खानी क्षेत्रभित्र निर्माण गरिएका थुप्रै संरचनाहरु बेवारिसे अवस्थामा रहेका छन् । तत्कालीन द्वन्द्व अवस्थामा आगजानी गरी खरानी बनाइएको छ । खानी परिसरमा चार वटा डोजर, १२ वटा ट्रिपर र होल खोप्ने तीन वटा मेसिन अलपत्र अवस्थामा देखिन्छन् ।
उद्योगका भौतिक संरचनामध्ये एक नम्बरमा सुरक्षाकर्मी बसेकाछन् । चार पाँच जना चौकीदार मात्र भेटिन्छन् । उद्योग सञ्चालनका बखत पाँच सय कर्मचारी तथा दुई हजार मजदुर रहेका थिए । कार्यालयमा समेत अझै दर्जनौँ कर्मचारी रहेका छन् । तिनीहरुलाई सरकारले तलब भुक्तानी गर्दै आएको छ । कतिपय संरचना भग्नावशेषमा परिणत भएका छन् । द्वन्द्वका क्रममा माओवादीले सवारी साधन र केही भवनमा आगजनी गरेका थिए । तत्कालीन सरकारले यो कम्पनीलाई २०५९ सालमा रुग्ण उद्योग घोषणा गरेको थियो ।
स्थानीयहरुका अनुसार २०५० सालसम्म खानीबाट म्याग्नेसाइट निकालिएको थियो । यो अबधिमा लाखौँ टन म्याग्नेसाइट र सोही परिमाणमा खरी उत्खनन गरी नमुना परीक्षणकै नाममा विदेस निर्यात गरिएको थियो । अझै पनि खानीमा एक हजार आठ सय टन म्याग्नेसाइट रहेको अनुसन्धानकर्ताले बताएका छन् ।
साविक लाँकुरीडाँडा गाविस आसपासमा दशकौँअघि पत्ता लागेको खानी २०३६ सालमा स्थापना गरिएको थियो । उद्योगले स्थानीयवासीलाई छ सय रोपनी जग्गाको मुआब्जा तिरे पनि जबरजस्ती चार गर्न अस्ट्रिया हजारभन्दा बढी क्षेत्रफलबाट अव्यवस्थित रुपमा म्याग्नेसाइट र खरी निकालेको छ । ती खनिज पदार्थ उत्खनन गर्दा निस्किएको माटो जथाभावी फयाँक्दा भूक्षय खानी आसपासका सयौा नागरिक प्रभावित भएका छन् । कतिपय घरबारी छोडेर हिँड्न बाध्य छन् ।
उद्योगबाट साविका लाँकुरी गाविस वडा नम्बर ७, बोच गाविसको १, मागापौवा गाविस ४, भीमेश्वर नगरपालिकाको ५ र सिन्धुपाल्चोकको जेठल गाविसका जनता प्रत्यक्ष प्रभावित भएका छन् । कम्पनी स्थापना गर्दा स्थानीयवासीका लागि शिक्षा, स्वास्थ्य,रोजगारी जस्ता कुरामा सहयोग गर्ने प्रतिवद्धता गरिएको भए पनि ती कुरा पूरा हुनुको साटो उल्टै दुख पाएको स्थानीयको गुनासो रहेको छ ।